खजानाको खोजीमा

- नेपाल टिम

नारायण घिमिरे, क्यानडा

जतिबेला संसार प्रशोधित दूधका लागि काम गरिरहेको थियो, उनको टिम भेगन चिजको कच्चा पदार्थ बनाइरहेको थियो । संसारले भेगन चिज, दूध र अन्डा बनाइरहँदा शाकाहारी मासुको प्रोजेक्टमा थियो भने अरू त्यसमा आइपुग्दा प्राकृतिक स्वास्थ्य सम्बन्धी खाद्यपदार्थ विकासमा ।

उनी अर्थात् नारायण घिमिरे, ४८, फुड साइन्सको ‘सिलिकन भ्याली’ भनिने क्यानडाकै सबैभन्दा ठूलो फ्लेबर हाउसका टेक्निकल म्यानेजर छन् । खाद्य, औषधी, जडीबुटी, आयुर्वेदिक र अर्गानिक स्वास्थ्य उत्पादनका साथै प्राकृतिक चिकित्सा सप्लिमेन्टका निम्ति चिनिएको कम्पनीमा उनले प्राविधिक र वैज्ञानिक व्यवस्थापन सम्हालेको एक दशक नाघिसक्यो ।

टोरन्टो, अन्तरियोस्थित फ्लेबरक्यान इन्टरनेसनल इन्कसँग जोडिँदा सत्रौँ कामदार थिए घिमिरे । कारोबार जम्मा दुई–तीन देशमा मात्र हुन्थ्यो । अहिले कम्पनी हजार गुणा बढेको छ भने ७५ देशमा त्यसका उत्पादन र सेवा पुगेका छन् । घिमिरेले क्यानडामा कृषिजन्य एरोमेटिक र मेडिसिनल उत्पादनमा २० हजार घन्टाभन्दा बढी बिताइसकेका छन् । उनी सन् २०१० मै लिन–सिक्स–सिग्माको सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन ‘मास्टर ब्ल्याकबेल्ट’ पाउने भाग्यमानी पनि हुन् ।

आगामी पुस्ताको आवश्यकता बुझ्ने क्षमतालाई नै आविष्कार (इनोभेसन) कला मान्छन्, घिमिरे । ती आविष्कारलाई उनी निजी उपलब्धिभन्दा पनि आफ्नो टिमको सफलता मान्छन् । उनको टिमले बनाएका शाकाहारी मासु, अन्डा र भेगन चिज सक्कली नभए पनि तिनमा प्रोटिनका साथै स्वाद जरुर छ । सबैभन्दा सुखद पाटो बिनाप्राणी हत्या कारखानामा मासु र छाला बन्छ । त्यो दुर्गन्धित पनि हुन्न ।

उनको खोजको एउटा कारण हो, सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब पुग्यो भने प्रोटिनको स्रोत मासुका लागि कुखुरा कहाँ पाल्ने ? “कुखुरालाई २५ किलो दाना खुवाएर एक किलो मासु निकाल्नुभन्दा त्यही पाँच किलो दानाबाट सीधै प्रोटिन निकाली सिजनिङ गरी एक किलो मासु बनाउनु उचित हो,” उनी भन्छन्, “त्यो स्वास्थ्यवद्र्धकका साथै ग्रिनहाउसको समस्यामा समेत सहयोगी भएको छ ।”

तनहुँको बन्दीपुर गाउँपालिका याम्पाफाँटको मध्यमवर्गीय किसान परिवारमा जन्मेका घिमिरेले केन्द्रीय खाद्य तथा प्रविधि क्याम्पस हात्तीसारबाट बीटेक गरे र केही समय यूएनडीपीको प्रोजेक्टमा जागिर खाए । त्यसपछि घरमै याम्पा फुड प्रोसेसिङ एन्ड रिसर्च सेन्टर खोले । त्यतिखेर पनि गुन्द्रुक, मस्यौरा, ड्राई भेजिटेबल, अमलाको अचार, तितौरा, तामालगायत २० वटा नयाँ उत्पादन र चार वटा नयाँ प्रविधि विकास गरे ।

बैंकबाट ऋण लिएर सुरु गरेको ४ लाख लगानी १८ महिनामै २० लाख रुपियाँ पुग्यो । हङकङ, सिंगापुरसम्म सामान निर्यात हुन थाल्यो । त्यसको राष्ट्रिय चर्चालगत्तै सरकारी र विद्रोहीको चेपुवामा परे । र, कृषि उद्यमशीलतालाई थाती राखेर हाइस्किल इमिग्रेसन लिएर क्यानडा गए, सन् २००५ मा । फुड साइन्स, फर्मास्युटिकल्स र क्वालिटी इन्जिनियरिङमा उच्च शिक्षा लिए । केही समय त्यहीँ सरकारी सेवा गरे पनि पछि निजी कम्पनीको तलबको आकर्षणमा परेछन् ।

नेपाल आउँदा ठाउँठाउँमा ग्रिन र एलो बेल्टको प्रशिक्षण दिन पुग्ने घिमिरे क्यानडामा पाएका अनेक पुरस्कार र प्रमाणपत्र अनि तारिफमा भने खासै खुसी हुँदैनन् । किनभने, उनी आफ्नै मातृभूमिमा असफल उद्यमी भए । त्यसैले नेपालमै इनोभेसन को–क्रिएसन सेन्टर खोलेर कृषि उद्यमशीलता बढाउने ‘ड्रिम प्रोजेक्ट’ छ उनको । भन्छन्, “मलाई सधैँ असफल हुने छूट छैन ।”

उनका अनुसार संसारका १५ हजार जातिका वनस्पतिमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य बोकेका छन् । नेपालका रैथाने सात हजार वनस्पतिमा १ हजार ५ सय त्यस्ता वनस्पति छन् र १ सय ४० उपजको त सक्रिय कारोबार नै छ । “नेपाल मेडिसिनल र एरोमेटिक पकेट क्षेत्र हो, त्यस्तो कुनै वनस्पति छैन, जुन खाना वा औषधी नहोस्,” उनी भन्छन्, “अब तिनको मूल्य पहिचान, प्रशोधन र व्यवसायीकरण जरुरी छ ।”

प्रकाशित: श्रावण १६, २०७५