राजवको अमेरिका [पुस्तक समीक्षा : पाई]

पुस्तक : पाई | कथाकार : राजव | प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : २१९ | मूल्य : रु ३२५

- गुरुङ सुशान्त

नेपालका मात्र नभई विकासोन्मुख देशका नागरिकको स्वर्णिम गन्तव्य हो, अमेरिका । अभाव र वञ्चितिको सनासोले निरन्तर च्यापेका नेपालीहरु आफ्नो जन्मभूमि सराप्दै अमेरिका पस्ने ध्याउन्नमा हुन्छन् । गुणस्तरीय शिक्षा र सुविस्तापूर्ण दैनिकीका खातिर अमेरिका जाने लहर छ, जसलाई बम्परका रुपमा समेत हेरिन्छ । तर, अमेरिकाका सडकपेटी र बगैँचामा कुनै ‘डलर–डाली’ नुहेको हुँदैन, जहाँ सहजै हरिया डलर टिप्न सकियोस् ।

अमेरिकालाई ‘स्वर्ग’ ठान्नेहरुको जीवनका तीता पाटालाई राजवका कथाहरुले देखाएका छन् । पाइला–पाइलामा ठोक्किन आइपुग्ने हतारो, हतासा र यान्त्रिकताले पात्रहरुलाई एकाकीपनको टापुमा हुत्याइदिन्छन् । त्यही टापुमा अस्तित्व खोज्छन् उनीहरु । कवि एलेन गिन्सवर्गले प्रश्न गरेका थिए, ‘अमेरिका, तिम्रा पुस्तकालयहरु किन आँसुले भरिएका छन् ?’ पाई  पढेपछि त्यो पुरानो कविता विनिर्माण गरुँ लाग्छ– ‘अमेरिका, तिम्रो माटो किन आप्रवासी–पसिनाले भिजेको छ ?’ अमेरिका एक देश मात्र होइन, यो आफैँमा एक तहको प्रणाली र विचारधाराको विम्ब पनि हो ।

यस किताबलाई नेपालीहरुले अमेरिकी भूमिमा गरेका अनेक कोणका संघर्षको दस्तावेज मान्न सकिएला । नेपालमा रात पर्दा घाम लाग्ने देशमा रहेका मान्छेका डायस्पोरिक अनुभवलाई राजवले निकै स्वाभाविक ढंगले कथामा ढालेका छन् । उनका कथामा न घटनाहरुको लस्कर छ, न त पात्रहरुको जुलुस । ससाना दृश्यावलीबाट नै चरित्र अनावृत्त हुन्छन्, जहाँ घरदेश र परदेशमा बाँडिइरहने मनोदशाको प्रभाव भेटिन्छ ।

एक दशकदेखि राजव डायस्पोरिक आख्यानको विभागमा सक्रिय छन् । अमेरिकाबासअघि उनी नेपाली समाजका जातीय, वर्गीय र लैंगिक विभेदविरुद्ध आफ्ना कथालाई मोर्चाबद्ध गर्थे । आख्यान विधामा नेपालीमा समेत अनेक प्रयोग भएका छन् । तर, राजव पुरानै कथन पद्धतिमा थोरै शिल्प कुद्नुमा आनन्द मान्छन् भन्ने प्रमाण हो, पाई । प्राय: डायस्पोरिक साहित्यमा विदेशी भूमिमा अस्तित्व र सांस्कृतिक पहिचानका लागि संघर्ष गर्ने र संगठित हुने पात्रहरुको ओहोरदोहोर हुन्छ । तर, पाईको कथात्मक मैदानमा पात्रको विचार–भग्नता, भाषाको खण्डितता र अतीतमोहका मसिना अनुभूतिहरुकै खेल छ । कथाभूमि एकै भए पनि पात्रका समस्या र गन्तव्य अनेक छन् पाईमा । अमेरिकी नेपाली जीवनमा परम्परागत परिवारले अपेक्षा गर्ने आत्मीयताका अवयव विघटन भएका दृश्य छन् । विघटनको संघारमा उभिएको परिवार नामक संस्थालाई पुस्तान्तरको परिणाम मात्र मानेर उम्किने छूट नहोला । जिज्ञासा जाग्छ– के यो पुँजीवादको चरमोत्कर्षले बिछ्याएका चौबाटा होइनन्, जहाँबाट परिवारका प्रत्येक सदस्य आ–आफ्नो मर्जीले छुट्छन् ?

