ईरीको कथा

- नेपाल टिम

अमृता आचार्य, नर्वे

अमेरिकी टेलिभिजन शृंखला गेम अफ थ्रोन्सको पहिलो र दोस्रो सिजनमा ईरीको भूमिका निर्वाह गरिन् अमृता आचार्य, ३०, ले । सिंगो संसारको नजर उनमा पर्‍यो । त्यसअघि पनि उनी क्याजुअल्टी, डक्टर्स  र ल्यापल्यान्डजस्ता सोमा देखिइसकेकी थिइन् । तर, उनको करिअरलाई उचाइ दिने श्रेय भने गेम अफ थ्रोन्सलाई नै जान्छ । तथ्यांक भन्छ, करिब डेढ करोड मानिसले गेम अफ थ्रोन्सको नयाँ एपिसोड एकै समय हेर्ने गर्छन् ।

काठमाडौँमा नेपाली बुबा र युक्रेनी आमाबाट जन्मेकी अमृताको बाल्यकाल धेरै देशमा बित्यो । पाँच वर्षको उमेरसम्म नेपाल बसिन्, त्यसपछि बेलायत अनि नर्वे । प्राध्यापक बुबाको जागिरले उनलाई धेरै देश र संस्कृतिको अनुभव दिलायो । भन्छिन्, “प्रत्यक्ष रूपमा विभिन्न देशका मान्छेसँग भेट भयो । यस्तै–यस्तै अनुभवले त हो धेरै कुरा सिक्ने ।” त्यसैले होला, उनी नेपाली, अंग्रेजी, रुसी, युक्रेनी र नर्वेजियन भाषामा धाराप्रवाह बोल्न सक्छिन् ।

गेम अफ थ्रोन्समा गरेको अभिनयले उनलाई धेरै शृंखला र चलचित्रमा काम गर्ने अवसर दिलायो । कहिलेकाहीँ त सास फेर्ने फुर्सदसमेत हुँदैन । तर, उनी रत्तिभर विचलित हुँदिनन् । सुनाउँछिन्, “अझ धेरै काम गर्दै जाने जाँगर ममा पलाएको छ ।”

नर्वेमा आयोजना हुने अमान्दा अवार्डस्मा आई एम योर्स  चलचित्रका लागि सन् २०१३ को उत्कृष्ट अभिनेत्रीमा आचार्य मनोनीत भइन् । नर्वेको ओस्कार अवार्ड कमिटीले उक्त चलचित्रलाई ओस्कारको विदेशी भाषामा बनेको सर्वश्रेष्ठ चलचित्रको मनोनयनका लागि पठायो । दुवै पुरस्कार अरू कसैका पोल्टामा परे । तर, सबैको वाहवाही आई एम योर्सकी मीना अर्थात् अमृताले बटुलिन् ।

क्यामोफ्लाजमा अमिरा र अमर अकबर एन्ड टोनीमा निर्वाह गरेको ऋचाको भूमिकाले उनको क्षितिज विस्तार गर्दै लगे । उनलाई एक सामान्य व्यक्तिबाट ब्रान्डमा परिवर्तन हुन समय लागेन । विभिन्न भाषाका फिल्मका लागि आएका स्क्रिप्ट हातैमा छन् । उत्कृष्ट मात्रै छान्ने सुरमा छिन् उनी । यसै कारणले आईटिभी शृंखला गुड कर्मा हस्पिटल  र बेलायती मनोवैज्ञानिक थ्रिलर वेलकम टु क्युरिओसिटीजस्ता नाम चलेका शृंखला तथा चलचित्रमा उनलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

दर्जनौँ चलचित्रमा अभिनय गरेको अनुभव त छँदै छ, आचार्यका भावी प्रोजेक्ट सुन्दा झनै आश्चर्य लाग्छ । अर्को वर्ष ह्यु ज्याकम्यान, जोई सल्दाना, स्टेफेन फ्राईजस्ता विश्वविख्यात कलाकारसँग उनी एक एनिमेटेड कमेडी चलचित्रमा भ्वाइस ओभर गर्दैछिन् । “स्क्रिनमा आफ्नो प्रस्तुति नदेखिने भए पनि यस्ता दिग्गज कलाकारसँग काम गर्न पाउनु नै ठूलो कुरा हो,” उनले हर्षित हुँदै सुनाइन् ।

०७२ मा नेपालमा गएको शक्तिशाली भूकम्पमा क्षति पुगेका गाउँको सहयोगार्थ उनले बृहत् अभियान नै चलाइन् । देशविदेशबाट प्राप्त सहयोगले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई आवश्यक सरसामग्री जुटाउन ठूलो राहत मिल्यो । जहाँ पुगे पनि आचार्यलाई सम्बोधन गर्दा सबैले नेपाली कलाकार नै भन्छन् । भन्छिन्, “आफ्नो परिचयमा यस्तो सुन्दर ठाउँको झझल्को आउँदा को खुसी नहोला र ?”

प्रकाशित: श्रावण १६, २०७५