अन्तर्राष्ट्रिय शोभा

- नेपाल टिम

शोभाकर ढकाल, थाइल्यान्ड

हर अनुसन्धाताको सपना हुन्छ, ख्यातिप्राप्त नेचर जर्नलमा आफ्नो शोध छाप्ने । यही सपना साकार बनाउने धूनमा थिए, शोभाकर ढकाल, ४८ । नभन्दै गत फेब्रुअरीमा सफलताको धुरीमा चढिछाडे । उनीसहित ११ जना अध्येताले सहर र जलवायु परिवर्तनका लागि ६ प्राथमिकताका विषयमा गरेको खोज क्याम्ब्रिज विश्वविद्यालयले निकाल्ने ‘नेचर’मा छापिएसँगै ।

हुन त, बौद्धिक वैश्विक परिदृश्यमा ढकालको नाम यसअघि नै स्थापित थियो । थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) अन्तर्गतको स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डेभलपमेन्टका एसोसिएट प्रोफेसर तथा ऊर्जा वातावरण र जलवायु परिवतर्नन विषयका विभागीय प्रमुख हुन् ढकाल । एआईटी विश्वकै उत्कृष्ट शिक्षालयको सूचीमा पर्छ ।

उनको बौद्धिकता विश्वविद्यालयको चौघेरामा मात्रै खुम्चिएको छैन । अन्तर्राष्ट्रिय नीतिलाई वाहक गर्ने तहसम्म उक्लिएको छ । जस्तै, ढकालले नोबेल पुरस्कार विजेता मुलुकहरूको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) मा सन् २०१० देखि २०१४ मा पाँचौँ मूल्यांकन प्रतिवेदन लेखे । अमेरिकाको याले विश्वविद्यालयका प्राध्यापक करेन सेटो सँगै बसेर ढकालले मानव बसोबास, पूर्वाधार र स्थानविशेषका योजनाबारे नीति बनाउन नेतृत्वदायी भूमिका खेले, त्यतिबेला । ऊर्जा उत्सर्जनको प्रवृत्ति र वाहक विषयमा आईपीसीसीकै सन् २०१८ देखि २०२२ सम्मको छैटौँ मूल्यांकन प्रतिवेदन तयार गर्न सह–नेतृत्वदायीको जिम्मा पनि पाएका छन् । यी यस्ता प्रमुख फोरम हुन्, जसले नीतिगत रूपमा विश्वव्यापी प्रभाव जमाउँछ । “यसलाई म आफ्नो करियरको कोशेढुंगा ठान्छु,” ढकाल सन्तुष्टि मान्छन् ।

सहरी वातावरणीय परिवर्तन सम्बन्धी अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय सन्जाल (युसीसीआरएन) को विश्वव्यापी मूल्यांकनकर्ता टोलीमा बसे, ढकाल । नासा, कोलम्बिया विश्वविद्यालय, न्यूयोर्कको न्यू स्कुल, नेसनल सेन्टर फर एट्मोसफोरिक रिसर्च सेन्टरका सहकर्मीसँगै छानिएका थिए । सन्जालले संसारभरका ५ सय वैज्ञानिकलाई भेला पारेर मूल्यांकन प्रतिवदेन तयार गर्‍यो । “यो मुख्य अन्तर्राष्ट्रिय मूल्यांकन दस्तावेज हो,” उनी भन्छन् ।

दुइटा पुस्तकका एकल लेखक र तीनवटाका सहलेखक हुन् । अन्तर्राष्ट्रिय जर्नलमा दर्जनौँ शोध प्रकाशित छन् । सम्झीसाध्य छैन । पर्यावरण, जलवायु परिवर्तन, सहरीकरण विषयमा हुने कार्यक्रममा विचार सुनाउन संसारभरबाट निम्तो आइरहन्छ । “यस्तो सूची लामो छ,” ईमेल वार्तामा उनले भने ।

ललितपुरको मानभवनमा जन्मिएका ढकालले आफ्नो सुवास विश्व बौद्धिक जगत्मा छरिरहेका छन् । ढकालले सीडीओ बुबाको जागिर पछ्याउँदै स्कुले जीवन सकाए । अहिले उसैगरी संसारले पछ्याउँछ, उनलाई– ऊर्जा, सहरीकरण, जलवायु परिवर्तन, योजनाका विषयमा । सुदूरपश्चिमको डोटी, डडेलधुरा, अछाम, डोल्पा, सप्तरी, भोजपुर घुम्दै गृहजिल्लाकै महेन्द्र आदर्श विद्याश्रमबाट एसएलसी दिए । उच्च शिक्षामा उनको एक पैसा खर्च भएन । अनवरत छात्रवृत्ति पाए । एआईटीबाटै ऊर्जा योजना र नीतिमा स्नातकोत्तर गरे । टोकियो विश्वविद्यालयबाट विद्यावारिधि । ढकाल जापानको नेसनल इन्स्टिच्युट फर इन्भाइरोमेन्टल स्टडिजका भिजिटिङ रिसर्चरको जिम्मेवारीमा पनि छन् ।

एआईटीको एउटा विषयको विभागीय प्रमुख बनेकामा ढकाल खुसी त छन् । तर, उनी पद उति महत्त्वपूर्ण नभएको बोध गर्छन् । “प्रशासनिक पद आउँछ, जान्छ । मेरो पेसागत योगदान र क्षेत्रीय/अन्तर्राष्ट्रिय अनुसन्धानको क्षेत्रमा के गरेँ भन्ने ज्यादा अर्थपूर्ण कुरा हो,” उनी सगर्व भन्छन्, “विज्ञान र नीतिगत क्षेत्रमा आफूले सकेको योगदान दिन पाएकामा खुसी छु ।”

त्यसभन्दा खुसीको कुरा आफ्नो विज्ञता प्रयोग नेपालमा समेत गर्ने धूनमा छन्, ढकाल । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विज्ञान तथा वातावरण मन्त्रालयका उच्चपदस्थ व्यक्तित्वसँग उनी सम्पर्कमै छन्, औपचारिक र अनौपचारिक दुवै बाटोबाट । समयका हिसाबले ऊर्जामा पहुँच, सही ऊर्जा नीति र जलवायु परिवर्तनका विषय अहिले नेपालका लागि एकदमै सही रहेको उनको मूल्यांकन छ । “म यी विषयमा नेपाललाई सक्दो सहयोग गर्ने उपाय खोजिरहेको छ,” उनी भन्छन्, “नेपाललाई योगदान दिन पाउनु मेरा लागि सबैभन्दा ठूलो खुसीको क्षण हुनेछ ।”

प्रकाशित: श्रावण १६, २०७५