बहुमुखी व्यवसायी

- नेपाल टिम

महेश श्रेष्ठ, जापान

अहिले जापानबाट नेपालमा वैधानिक प्रणालीबाट लगभग शतप्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्रिन्छ । तर, सन् २००८ अघि हुन्डीबाट मात्रै भित्रिन्थ्यो । त्यहाँ आवासीय भिसामा रहेका महेश श्रेष्ठले यसका लागि पहल गरे ।

पहिलो चरणमा त्यहाँ रहेको ब्राजिलियन बैंकसँग सहकार्य गरेर विप्रेषण नेपाल पठाउने सेवा सुरु गरेका श्रेष्ठले सन् २०१२ बाट आफैँले सिटी एक्सप्रेस नामक संस्था सञ्चालन गरेर यो सुविधा दिन थाले । अहिले यसले विश्वभरमा रहेका नेपालीलाई घरघरमा विप्रेषणको सुविधा दिएको छ । वार्षिक ६ खर्ब रुपियाँ विप्रेषण भित्रने नेपालमा यो संस्थाबाट मात्रै करिब १ खर्ब रुपियाँ भित्रिन्छ । हिस्सेदारीका आधारमा रेमिटेन्स भित्र्याउने तीन ठूला कम्पनीमा यो पनि एक हो । यो संस्थाले गत वर्षदेखि कोरियाबाट समेत विप्रेषण सेवा दिन थालेको छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण वैधानिक बाटोबाट भित्र्याउन सहयोगी भूमिका खेलेका श्रेष्ठ पेसाले व्यवसायी भए पनि खासमा सिभिल इन्जिनियर हुन् । थप अध्ययनका लागि जापान हानिएका श्रेष्ठ त्यहाँ पुगेपछि भने व्यवसायीमा परिणत भए । त्यहाँ बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरे । अस्तित्वका लागि कामलाई ठूलो/सानो मान्नुहुन्न भन्ने सोच राख्ने उनले सुरुमा रेस्टुराँमा काम थाले । त्यहीको अनुभवले व्यवसायमा आकर्षित गर्‍यो । हाल जापानमा उनका ४ वटा सानाठूला रेस्टुराँ छन् ।

जापानमा उनले ट्राभल एजेन्सीसमेत सञ्चालन गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा यसले धेरथोर काम गरेको छ । गैरआवासीय नेपालीले नेपालको पूर्वाधारमा लगानी गर्ने क्रम बढ्न थालेपछि श्रेष्ठले पनि अहिले दोर्दी, मिस्टी, माथिल्लो तमोरलगायतका पाँच जलविद्युत् आयोजनामा लगानी गरेका छन् ।

“गैरआवासीय नेपालीले १ सय मेगावाटभन्दा माथिल्लो स्तरका जलविद्युत् आयोजनामा लगानी गर्न नसक्ने अवस्था छ, सरकार वा अन्यसँग मिलेर भने ५ देखि ६ सय मेगावाटसम्मको जलविद्युत्मा लगानी गर्न सकिन्छ,’’ श्रेष्ठ भन्छन् । सानिमा बैंक, सिटिजन्स बैंक, सिटी फाइनान्समा समेत लगानी गरेका श्रेष्ठले यहाँ आईटी कम्पनीसमेत स्थापना गरेका छन् ।

श्रेष्ठ र उनको समूहले अहिले न्यूजिल्यान्ड र जापानमा समेत पेटेन्ट अधिकार लिएर मात्र काम गर्न पाइने गोल्ड किबीको खेती गरिरहेको छ । एक हेक्टरमा गोल्ड किबी खेती गर्न अधिकार लिन जेस्प्री इन्टरनेसनल लिमिटेडसँग २ करोड ५० लाख लाग्ने नेपालमा त्यही जातको किबीको सम्भावनाको अध्ययन गर्ने उनको सोच छ । नेपालमा व्यवसायिक स्तरमा सुन्तला खेतीको सम्भावना पनि खोजिरहेका छन् ।

“नेपालमा अहिले जति पनि व्यावसायिक कृषि खेती भनिएका छन्, तिनलाई व्यावसायिक खेती मानिँदैन,” श्रेष्ठ भन्छन्, “महँगो मूल्यमा बिक्री हुने सुन्तलाको व्यावसायिक खेती गर्ने सोच छ, जुन लगानी, स्तर र गुणस्तरमा अब्बल हुनेछ ।” सरकारले पूर्वाधार निर्माणमा जोड दिने हो भने भविष्यमा गैरआवासीय नेपालीबाट थप लगानी भित्र्याउन सकिने उनको धारणा छ । हाल श्रेष्ठ गैरआवासीय नेपाली संघको इन्टरनेसनल कोअर्डिनेसन काउन्सिलका सदस्य हुन् भने नेपालमा लगानी भित्र्याउन गठित कार्यसमितिमा समेत छन् ।

प्रकाशित: श्रावण १६, २०७५