मनमोहन सिंहको बायोपिक

- नेपाल संवाददाता

बायोपिकको बजार खुब फस्टाइरहेको छ, बलिउडमा । सञ्जुको व्यापारिक कीर्तिमानी जारी छ । सन्नी लियोनमाथि बनेको फिल्म रिलिजका क्रममा छ । यही बेला अर्को बायोपिकले बलिउड मात्र होइन, राजनीतिक वृत्तमा समेत ध्यान खिच्न थालेको छ । कारण, द एक्सिडेन्टल प्राइम मिनिस्टर नामक फिल्म दुई कार्यकाल प्रधानमन्त्री भएका मनमोहन सिंहको बायोपिक हो । कांग्रेस आईका तर्फबाट उनले सन् २००४ देखि २०१४ सम्म भारतको शासनसत्ता सम्हालेका थिए । राजनीतिक विश्लेषक सञ्जय बरुको कृति एक्सिडेन्टल प्राइम मिनिस्टरमा आधारित छ फिल्म । निर्देशक हुन्, विजय रत्नाकर कुट्टे ।

सञ्जय बरु सन् २००४ देखि चार वर्षसम्म मनमोहन सिंहको मिडिया सल्लाहकार र प्रवक्ता थिए । मनमुटावपछि निक्लिए र पुस्तक लेखे । यो पुस्तक काफी विवादास्पद रह्यो । संस्मरण शैलीमा लेखिएको पुस्तकमा खासगरी मनमोहनलाई सोनिया गान्धीको ‘छाया’ को रुपमा स्थापित गर्न खोजिएको छ । सञ्जयको दाबी छ, मनमोहन सोनियाको इसारामा मात्र चल्छन्, उनकै अधीनमा छन् । सोही कारण प्रधानमन्त्री कार्यालयले आपत्ति जनाउँदै पुस्तकलाई ‘फिक्सन’ को संज्ञा दिएको थियो । यही कृतिमाथि बन्ने फिल्मले कांग्रेस र मनमोहनको छवि बिगार्नेमा शंकै छैन । अर्को वर्ष भारतमा लोकसभाको चुनाव हुँदैछ । त्यसको केही महिनाअगाडि यो फिल्म रिलिज हुनेछ । यति भएपछि नियत प्रस्ट भइहाल्यो । 

मनमोहनको भूमिकामा अनुपम खेरले काम गर्दैछन्, जो भारतीय जनता पार्टीका भक्त हुन् । नरेन्द्र मोदीका हरेक नीति खुलेर समर्थन गर्छन् । सोही कारण द एक्सिडेन्टल प्राइम मिनिस्टरलाई बिजेपीले ‘प्रोपोगान्डा’ का रुपमा प्रयोग गर्दैछ भन्ने आरोप लाग्न थालेको छ । आखिर फिल्म ‘सफ्ट पावर’ हुँदै हो । सेन्सर बोर्डमा पनि यसले तनाव खेप्नुपर्दैन, कारण त्यहाँ पनि सत्तासीन बिजेपीकै हालीमुहाली छ । 

फिल्ममा सोनिया गान्धी, प्रियंका गान्धी, राहुल गान्धी, लालु यादवको भूमिकामा क्रमश: सुजैन बर्नेट, अहाना कुम्रा, अर्जुन माथुर र विमल वर्मा देखिँदै छन् । 

 

प्रकाशित: श्रावण १७, २०७५