अमेरिकामा युवा पुस्ता उपभोक्तावादको आखेटमा परेको छ भने पुरानो पुस्ता एक्लोपनको कैदी । बाजे–बज्यैमा सुर्ता अधिक छ, नाति–नातिनीमा रोमाञ्च । कथाकारलाई भने बुढ्यौलीको चिन्ताले बढी छोएको देखिन्छ ।

सोचिन्छ– अमेरिकाले स्वतन्त्रताको भरपुर उपभोग गर्छ । त्यहाँका नागरिक पक्षीसमान उडान भर्छन् । हाम्रा भर्चुअल आँखाले खिचेका तस्बिर यस्तै हुन् । तर, नांगो आँखाले छाम्ने अमेरिकाको अर्को पनि अनुहार रहेछ । धर्मका आधारमा गरिने छुवाछूत र त्यसबाट जन्मने भय/आश्चर्यलाई उतारेका छन् राजवले । उदारवादी लोकतन्त्रको पर्यायजस्तो मानिने अमेरिकामा पनि मुस्लिम समुदायप्रति हेर्ने अनुदार चस्मा देखेर आक्रोश उम्लन सक्छ । 

प्रेम पनि बिकाउ वस्तुजस्तो भइदिने अमेरिका लम्किने अनेक बाटा छन् । कोही चिट्ठा परेर जान्छन्, कोही अध्ययन, व्यवसायको सिलसिलामा । तर, सबैभन्दा खतरनाक बाटो हो– दलाललाई मोटो रकम बुझाएर जाने अवैधानिक बाटो । भारत हुँदै जाने यो बाटो मृत्युमार्ग बनिदिन पनि सक्छ । ज्यान जोखिममा राखेर अमेरिका छिरेपछि पनि त्यहाँ सजिलै बस्ने र जागिर पाउने कुनै ग्यारेन्टी हुँदैन । अमेरिका लेउ लागेको ढुंगाजस्तै रहेछ, जहाँ उभिन चानचुने धामाले सम्भव छैन भन्ने एकमुष्ट निचोड दिन्छ पाईले । दु:ख र संघर्षद्वारा लखेटिएका पात्रको कथा भन्नु नै लेखकको ध्येय देखिन्छ ।

कथामा चमत्कार खोज्ने पाठकलाई पाईमा प्रवेश–निषेध लगाए हुन्छ । तर, राजवका पुराना पाठकहरु यी कथाबाट निराश हुँदैनन् । उनले आफ्नो स्थापित कथाकारिताको नाक जोगाएका छन् । साख बचाउनै मात्र राजवले लेखिराखे पाठक आफैँ पाखा लाग्ने छन् ।

जतिसुकै आदर्शवादी आवरण देखाए पनि नेपालीहरु अमेरिका जान लालायित छन् । कवि जगूडी भन्छन्– ‘जन्म तिम्रो जहाँ होओस्, बिक्नु त तिमीलाई अमेरिकामै छ ।’ तर, भूमण्डलीकरण र अमेरिकी वर्चश्वलाई मात्र धारे हात लगाउनु आफैँलाई ढाँट्नु हो । प्रश्न पुरानै हो– अमेरिका किन हाम्रो स्वप्नभूमि बनिरह्यो ? अनेक बुँदामा जवाफ खोज्न सकिन्छ । शीर्ष स्थानमा त देशको अर्थ–राजनीति नै आउला ।

प्रकाशित: श्रावण १७, २०७५