स्टार अर्थशास्त्री

- नेपाल टिम

पराग पाठक, अमेरिका

वैशाख दोस्रो साता एकाएक चर्चामा आए, पराग पाठक, ३७, । नेपाली माझ मात्र होइन, विश्वभरबाटै एक खालको ध्यान तानियो उनीतिर । पाठकले चुमेको सफलता थियो नै त्यस्तै । यी अर्थशास्त्रीले ‘मिनी नोबेल’ का रूपमा परिचित ‘जोन बेट्स क्लार्क मेडल–२०१८’ पाए । आर्थिक विचार र ज्ञान निर्माणमा महत्त्वपूर्ण भूमिका पुर्‍याउने युवा अर्थशास्त्रीलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ । अमेरिकन इकोनोमिक एसोसिएसनका अनुसार अनुसन्धानको माध्यमबाट बजार डिजाइन र शिक्षा क्षेत्रको योगदानका कारण उनी त्यसको हकदार थिए ।

त्यसो त अहिलेसम्म पाठकको उपलब्धि क्लार्कमा मात्र सीमित छैन । स्टार अर्थशास्त्रीका रूपमा अमेरिकामा लोभलाग्दो पहिचान बनाएका पाठकले अर्थशास्त्रको व्यावहारिक र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । यसले नेपालीको शिर ठाडो बनाएकै छ । क्लार्क मेडल जित्नासाथ नेपाली मूलका पाठकले नेपालसँगको कुराकानीमा भनेका थिए, “यो अवार्डले नेपाल र नेपालीमा यति धेरै खुसी छाउला भन्ने सोचेकै थिइनँ । संसारभरका नेपालीबाट पाएको माया र स्नेहले धन्य छु ।”

सन् ७० को दशकतिर अमेरिका गएका चिकित्सक बुबा कमल पाठक र गृहविज्ञानविज्ञ आमा ज्योति पाण्डेयका पुत्रका रूपमा उनी त्यतै जन्मे । न्युयोर्कको कोर्निङमा हाइस्कुल सके । त्यसपछि नै हो, अर्थशास्त्रप्रति उनको रुचि बढेको । कारण, यस्तो रहेछ, “अर्थशास्त्रमा सामाजिक र सार्वजनिक विषयमा केन्द्रित हुन गहन गणित र विज्ञानको मिश्रण हुन्छ भन्ने थाहा पाएपछि अन्त मनै डुलेन ।” परिवार शिक्षित भएकाले उनले रोजेको पढ्न पाए । नत्र त हावर्ड विश्वविद्यालयमा पढ्ने अवसर कसरी जुथ्र्यो र ?

उनले स्नातक र स्नातकोत्तर मात्र होइन, २७ वर्षमै पीएचडी पनि हावर्डबाटै सके । पीएचडीको विषय थियो, बिजनेस इकोनोमिक्स । उनका पीएचडी एड्भाइजर थिए, सन् २०१२ मा नोबेल पुरस्कार जितेका एल्भिन ई. रुथ । त्यसपछि पाठकको प्रगतिको पाइलाले गति लिन थालिहाल्यो ।

जस्तो : सन् २००८ मा उनले बोस्टनस्थित म्यास्चुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमटीआई) मा प्रवेश गरे । अहिले एमआईटीमा सूक्ष्म अर्थशास्त्रका प्राध्यापक छन् । ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसीले पाठकलाई सन् २०१२ मा ‘प्रेसिडेन्सल अर्ली करिअर फर साइन्टिस्ट एन्ड इन्जिनियर’ सम्मान प्रदान गर्‍यो । सन् २०१४ उनका लागि निकै विशेष रह्यो ।

कारण, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ४५ वर्षमुनिका विश्वका उत्कृष्ट २५ अर्थशास्त्रीको सूचीमा छानिए । त्यतिबेला आईएमएफले भनेको थियो, भविष्यमा अर्थशास्त्रलाई आकार दिन सक्ने अर्थशास्त्री । सन् २०१६ मा सोसल च्वाइस एन्ड वेलफेयर प्राइज पाए । त्यही वर्ष इक्नमेट्रिक सोसाइटीको फेलोका रूपमा चुनिए । शिक्षा, मानव पुँजी र आय वितरणमा केन्द्रित एमआईटीस्थित स्कुल इफेक्टिभनेस एन्ड इनक्वालिटी इनिसिएटिभका संस्थापक पनि हुन् । छोटै समयमै उनले अनेकौँ प्रतिष्ठित पुरस्कार र सम्मान पाएका छन् ।

अर्थशास्त्रको क्षेत्रमा पाठक किन पनि विशेष मानिन्छन् भने गणित र तथ्यांकलाई सामाजिक अध्ययन र सार्वजनिक नीतिसँग जोडेर रिसर्च गर्दैनन् मात्र, वास्तविक संसारमा उपयोगी हुने संयन्त्र नै बनाउँछन् । जस्तो : उनका हाइस्कुल शिक्षा सुधार सम्बन्धी अनुसन्धानले विद्यालयको सही छनोटले विद्यार्थीको कार्य सम्पादनमा सुधार ल्याउने सुझाव दिन्छ । सोही आधारमा ‘बोस्टन स्कुल कमिटी’ ले नयाँ संयन्त्र अवलम्बन गर्‍यो । यति मात्र होइन, सिकागो, डेनवर, न्युयोर्क र वासिङ्टन डिसीका विद्यालय छनोट प्रणाली सम्बन्धी डिजाइनमा समेत उनको प्रभावकारी भूमिका रह्यो । जसका कारण अमेरिकाका सार्वजनिक विद्यालयका १० लाखभन्दा बढी विद्यार्थीको जीवनमा परिवर्तन ल्याएको अनुमान छ । भन्छन्, “मेरा अनुसन्धान नेपालजस्तो विकासोन्मुख देशका लागि प्रत्यक्ष उपयोगी नहोला । तर, नेपालले आर्थिक विकासका लागि शिक्षाको प्रवद्र्धन र पहुँच बिस्तारमा ध्यान दिनुपर्छ ।”

अमेरिकामै जन्मे–हुर्के पनि पाठक नेपाली बोल्न सक्छन् । लेखपढमा चाहिँ मुस्किल पर्छ । व्यस्तताका बाबजुद बेलाबेला नेपाल आइरहन्छन् । कुनाकन्दरा पुग्छन् । रमाउँछन् । अर्थशास्त्रको प्राज्ञिक क्षेत्रमा उनीजति प्रसिद्धि सायदै नेपाली मूलका अरू कसैले पाएका छन् । जटिल मानिने ‘गेम थ्योरी’ उनको विज्ञताको अर्को क्षेत्र हो । ईमेल कुराकानीमा परागले भने, “स्रोत–साधन जुटाउन सक्ने ठाउँमा पुगेँ भने नेपालको शिक्षा प्रणाली विकासमा सघाउँछु ।” र, अर्थशास्त्रको क्षेत्रमा अहिलेदेखि नै परिचर्चा हुन थालेको छ, के कुनै दिन उनले नोबेल पुरस्कार पाउलान् ? किनभने, विगतमा क्लार्क मेडलबाट सम्मानित अधिकांशले नोबेल चुमेका छन् ।

प्रकाशित: श्रावण १६, २०७५