अंग्रेजीको कमाल

- नेपाल टिम

सम्राट उपाध्याय, अमेरिका

विद्यार्थी आन्दोलन चल्दै थियो ०३६ मा । विद्यार्थी–विद्यार्थीबीच एवं प्रहरी–विद्यार्थीबीच हुने झडप अनि हडतालले राजधानीका अरू क्याम्पससँगै शंकरदेव पनि अशान्त थियो । त्यही अशान्तिको चेपुवामा परेका काठमाडौँ, लैनचौरका एक ठिटोलाई लाग्यो, ‘यस्तो पाराले पढाइ उँभो लाग्दैन ।’

त्यसपछि अध्ययनका लागि विदेसिने विचार गरे उनले । सम्पन्न परिवारको भए पनि त्यो विषय त्यति सहज थिएन । काठमाडौँस्थित अमेरिकन एवं ब्रिटिस लाइब्रेरीको चक्कर काट्दै गर्दा खबर पाएछन्, अमेरिकाको ओहायो राज्यस्थित ‘कलेज अफ उस्टर’ले भर्ना आवेदन स्वीकृत गरेको ।

सन् १९८४ को अमेरिका हानिए । त्यसबेला अमेरिका अहिलेजस्तो थिएन । प्रि–इन्टरनेट युगमा थियो, अमेरिका । नेपाल त कता हो कता, भवसागरमा भासिएजस्तो । अमेरिकामा नेपाली भेट्नु भनेको देउता भेटिनुजस्तै रामोञ्चक हुन्थ्यो ।

नेपालमा हुनेखाने परिवारको भए पनि, अमेरिकामा उनी गरिब विद्यार्थी नै थिए । पढाइको खर्च जोहो गर्न रातदिन कलेजमा काम गर्थे । कोठामा भाडा तिर्न नसक्दा, कहिलेकाहीँ हप्तौँसम्म साथीकहाँ पाहुना लाग्न पुग्थे ।

रोनाल्ड रेगन दोस्रो कार्यकालका लागि राष्ट्रपतीय निर्वाचनमा होमिदै गरेका बेला उनलाई धेरैले सल्लाह दिएका थिए– अमेरिकामा बिजनेस वा फाइनान्स विषय पढ्दा ‘मालामाल’ भइन्छ । तर, उनले आफ्नो रुचिको क्षेत्र, साहित्य र नाट्यशिक्षामा घोत्लिँदै अंग्रेजीमा स्नातक र स्नातकोत्तर गरे । त्यसपछि, ‘युनिभर्सिटी अफ हवाई’ बाट अंग्रेजी साहित्यमा विद्यावारिधि गरे ।

अहिले अंग्रेजी साहित्यमा गनिएका लेखक भएका छन्, सम्राट उपाध्याय, ५५ । पश्चिमा मिडियाले ठान्छ, ‘पश्चिममा आएर अंग्रेजी कृति प्रकाशित गर्ने पहिलो नेपाली ।’ अमेरिकी मूलधारको मिडिया न्युयोर्क टाइम्स, वासिङ्टन पोस्टलगायत वल्र्ड लिट्रेचर टुडे, बुक लिस्ट  र इन्टरनेसनल एक्जामिनरले उनका सबै कृतिहरूमा विश्लेषण गर्छन् । उपाध्यायको छैठौं कृति म्याड कन्ट्रीमाथि न्युयोर्क टाइम्सको टिप्पणी थियो, ‘अनौठो, कठिन एवं आध्यात्मिक सम्मिश्रणको बेजोड प्रस्तुति ।’

सन २००१ मा प्रकाशित उपाध्यायको पहिलो कृति एरेस्टिङ् गड इन काठमान्डुले ‘ह्वाइटिङ अवार्ड’ पाएको थियो । त्यसपछि उपाध्यायले सन् २००३ मा गुरु अफ लभ, सन् २००६ मा रोयल गोस्ट, सन् २०१० मा बुद्धज् अरफान्स, सन् २०१४ मा सिटी सन एवं सन् २०१७ मा म्याड कन्ट्री  गरी पाँच कृति प्रकाशित गरिसकेका छन् । उनी अहिले आफ्नो सातौँ कृतिको लेखनमा व्यस्त छन् ।

विश्लेषकहरूको भनाइमा उपाध्यायका कृतिहरूले पश्चिमेली पाठकहरूलाई त्यस्तो संसारको सामीप्यमा ल्याएको छ, जुन कुनै रूपमा पश्चिमबाट धेरै टाढा छ अनि कुनै रूपले धेरै परिचित पनि ।

इन्डियाना युनिभर्सिटीका प्राध्यापक उपाध्यायलाई पेसाले पनि साहित्य सिर्जनामा निखारिरहेको छ । सिर्जनशील लेखन र साहित्य उनले पढाउने विषय हुन् । “मेरो हरेक दिन साहित्य पढ्दै बित्छ । आफ्ना विद्यार्थीहरूका लागि साहित्य सिर्जनाका हरेक पृष्ठ पढ्नु मेरो दायित्व हो,” उनले भने, “साहित्य मेरो दैनिकीसँग जोडिएको छ, त्यसले सिर्जनामा उत्प्रेरणाको काम पनि गरिरहेको छ ।”

सन् १९६०/७० तिरका चर्चित भारतीय उपन्यासकार गुलशन नन्दाको सुरुआती प्रभाव देखिन्छ, उपाध्यायको साहित्यमा । स्कुलमा पढ्दा उपाध्याय र उनकी दिदीले नन्दाका हिन्दी उपन्यासहरूसँगै नेपाली साहित्य खुबै पढ्थे । “मैले मेरो टीनएजको प्रारम्भिक चरणमा हिन्दी र नेपाली साहित्य खुबै पढेँ ।” पछाडि फर्कंदै उनले थपे, “एसएलसी दिएपछि मैले पढेको भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे अहिले पनि मेरो प्रिय पुस्तक हो ।”

पछिल्लो समय चाहेर पनि नेपाली साहित्यलाई नजिकबाट नियाल्न नपाएको उनको अनुभव छ । तर, फुर्सदमा अहिले पनि नेपाली साहित्य पढ्छन् नै । नेपाली राजनीतिबारे उनको सटिक टिप्पणी छ, “हाम्रो मनोरञ्जनका लागि थकित पुरानै नेतृत्व दोहोरिरहेको खेलजस्तो भयो राजनीति ।”

प्रकाशित: श्रावण १६, २०७५