लुनाको उडान

- नेपाल टिम

लुना भट्ट, अमेरिका

एसएलसीमा बोर्ड फस्र्ट हुने प्रथम महिला भएर होस् वा अमेरिकाको ठूलो शिक्षण अस्पतालको कार्डियोलोजी विभाग प्रमुख भएर होस्, लुना भट्ट, ५३, को लक्ष्य सधैँ एउटै रहने गरेको छ– आफूले हात हालेका कुनै काममा सर्वश्रेष्ठ भइछोडूँ । सफलतै सफलताबीच पुरिँदा पनि उनलाई लाग्छ– अझ धेरै काम गर्न बाँकी छ । त्यसैले दिनरात नभनी काम गर्छिन् । बिरामीको सेवादेखि लिएर शैक्षिक अनुसन्धानमा निरन्तर लागिरहन्छिन् । अनि, आमाबाट सधैँ सुन्छिन्, “तैँले आफूबारे कहिले सोच्ने हो ?”

एसएलसीमा बोर्ड फस्र्ट भएपछि उनी खुसी त थिइन् नै, त्यसमाथि आगामी दिनमा झन् राम्रो गर्दै जानुपर्ने दबाब पनि उनमा परेको थियो । नेपाली समाजमा त्यतिबेला राम्रो पढ्ने सक्नेसँग दुई अपेक्षा राखिन्थ्यो, कि त इन्जिनियरिङ, कि एमबीबीएस । उनले दोस्रो विकल्प रोजिन् ।

भट्टले एमबीबीएस गरेको चीनबाट हो । उनका बुबा नेपाली भाषाका विज्ञ गोविन्द भट्ट चीनमा काम गर्ने हुँदा चीनसँगको उनको सम्बन्ध बाल्यकालदेखिकै थियो । त्यसैले डाक्टरी पढ्न जाँदा चिनियाँ माहोलमा भिज्न उनलाई गाह्रो परेन ।

चीनमा एमबीबीएस सकेर फर्किन् लुना । नेपालको डाक्टरी माहोलसँग परिचित हुन केही समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत भइन्, केही समय पाटनमा । चीनमा आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन यी दुवै ठाउँका अनुभवले उनलाई सघाउ पुर्‍याए । भन्छिन्, “मेरा लागि आफ्नो पेसा र बिरामी नै सबथोक थिए ।” आफूबारे सोच्ने फुर्सद कहिल्यै पाइनन् ।

तर, भट्टलाई आफ्नो क्षितिज यतिमा मात्रै सीमित राख्नु थिएन । जीवनमा सामान्य डाक्टरभन्दा माथि उठ्नु थियो । छात्रवृत्तिमा अमेरिका गइन् । एक वर्षको इन्टर्नसिप र दुई वर्षको रेसिडेन्सी कार्यक्रमले उनको कार्यशैली पूरै अमेरिकी बनाइदियो । अमेरिकाले उनलाई पूर्णत: आफ्नो बनायो । त्यसपछि सधैँ पदोन्नति मात्र भइरह्यो । त्यसैले उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

अमेरिका गएपछि कार्डियोलोजीमा तीन वर्ष र इलेक्ट्रो फिजियोलोजीमा दुई वर्षको अनुभव सँगालेकी भट्ट केही समयमै न्यूयोर्कको सिराक्युज विश्वविद्यालयको कार्डियोलोजी विभाग प्रमुख बन्न पुगिन् । उनको अनुशरण गर्ने पनि थुप्रै भए ।

“मेरो समयमा अंग्रेजी सिक्न गाह्रो थियो । त्यसैले केही कठिनाइ आए ।” अहिलेको पुस्तालाई भाग्यमानीको संज्ञा दिँदै उनले भनिन् । अहिले गएका नेपालीले मेडिकल क्षेत्रमा झन् राम्रो गरिरहेको अनुभूति उनलाई हुन्छ । सबैको प्रगति देखेर आफू हर्षित हुने उनी बताउँछिन् ।

यी सब हुँदाहुँदै पनि अमेरिका सबैलाई फाप्न नसक्ने उनको धारणा छ । एक त उच्च शिक्षा महँगो, अर्को स्थायी जागिर कसैको नहुने । मेडिकल शिक्षा संसारकै उत्कृष्ट भए पनि धेरैले त्यसको आर्थिक भार उठाउन नसक्ने रहेछन् । त्यसमाथि डाक्टरी लाइसेन्स नवीकरण गर्न सबैले समयसमयमा परीक्षा दिइरहनुपर्ने रहेछ । भट्ट सुनाउँछिन्, “दस–दस वर्षमा जाँच दिन्छु । फेल भए मेरो जागिर नै रहँदैन ।”

लुनाले धेरै अनुभव सँगालिसकिन् । अब जीवनमा एउटै इच्छा बाँकी छ– नेपाल आएर यहाँका ग्रामीण भेगको चिकित्सा क्षेत्रमा केही योगदान दिने । “दुई–दुई वर्षमा नेपाल आउँछु । अनि, हरेकचोटि अघिल्लो पटकभन्दा ग्रामीण स्वास्थ्य क्षेत्र खस्किएको पाउँछु,” उनी दु:खी हुन्छिन् । अमेरिकामा मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्र तीव्र रूपमा अघि बढिरहेको छ । नेपालमा भने सधैँको किचलो देखेर उनलाई दिक्क लाग्छ ।

प्रकाशित: श्रावण १६, २०७५