चार देशका विज्ञ

- नेपाल टिम

अशोक गुरुङ, अमेरिका

भारत र चीनको संयुक्त अध्ययन–अनुसन्धान गर्ने संस्था विरलै छन् । त्यसकै अभाव पूर्ति गर्छ, इन्डिया–चाइना इन्स्टिच्युट (आईसीआई) ले । १३ वर्षयता भारत, चीन र अमेरिकाका प्राज्ञलाई जोड्ने काम गरिरहेको यस संस्थाका संस्थापक र निर्देशकचाहिँ नेपाली हुन्, अशोक गुरुङ, ५६ । आईसीआई अमेरिकाको एक शताब्दी पुरानो विश्वविद्यालय द न्यु स्कुलको रिसर्च ‘थिङ ट्यांक’ हो । गुरुङ सोही विश्वविद्यालयका प्राध्यापक हुन् । ‘हिमालय : रिथिङ्किङ कल्चर एन्ड इकोलोजी’ कोर्स पढाउँछन् । लाहुरे परिवारमा जन्मिएका गुरुङको बौद्धिक छवि संसारका अन्य देशमा समेत फैलँदै छ, खासगरी अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा ।

गुरुङको मूल घर कास्की हो । उनका बाबु भारतीय सेना थिए । जागिरको सिलसिलामा बाबुआमा भारतमा गएका बेला सिमलाको सुबथुमा जन्मिए । त्यहीँको नाम चलेको किङ जर्ज स्कुलमा पढे । अमेरिकाचाहिँ कसरी पुगे ? कहानी रोचक छ । भारतमा प्रवीणता उत्तीर्ण गरेपछि गुरुङ नेपाल आए । तिनताका अमेरिकाको वल्र्ड कलेज वेस्टले विद्यार्थीलाई नेपाल ल्याएर एक सेमेस्टर पढाउँथ्यो । संयोगले त्यो कलेजसँग जोडिएर काम गर्ने मौका जुर्‍यो । जिज्ञासु र मिहिनेती स्वभावका गुरुङ कलेजका प्राध्यापकको नजरमा परिहाले । पछि सोही कलेजमा काम गर्न अमेरिकाबाट बोलावट भयो । केही समयपछि वेस्टमै स्नात्तक पढ्न थाले । विषय थियो, अन्तर्राष्ट्रिय सेवा र विकास । यो विषय उनका लागि नयाँ थियो । तैपनि, अब्बल दरिए । फलत: चर्चित कोलम्बिया विश्वविद्यालयमा प्रवेश पाए र अन्तर्राष्ट्रिय मामला विषयमा स्नात्तकोत्तर सके । यसपछि नै हो, गुरुङको प्राज्ञिक कर्म परिचित हुँदै गएको ।

गुरुङले कोलम्बिया विश्वविद्यालय पढाउनेताका त्यहाँ साउथ एसियन इन्स्टिच्युट त थियो । तर, विश्वका दुई ठूला राष्ट्र चीन र भारतलाई जोडेर एकीकृत अध्ययन गर्ने संस्थाहरू छँदै थिएनन् । सोही कारण द न्यु स्कुलमा आएपछि आफ्नै अगुवाइमा आईसीआई स्थापना गरे । यसले खासगरी दुई मुलुकसँग जोडिएको हिमालय, वातावरण, धर्म र सांस्कृतिक विषयको सेरोफेरामा काम गर्छ । गुरुङको कार्यथलो न्युयोर्क भए पनि केही समययता घुमन्ते प्राज्ञको छवि बनाइरहेका छन् । कहिले चीन र भारत चहारिरहेका हुन्छन् भने कहिले नेपालको ग्रामीण भेगमा अध्ययन–अनुसन्धान गरिरहेका हुन्छन् । बैंकक उनको अस्थायी कर्मथलो बन्दै छ । अमेरिका, भारत र चीनका बारेमा राम्रो जानकार मानिन्छन् गुरुङ । नेपाल त उनको आफ्नै देश भइहाल्यो । सायद यही कारण हुनुपर्छ, विपरीतझैँ लाग्ने दुई प्रतिस्पर्धी मुलुक भारत र चीनको ‘थिङ ट्यांक’ सर्कलमा उत्तिकै परिचित र विश्सनीय छन् । र, भारत–चीन सम्बन्धमा नेपालका लागि सेतुको भूमिका निर्वाह गर्न सक्ने ल्याकत भएका विद्धान हुन् उनी ।

गुरुङले केही वर्ष फोर्ड फाउन्डेसन अन्तर्गतको इन्टरनेसनल फेलोसिप प्रोग्रामको कार्यक्रम अधिकृतका रूपमा अनुभव संगाले । दुई दशकदेखि अन्तर्राष्ट्रिय मामला र विकासको क्षेत्रमा अध्येता, अनुसन्धानदाता, नीति विश्लेषक, अभियन्ता र प्राज्ञको रूपमा उल्लेखनीय योगदान पुर्‍याइरहेका छन् । नेपालको सामाजिक र राजनैतिक विकासक्रमलाई नजिकबाट नियाल्छन् । दलित, मधेसी, जनजातिजस्ता विभेदमा पारिएका वर्गलाई मूलधारमा नसमेटी नेपालको आर्थिक सम्पन्नता नहुने मत राख्छन् । नेपाल आउँदा यिनै पिछडिएका समूहसँग घुलमिल भएर विचार–विमर्श गर्छन् । नेपालसँगको भावनात्मक पक्ष उस्तै बलियो छ । जस्तो, अढाइ दशकदेखि अमेरिकामा बसिरहेका छन् । तर, नागरिकता लिएका छैनन्, सिर्फ ग्रीनकार्ड मात्र । नागरिकता नेपालकै । पत्नी जापानी भएकाले जापानको नागरिकता लिने अफर पनि छ । तर, त्यता ध्यानै छैन । यी प्राज्ञ नेपाली पासपोर्ट लिएरै संसार घुमिरहेका छन् ।

प्रकाशित: श्रावण १६, २०७५