नेपाली एआई विश्वमै उत्कृष्ट

- विभु लुइटेल

तीन नेपाली एआई प्रोग्रामरले बनाएको ई–एग्रोभेट नामक एप्लिकेसन अमेरिकाको सियाटलमा आयोजित माइक्रोसफ्ट इमेजिन कपको एआई वर्गमा उत्कृष्ट ठहरिएको छ । पहिलो चरणमा दक्षिण एसियाका उत्कृष्ट दुई टोलीमा नेपाल र श्रीलंका परे । त्यसपछि मलेसियाको क्वालालम्पुरमा आयोजित एसिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट सातमा पर्दै सियाटल पुगेको नेपाली टोली ‘सोचवेयर’ को एप्लिकेसनले 

१५ हजार अमेरिकी डलर जित्यो ।

ई–एग्रोभेट एप्लिकेसन प्रयोग गरी किसानले बालीमा लागेका रोग मोबाइलको माध्यमबाट पत्ता लगाउन र उपयुक्त समाधान मोबाइलमै प्राप्त गर्न सक्छन् । एप्लिकेसनबाट बोटबिरुवाका फोटो खिचेर सर्भरमा अपलोड गरे रोगव्याधि पत्ता लाग्छ । यसका लागि एकै रोगका सयौँ प्रकारका तस्बिर खिची सर्भरमा छिट्टै अपलोड गर्ने र सकेसम्म रोग नियन्त्रण गर्न प्राकृतिक विकल्पकै सुझाव दिने टिमका शिशिर श्रेष्ठ बताउँछन् । 

स्थानीय कृषि निकाय र सरकारसँग पनि उनीहरुले सहयोगका लागि अपिल गरिरहेका छन् । केही कमीकमजोरीका कारण अघिल्लो वर्ष छनोट चरणबाटै बाहिरिएपछि यो एप्लिकेसन धेरै पटक परिमार्जन गरिएको बताउँछन्, टिमका अर्का सदस्य मिलन थापा । बेटा टेस्टिङ फेजमा रहेको यो प्रविधि परिस्कृत बनाउन अधिक मिहिनेत परेको उनले सुनाए । 

सूचना–प्रविधिका क्षेत्रमा नेपाल निकै पछाडि रहेको प्रतिक्रिया सुन्दासुन्दै पनि एआईको यस्तो पुरस्कार जित्दा टिमका सबै भावविह्वल भएको सुनाउँछिन्, टिमकी ईडा रिजाल । सबै किसानका हातहातमा स्मार्टफोन नहुनु नै यस प्रविधिको मुख्य चुनौती हो । उनीहरु भन्छन्, “सरकारबाट पर्याप्त सहयोग प्राप्त भए किसानलाई छिट्टै स्मार्टफोन बाँड्न थाल्ने लक्ष्य राखेका छौँ ।”

प्रकाशित: श्रावण १६, २०७५