सपना महाप्रबन्धक

- नेपाल टिम

दिनेश कण्ठ, चीन

बाआमाले कुनै सरकारी कार्यालयमा हाकिम बनोस् भन्ने आशा राखेका थिए, वीरगन्जका दिनेश कण्ठलाई । त्रिचन्द्र कलेजबाट आईएस्सी गरेर कोलम्बो प्लानमा भारतबाट इन्जिनियरिङ गर्दा पनि उनीसँग यस्तै सपना थियो । ०४६ मा लोकसेवा दिएर पाएको शाखा अधिकृतको जागिर छाडेर गोरखकाली रबर उद्योगमा प्रोडक्ट स्ट्रक्चर डिजाइनिङ पदमा जागिर खान गए ।

गोरखकाली रबर उद्योगमा जागिर खान थालेको तीन महिनापछि उनलाई अफिसले चीनमा ६ महिनाका लागि तालिममा पठाउने भयो । अरूका लागि भए त्यो तालिम निकै राम्रो अवसर थियो तर दिनेशका लागि चीन जानु ठूलो हाउगुजी । उनले चीन जानुभन्दा जागिरबाटै राजीनामा दिनु राम्रो ठाने र तलबको दुई गुणा आम्दानीलाई चटक्कै छाडे । खासमा भाषा, संस्कृति, धर्म, रहनसहन केही नमिल्ने हुनाले उनी चीनसँग तर्सिएका थिए ।

रबर उद्योगले तालिमका लागि चीन पठाउने बताएपछि त्यहाँ जानुभन्दा त जागिर नै खान्नँ भन्दै राजीनामा दिएका दिनेश कण्ठले अन्तत: चीनलाई नै आफ्नो कार्यथलो बनाए । होटल बिजनेसमा उनले अहिले जुन सफलता हासिल गरेका छन्, त्यस्तो सफलता सम्भवत: अरू कुनै पनि नेपालीले प्राप्त गरेका छैनन् । उनी अहिले विश्वकै ख्यातिप्राप्त अस्ट्रेलियन चेन होटल समूह अज्र्यालको उपाध्यक्ष छन् ।

रबर उद्योग छाडेर उनले याक एन्ड यती होटलमा काम सुरु गरे । पाँचतारे होटलमा उनले अध्ययन गरेको विषय मिल्ने क्षेत्र प्रशस्त थिए । वाटर ट्रिटमेन्ट प्लान्ट (पानी सफा गर्ने विभाग), फुड एन्ड वेभरेज (खाना तथा पेय विभाग), लन्ड्री प्लान्ट (लुगा धुने विभाग) लगायत । त्यतिबेला याक एन्ड यतीमा विदेशी व्यक्ति महाप्रबन्धक थिए । तलब त्यतिबेलै २ हजार अमेरिकी डलर थियो । अनि, अन्य थुप्रै सुविधा पनि । उनी पनि त्यसरी नै पाँचतारे होटलको महाप्रबन्धक बन्न सपना देख्थे । ती विदेशीले एक वर्षमा पाउने तलबजति कमाउन त उनले २० वर्ष काम गर्नुपर्ने । उनले जागिरमा फड्किने विचार गरे र सोल्टी होटलमा जम्प गरे ०४९ देखि ०५२ सम्म ।

त्यतिबेला सोल्टी होटल इन्टरकन्टिनेन्टल समूहमा थियो । इन्टरकन्टिनेन्टल समूहले चीनको एउटा होटलका लागि अन्तर्राष्ट्रिय विज्ञापन आह्वान गरेको रहेछ । उनले त्यसमा आवेदन दिए र छानिए । चीन जानुभन्दा त जागिर नै खाँदिनँ भनेर राजीनामा दिएका उनै दिनेश त्यसको ६ वर्षपछि ०५२ मा चीनको चङचौ सहरमा काम गर्न आए । चीनमा काम थाल्दा नै उनको तलब २ हजार अमेरिकी डलर थियो ।

०५७ मा अमेरिकाको कोलोनलबाट दुईवर्षे महाप्रबन्धकको पढाइ गरे । एक वर्ष अमेरिकामै बसेर पढे भने अर्को वर्ष चीनमा काम गर्दै स्वअध्ययन गरे । केमिकल इन्जिनियर त छँदै थिए, त्यसमाथि उनीसँग महाप्रबन्धकको दुई–दुइटा सर्टिफिकेट भए । उनी ०५९ मा चीनको चङचौबाट हाइनान प्रान्तको हाइखोमा सरुवा भए र सहायक महाप्रबन्धक पदमा बढुवा भए । त्यसपछि उनी विभिन्न ठाउँमा काम गर्दै ०६३ मा साङहाई पुगेर महाप्रबन्धक भए । विश्वभर इन्टरकन्टिनेन्टल समूहमा ५ हजार ५ सय होटल छन् । चीनमा मात्रै हजारभन्दा बढी छन् ।

चीनभरि रहेका इन्टरकन्टिनेन्टल समूहका पाँचतारे होटलका महाप्रबन्धकमा उनी उत्कृष्ट भएर अवार्ड पनि प्राप्त गरे । महाप्रबन्धक भएर उनले चीनकै आधा दर्जनजति होटलमा काम गरिसकेका छन् ।

पहिलो पटक चीनमा काम गर्न आउँदा जे–जति चुनौती भोगे, अहिले सबै कुरा सहज भएको छ । पहिले भाषाको चुनौती थियो । अहिले उनी फरर्र चिनियाँ बोल्छन् । पहिले उनको जिम्मेवारीमा ‘टार्गेट’ कसरी पूरा गर्ने भन्ने चुनौती थियो । पछिल्लो समय उनले जहाँजहाँ होटलको नेतृत्व गरे, त्यहाँ टार्गेटभन्दा बढी उपलब्धि प्राप्त गरे । उनले जहिल्यै आफूमाथिको फराकिलो आकाश हेरे । त्यही आकाशमा आफ्नो फराकिलो भविष्य हेर्दै चुनौती सामना गर्न तयार भए ।

उत्कृष्ट महाप्रबन्धक भएर पुरस्कृत हुनासाथ उनले इन्टरकन्टिनेन्टल समूह छाडेर अर्को चुनौतीलाई स्वीकारेका छन् । अहिले उनी अस्ट्रेलियन चेन होटल अज्र्याल ग्रुपमा प्रवेश गरेका छन् । यसका अहिले चीनमा १ सय ५० होटल छन् । यसमा उनी उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) अर्थात् दोस्रो उच्च तहमा छन् ।

प्रकाशित: श्रावण १६, २०७५