जमिनमुनिका ज्ञाता

- नेपाल टिम

नरेश कोइराला, क्यानडा

अहिले पनि उनलाई पूर्वसभामुख दमननाथ ढुंगानाले भनेको स्मरण छ, ‘तँलाई साथीहरूले अडीई (सडक विभागको असिस्टेन्ट डिभिजनल इन्जिजियर) भन्थे तर तँ देश अडिने भइनस् ।’

पछिल्लो समय मुलुकको अवस्थालाई धिकाक्र्दै विदेशिनेको संख्या नेपालमा कम छैन । ०२० को दशकमा भूगर्भविद् इन्जिनियर नरेश कोइरालालाई पनि देशको अवस्थाप्रति सन्तोष लागेन । र, उनी भौतारिँदै हाल चीन स्वशासित हङकङ पुगे ।

“त्यतिखेर सडक विभागका पुराना हाकिम इन्जिनियरहरूबाट हुने गरेको भ्रष्टाचार र पूर्वाधारमा प्रयोग हुने कमजोर सामग्रीको प्रयोगबारे मन्त्रालय र राजदरबारमा पत्राचारसमेत गरेँ तर सुनुवाइ भएन,” कोइराला अनुभव सुनाउँछन् । निर्माण सामग्री जाँच्ने प्रयोगशाला हुनुपर्ने पहल सुनुवाइ नभएपछि उनी आफैँले पनि कन्सल्ट्यान्ट खोलेर यसमा सघाउने निधो गरे । तर, सफल भएनन् ।

काठमाडौँमा जन्मे–हुर्केका उनमा त्यही समय हो देश छाड्ने इच्छा जागेको । थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा विसं ०३४ मा माटोविज्ञानमा स्नातकोत्तर सकेर मध्यपूर्व पुगे । भारतको दिल्लीमा मध्यपूर्वमा जागिरका लागि अन्तर्वार्ता दिएका उनी तीन महिना कुर्नुपर्ने भएपछि आफैँ लागे इरानतर्फ ।

इरानमा सुरुआती दिन सहज भने थिएनन् । तर, उनले त्यहाँको २ खर्ब लगानीको कागज उद्योगमा भइरहेको पूर्वाधार निर्माणको गुणस्तर नियन्त्रण गर्ने काम पाए । त्यसबीच बिदामा नेपाल फर्किएका उनले हङकङमा खुलेको अवसरबारे थाहा पाए । हङकङमा त्यतिखेर निकै पहिरो जान्थ्यो । एकैपटक एक सय मानिससम्म मर्ने गर्थे । त्यहाँको सरकार मातहत भूगर्भको पढाइ नहुने भएकाले त्यहाँ इन्जिनियरको माग भएको थियो ।

कोइरालाले त्यहाँ करिब १५ वर्ष काम गरे । त्यहाँको बसाइले उनलाई स्थापित नै गर्‍यो । चीनले त्यहाँ शासन गर्न थालेपछि बाहिरबाट आएकालाई स्तरोन्नति नगर्ने रणनीति नै बनायो । त्यसपछि उनी लागे क्यानडा ।

४४ वर्षदेखि भूगर्भ इन्जिनियरिङ, सुरुङ निर्माण र सबै सतहमा सुरुङ नखनी जमिनमुनि गरिने निर्माण कार्य (ट्रान्चलेस प्रविधि) गर्दै आएका कोइरालाले काठमाडौँको गुहेश्वरीदेखि तिलगंगासम्म बागमती निकासका लागि सुरुङ बनाउने काम गरेका थिए । उनले हेटौँडादेखि नारायणगढसम्म पर्ने ६ वटा पुलको फाउन्डेसन डिजाइन पनि गरेका छन् । उनले ब्रिटिस, कोलम्बिया, ट्रान्समिसन कमिसनका लागि जमिनमुनि हाई भोल्टेज विद्युतीय केबल बिछ्याउने आयोजनाको डिजाइनलगायतका काम पनि गरेका छन् ।

उनी संलग्न रहेको क्यानडाको भ्याकुभर सिटी सेन्ट्रल ट्रान्समिसन प्रोजेक्टले त्यहाँको एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियरिङ कम्पनीबाट सन् २०१२ मा अवार्ड अफ एक्सिलेन्ससमेत पाएको थियो भने यो आयोजना नर्थ अमेरिकन सोसाइटी अफ ट्रान्चलेस टेक्नोलोजीको रनरअपमा पनि मनोनयन भएको थियो ।  

हाल क्यानडामा रहेका कोइरालाले भूकम्पपछि नेपाल सरकारलाई निर्माणमा आवश्यक नीतिगत परिवर्तन सम्बन्धी प्रतिवेदनसमेत पेस गरेका थिए । मेलम्ची खानेपानीका लागि प्रयोग भएको पाइपले भूकम्पीय जोखिम बहन नगर्ने उनको टिप्पणीले यो प्रतिवेदन अहिले प्राथमिकताबाहिर थन्काइएको छ । “पूर्वाधारमा सघाउने मन नभएको होइन, तर अहिलेसम्म राजनीतिक गुन्डागर्दी हटेको रहेनछ,” उनको पछिल्लो अनुभव छ ।

एउटा इन्जिनियरले पूर्वाधारमा लगानीबाट योगदान दिन नसके पनि डिजाइन र आफ्ना अनुभवबाट सघाउने भएकाले उनले त्यसको वातावरण देख्न सकेनन् । त्यसैले उनलाई लाग्छ, आफू भगुवा हुँ, कुरीतिबाट भाग्ने तर लड्न नसक्ने । काठमाडौँजस्तो राजधानीमा बालबालिका ढलमा डुबेर मृत्यु भएको खबरले उनलाई आफूले सिकेको ट्रान्चलेस प्रविधिको प्रयोगमा सरकारलाई सहयोग गर्ने सोच छ । तर, आफ्ना पुराना प्रतिवेदनबारे हालको सरकारलाई समेत जानकारी गराएका उनले सरकारबाट कुनै प्रतिक्रिया नै नपाएपछि मन मारेका छन् ।

उमेरले ७४ वर्ष लागेका उनी अहिले नेपालमा पुस्तकालय निर्माणमा सघाइरहेका छन् । उनी अध्यक्ष रहेको नेपाल लाइब्रेरी फाउन्डेसनले यहाँका २५ जिल्लामा १ सय २७ भन्दा बढी पुस्तकालय स्थापना गरेको छ भने सञ्चालनमा समेत आर्थिक सहयोग गरिरहेको छ । संस्थाको सहयोगका कतिपय विद्यालयमा ई–लाइब्रेरीसमेत सञ्चालनमा छ ।

प्रकाशित: श्रावण १६, २०७५