अब्बल आर्किटेक्ट

- नेपाल टिम

अम्बिकाप्रसाद अधिकारी, अमेरिका

भोजपुरको याकुमा जन्मिए, धरानबाट स्कुले पढाइ पार गरे । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आर्किटेक्चरको सहायक प्राध्यापकसम्म उक्लिसकेका थिए । कहलिएका सहरी विकासविद्को सूचीमा उनको नाम माथिल्लै लहरमा हुन्थ्यो । जल तथा ऊर्जा आयोगको सदस्य बनेर नीतिगत तहमा फड्किसकेका थिए । त्यसको छोटो समयपछि नै उनी स्वीट्जरल्यान्डमा रहेको इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन) मा तीन वर्ष नेपालको प्रतिनिधित्व गर्ने सौभाग्य पनि पाए । भनौँ न, जीवन अवरोहभन्दा आरोहतिरै उन्मुख थियो, अम्बिकाप्रसाद अधिकारीको ।

उनको विज्ञता नेपालमा मात्रै खुम्चिएर बस्न मानेन । फस्टाउने फराकिलो मार्ग खोज्न थाल्यो । अनि, सन् १९९३ मा आईओईबाट राजीनामा दिए र अन्तर्राष्ट्रिय जागिरतिर लम्किए । क्यानाडाको टोरन्टोमा अवस्थित डीपीआरए इन्क नामक संस्थाको वरिष्ठ निर्देशक बने । अमेरिकाको वासिङ्टन डिसीमा समेत सोही पदमा पुगे । दुवैमा सहरी विकासका विविध अन्तर्राष्ट्रिय परियोजनाको भट्टीमा खारिए ।

त्यसपछि त उनको विज्ञता संसारभर फिँजिन थालिहाल्यो । सहरी र वातावरणीय योजनाविद्का रूपमा अमेरिका, क्यानाडा, मेक्सिको, केन्या, थाइल्यान्ड, दक्षिण कोरिया, फिजी, सिंगापुर, तान्जानिया र भारतमा काम गरे ।

अन्तमा अमेरिकाको एरिजोना राज्यको राजधानी फोनिक्सलाई अधिकारी परिवारले आफ्नो स्थायी मुकाम बनायो । उनी हाल फोनिक्सकै सहर टेम्पेको विकासको दीर्घकालीन योजना बनाउँदैछन् । फोनिक्सले अधिकारीलाई बास दियो । बदलामा अधिकारी फोनिक्स सिटीको भविष्य सुन्दर र चिरस्मरणीय बनाउने धूनमा एकोहोरिएका छन् ।

६५ वर्गकिलोमिटरमा १ लाख ८० हजार आवादी रहेको टेम्पे सहरको दीर्घकालीन योजना बनाउने कमान्ड उनकै काँधमा छ । अधिकारी भन्छन्, “अमेरिका क्षमतावान र प्रतिस्पर्धीहरूले राज गर्ने समाज हो । विदेशमा जन्मिएका धेरैले यहाँ आएर उपल्लो तहमा काम गरिरहेका छन् । जीवनको उत्तराद्र्धमा आफूले रोजेको भूमिमा आफ्नै क्षेत्रको मूलधारमा काम गर्न पाउँदा अन्य आप्रवासी नेपालीलाई जस्तै मलाई पनि बडो सन्तोष मिलेको छ ।”

त्यसअघि एरिजोनाकै स्कटस्डेलको एउटा गाउँको योजना बनाउन पनि उनले वरिष्ठ योजनाविद्का रूपमा काम गरेका थिए । एरिजोनासँग उनको नाता पुरानै हो । सन् २००३ देखि नै अधिकारी एरिजोना स्टेट युनिभर्सिटीमा बेलाबेला अध्यापनका लागि पुग्थे । सन् २०१२ देखि भने चार वर्ष पूर्णकालीन सेवक बने । अनुसन्धान, मुख्य जिम्मेवारी । पद, प्रोग्राम रिसर्चर । उनका अनुसन्धात्मक लेख अन्तर्राष्ट्रिय रिसर्च जर्नलमा छापिनु नौलो होइन । ती गनिसाध्य छैनन् । एकल लेखकत्वमा एउटा पुस्तक छ, सहलेखनमा आधा दर्जन । पढाइमा तेज अधिकारीले संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढ्ने अवसर पाए । हवाई विश्वविद्यालयबाट आर्किटेक्चरमा स्नातक गरे । हावर्ड विश्वविद्यालयबाट ‘अर्बान प्लानिङ एन्ड डिजाइन’ मा विद्यावारिधिको प्रमाणपत्र हात लगाए ।

अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड प्लानर्सको सदस्य रहेका उनी त्यहाँको प्रोजेक्ट म्यानेजमेन्ट इन्स्टिच्युटबाट मान्यताप्राप्त प्रोजेक्ट म्यानेजमेन्ट प्रोफेसनल हुन् । ऊर्जा र वातावरणीय डिजाइनमा नेतृत्वदायी योगदान पुर्‍याउनेलाई अमेरिकी ग्रीन बिल्डिङ काउन्सिलबाट दिने मान्यताको प्रमाणपत्रसमेत छ, उनीसँग ।

राम्रो शिक्षा, मिहेनत र दृढताका कारण यस्तो सफलता पाएको उनको मूल्यांकन छ । अमेरिकी सहरमा योजनाविद्को भूमिकामा रहेका अधिकारी आफ्नो लामो अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा समेत जोड्न चाहन्छन् । उनले विकसित र विकासोन्मुख दुवैखाले देशले तीव्र आर्थिक विकास हासिल गर्न र सुन्दर सहरी वातावरण सिर्जना गर्न कसरी ‘स्मार्ट’ नीतिहरूले काम गर्छन् भन्ने देखेका छन् । “केन्यामा विस्तार भएको सौर्य ऊर्जा, संगठित तबरमा उच्च आम्दानीवाला पर्यटक भित्र्याउने फिजीको अनुभव, देशभित्र विश्वस्तरीय शैक्षिक केन्द्र बनाउने तान्जानियाको अनुभव, सहरी प्रदूषण घटाउने मेक्सिको पाठ, सिंगापुरको सार्वजनिक बसोबासको सफलताबाट नेपालले पनि सहरी विकास योजनामा लाभ लिन सक्छ,” यी मुलुकमा काम गरिसकेका अधिकारी भन्छन्, “नेपालमा अनुभवी र शिक्षित जनशक्तिले यसमा काम गरिरहेको छ । डायस्पोराले यसमा हातेमालो गर्न सक्छ । अवकाशपछि म यसमै लाग्नेछु ।”

प्रकाशित: श्रावण १६, २०७५