मस्तिष्कमा मंगल, मनमा नेपाल

- नेपाल टिम

लुजेन्द्र ओझा, अमेरिका

१३ वर्षअघि अमेरिका हानिएका लुजेन्द्र ओझा, २८, को परिचय सामान्य आप्रवासी नेपालीमा मात्र सीमित छैन । सिंगो विश्वले उनलाई मंगल ग्रहमा पानीको अवशेष पत्ता लगाउने वैज्ञानिकका रूपमा चिन्छ । नासाका युवा वैज्ञानिक तथा जोन हप्किन्स विश्वविद्यालयमा सबैका प्रिय सहपाठी ओझाले अहिलेसम्म कसैले अनुसन्धान गर्न नसकेको विषयमा सफलता हात पार्छु भनी सायद कहिल्यै सोचेका थिएनन् ।

एरिजोना विश्वविद्यालयको भूविज्ञान संकायमा प्राध्यापन गरिरहेका बुबा भेट्न ६ दिनका लागि मात्र स्कुल छाडी अमेरिका पुगेका लुजेन्द्रलाई अमेरिकी रमझमले तान्यो । एसएलसी मुखैमा थियो । तर, फर्कन मन लागेन । चंगा उडाउने, टुँडिखेलमा क्रिकेट खेल्ने, लोकल म:म: भनेपछि केही नचाहिने उनलाई नेपालको सम्झनाले केही समय नसताएको पनि होइन ।

सुरुमा त उनको मेटल ब्यान्ड पनि थियो । लामो कपाल र दाह्री पालेका, हेर्दै हिप्पीजस्ता अनि पहिलेदेखिको गाउने सोख । उनलाई लाग्थ्यो, एक दिन ठूलै रकस्टार बनूँला । तर, त्यसलाई निरन्तरता दिन भने समर्थ भएनन् ।

पढ्नमा निकै कमजोर ओझालाई ब्रह्माण्डीय पिण्डहरूमा भने सानैदेखि रुचि थियो । “भगवान्मा विश्वास गर्दिनँ, कट्टर नास्तिक । ब्रह्माण्डका सबै तत्त्वको उत्पत्ति भगवान्को देन त पक्कै होइन भन्ने विश्वास पहिलेदेखि थियो । त्यसैले पढाइमा कमजोर हुँदाहुँदै पनि विज्ञान लिएर पढेँ,” उनी भन्छन् । सुरुमा त यस क्षेत्रमा पैसाको छेलोखेलो हुन्छ जस्तो लाग्थ्यो उनलाई । काम गर्दै जाँदा थाहा पाए– ग्रह वैज्ञानिकको आम्दानीले बल्लतल्ल एक जनाको ज्यान पाल्न सकिने रहेछ । भन्छन्, “पैसाको भोक कहिल्यै भएन । मेरो इच्छा त यस क्षेत्रमा दक्षता हासिल गर्नु मात्र थियो ।”

स्नातक तह अध्ययन गर्दा उनको ध्यान कसरी आफूलाई अन्यभन्दा भिन्न तुल्याउने भन्नेमा बढी केन्द्रित हुन्थ्यो । नयाँ केही पत्ता लागोस् भनी उनी रातदिन अनुसन्धान गर्थे । त्यसै क्रममा हाइराइज क्यामेराबारे अध्ययन गर्न पुगे । कृत्रिम उपग्रहमा भूमण्डलीय पिण्ड वरिपरि रहेर त्यहाँ वरपरका तस्बिर र अन्य डाटा लिन सघाउ पुर्‍याउने हाइराइज क्यामेराका विशेषताले उनलाई तान्यो । नभन्दै केही समयमा आफ्नो टोलीसँग मिलेर एक अत्याधुनिक हाइराइज क्यामेरा पनि निर्माण गरे । मंगल ग्रहको कृत्रिम उपग्रहमा त्यस क्यामेरालाई समायोजन गरियो । अहिलेसम्म पनि त्यो क्यामेराले प्रत्येक क्षण त्यहाँ हुने घटनाका तस्बिर पृथ्वीमा पठाइरहन्छ ।

हाइराइजले पठाएका मंगल ग्रहका हजारौँ तस्बिरमध्ये ओझाको आँखा एक दिन यस्तो तस्बिरमा पर्‍यो जसले उनको जीवनको कायापलटै गरिदियो । एकै स्थानका दुई भिन्न समयमा लिइएका तस्बिर, एउटामा सुख्खा जमिन, अर्कोमा हिलो । धूलैधूलोले ढाकेको कम्प्युटरमा यी तस्बिर हेर्दा सुरुमा त त्यो के हो भनी निक्र्योल नै गर्न सकेनन् । “पानी हो कि जस्तो लाग्यो । तर, किटेरै भन्न सक्ने अवस्था थिएन,” उनले आफ्ना दिमागमा त्यतिबेला खेलिरहेका कुरा सुनाए । थप अनुसन्धानपछि थाहा भयो, उनले त इतिहास रचिसकेका रहेछन् । पानीजस्तै आणविक संयोजन भएको तत्त्व पृथ्वीबाट करोडौँ माइल टाढा रहेको मंगल ग्रहमा पनि छ भनी सप्रमाण अगाडि ल्याउने पहिलो वैज्ञानिक बने उनी ।

संयोगैसंयोगमा सबै भयो । थप अध्ययन–अनुसन्धानका बाटा खुले । यसैमा लुजेन्द्र भन्छन्, “मजस्तो सामान्य विद्यार्थीले त यस्तो अकल्पनीय काम गर्न सक्यो । अरूले झन् कसरी नसक्लान् ?”

लुजेन्द्रका दुई सपना छन्– यसै क्षेत्रमा अध्ययन गर्न निरन्तरता दिइरहने र नेपालको सुदूरपश्चिमका विद्यार्थीलाई ग्रह विज्ञान पढाउने । नेपालका गल्ली–गल्ली, डाँडाकाँडाबाट वैज्ञानिक जन्मन सक्ने धारणा उनको छ । यिनै वैज्ञानिकको खोजमा उनी अर्को वर्षदेखि लागिपर्ने सुरमा छन् ।

 

 

प्रकाशित: श्रावण १६, २०७५