कानुनका सौर्य

- नेपाल टिम

सूर्य सुवेदी, बेलायत

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे, उपसचिव पदमा पुगे, सर्वोच्च अदालतका अधिवक्ता थिए, तैपनि सूर्य सुवेदी, ६१, मा कानुनी ज्ञानको प्यास मेटिएको थिएन । त्यही बेला ब्रिटिस काउन्सिलबाट कानुनमा स्नातकोत्तर गर्ने छात्रवृत्ति पाए । त्यो पनि अरु होइन, बेलायतको प्रख्यात युनिभर्सिटी अफ हुलमा । परदेशमा पढ्दा अनेक हन्डर आइलागे तर लगनशीलताको सामु कसको के लाग्छ, सन् १९८८ मा विशिष्ट श्रेणीमा विश्वविद्यालयकै प्रथम भए । लगत्तै जोसेफिन ओनो पुरस्कारबाट विभूषित भए । यहीँबाट सुरु भयो, अन्तर्राष्ट्रिय कानुनमा सुवेदीको छलाङ । उपलब्धिको चाङ यति अग्लो छ कि विश्वले उनीप्रति गौरव गर्छ ।

लमजुङको खुदीको सामान्य परिवारमा पाँचमध्ये कान्छो पुत्रका रूपमा जन्मिएका थिए, सूर्य । घरमा सबै संस्कृत पढ्थे, उनी पनि नजिककै महेन्द्र प्रधान संस्कृत पाठशालामा पढ्न थाले । तिनताका एबीसीडी भट्याउनु मात्र पनि पाप ठानिन्थ्यो । उनका हजुरबुबा अंग्रेजी पढेपछि मुख कुल्ला गर्नुपर्छ भन्थे । सुवेदीले एबीसीडी जानेकै आठ कक्षा पुगेपछि मात्र हो । जसोतसो लमजुङबाट एलएलसी गरे । र, काठमाडौँ हानिए । उद्देश्य थियो, साइन्स पढेर वैज्ञानिक बन्ने । तर, परिवन्दले कानुन पढ्नुपर्‍यो ।

संसारकै सर्वोत्कृष्ट अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली हुन्, सुवेदी । अक्सफोर्डमा उनको विद्यावारिधि शोधग्रन्थ उत्कृष्ट ठहरियो र दास्तुरजादा पाभ्री मेमोरियल पुरस्कारबाट सम्मानित भए । सन् १९९२ बाट प्राध्यापन सुरु गरे, आफैँले पढेको हुल विश्वविद्यालयबाट । ६ वर्षमै प्राध्यापक भए । लन्डन विश्वविद्यालय र युनिभर्सिटी अफ लिड्समा पनि पूर्णकालीन प्राध्यापकका रूपमा काम गरे । संसारका ७८ देशमा प्रवचन दिइसकेका छन् । १२ मुलुकमा अन्तर्राष्ट्रिय कानुनसम्बन्धी औपचारिक सल्लाहकार बने । आठ अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रकाशित छन् । मानव अधिकार सम्बन्धी पछिल्लो कृति बेलायतस्थित बहुराष्ट्रिय प्रकाशन गृह रूटलेजले छापेको थियो ।

सुवेदीले बेलायतका उत्कृष्ट विद्वान्हरूलाई महारानीबाट प्रदान गरिने बेलायती साम्राज्यको मानार्थ अधिकृत र स्वाध्ययन गरी बेलायतको ब्यारिस्टरको उपाधि हासिल गरिसकेका छन् । लन्डन विश्वविद्यालयको सर्वोच्च नीति निर्णायक निकायमा ५ वर्ष काम गरेपछि उनलाई बेलायतका परराष्ट्रमन्त्रीले ५ वर्षका लागि मानव अधिकार कानुनको सल्लाहकारका रूपमा नियुक्त गरेका थिए । यसबीच सन् २००९ देखि ६ वर्षसम्म संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धी विशेष दूतका रूपमा कम्बोडियामा काम गरे । ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको यही उत्कृष्ट योगदानको मूल्यांकन गर्दै संसारको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुनी प्रज्ञा प्रतिष्ठानले सुवेदीलाई गत वर्ष पूर्ण स्थायी प्राज्ञको रूपमा निर्वाचित गर्‍यो ।

सुवेदीको नेपाल र नेपालीप्रतिको प्रेम उत्तिकै अमिट छ । बेलायतमा ब्रिटेन नेपाल प्राज्ञिक परिषद् गठन गरी १० वर्ष संस्थापक अध्यक्ष बने । गत वर्षदेखि ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्षको भूमिकामा छन् । बेलायतको सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रस्टको सहअध्यक्षका रूपमा पनि सेवा गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)को संस्थापन पत्र उनैले तयार पारेका थिए । एनआरएनको प्रमुख सल्लाहकार, केन्द्रीय संरक्षक परिषद्मा समेत बसिसकेका सुवेदीले एनआरएन बेलायतको प्रमुख संरक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् । सुवेदीका अनुसार उनले राजा वीरेन्द्र र ज्ञानेन्द्रका अतिरिक्त बहुदलीय व्यवस्था स्थापनापछिका प्राय: सबै प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय कानुनी र संवैधानिक विषयमा सल्लाह दिएका छन् ।

नेपालको दुर्गम भेगको सामान्य परिवारमा जन्मिएको नेपालीले कानुनी क्षेत्रमा संसारलाई चकित र लाभान्वित तुल्याउने सफलता हासिल गर्नु आफैँमा चमत्कार हो । यसलाई सुवेदी कडा मिहिनेत, इमानदारिता, लगनशीलता, निष्ठा अनि भगवान् र आफ्ना पितृको आशीर्वादको फल ठान्छन् । “अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, विश्वव्यापीवाद र सबै मानवलाई समान गर्नुपर्छ भन्ने सोच मेरा सफलताका भित्री कारण हुन्,” अनलाइन कुराकानीमा यी प्राध्यापकले भने, “मेरो कर्ममार्फत नेपालीका रूपमा नेपालको झन्डा सकेसम्म संसारको अग्लो ठाउँमा फहराउन चाहन्छु ।”

प्रकाशित: श्रावण १६, २०७५