[तीन किताब] फराकिलो फ्रेम

- आदित्य अधिकारी

दर्शन, सिद्धान्त, आख्यान, राजनीतिक इतिहास पढिरहेको  हुन्छु एकसाथ । माक्र्सवादी नभए पनि मलाई समाज बुझ्न वर्ग–सिद्धान्त उपयोगी लाग्छ । पहिले पहिले भीएस नयपाल पढ्दा आफ्नै समाज पढेको अनुभव हुन्थ्यो । हाम्रैजस्तो समाजको लेखकले पनि विश्वमाथि लेख्न सक्ने रहेछ भन्ने लाग्थ्यो ।

एन्ट्स एमोङ् एलिफेन्ट पछिल्लो समय मन परेको किताब हो । दलित–परिवारको तीनपुस्ते अनुभव छ यसमा । प्राय: गैरदलित लेखकको किताबमा दलितलाई ‘विचरा’ चित्रण गरिएको हुन्छ । सुजथा गिड्लाको किताब भने राजनीतिक जार्गनको सट्टा आफ्नै परिवारको अनुभवबाट खारिएको छ । दक्षिण एसियामा वर्ग–वर्णको समस्या बुझ्न यो पुस्तक सहयोगी हुन सक्छ । गैरदलितले सायद यस्तो किताब लेख्नै सक्दैनन् । आन्ध्र प्रदेशको दलित परिवारमा जन्मिएकी लेखिकाका काका माओवादी नेता भएकाले त्यहाँको दलित र माओवादीको सम्बन्ध बुझ्न यस किताबले सघाउँछ ।

गिड्लाको परिवार हजुरबा–हजुरआमाका पालामा क्रिस्चियन भएकाले उनले गतिलो शिक्षा पाइन् । लेखिका आफैँचाहिँ माक्र्सवादी भइन् । लेखिकाकै जीवनयात्रा हेर्दा नेपाली समुदायका दलित र तामाङहरु क्रिस्तानी बन्नुका कारण पहिल्याउन सक्छौँ । हिन्दु धर्मभित्रको छुवाछूतभन्दा क्रिस्चियानिटीले दिने ‘भगवान्सामु सबै एकै हौँ’ भन्ने कुराले तिनलाई प्रभाव पारेको हुन सक्छ । मैले भारतबाट यो किताब ५–६ वटा ल्याएर साथीहरुलाई उपहार दिएँ । यसमा उपन्यासकै स्वाद छ ।

दुई–चार वर्षदेखि म हाना अरेन्ड्टलाई विशेष रुपमा पढिरहेको छु । उनी विश्वयुद्धका बेला नाजीहरुद्वारा लखेटिएर फ्रान्स हुँदै भागेर अमेरिका पुगेका दार्शनिक हुन् । जर्मन जु अरेन्ड्टले फासीवाद र राजनीतिक दर्शनबारे लेखेका छन् । माओवादी आन्दोलनताका मैले उनलाई धेरै पढेँ । कस्तो समाजमा क्रान्ति हुन्छ भनेर बुझ्न पनि मैले उनलाई धेरै पछ्याएको थिएँ । माओवादी युद्धका बेला मैले अन रिभोलुसन पढेँ । शान्ति प्रक्रियापछि संक्रमणकालीन न्यायका सन्दर्भमा पनि अरेन्टलाई पढेँ । आन्दोलनका बेला हुने हिंसालाई अपराधका रुपमा मात्र हेर्न मिल्दैन ।

माओवादी सम्बन्धी किताब लेखिरहेका बेला मैले कुनै पसलमा अचानक अन रिभोलुसन देखेर किनेँ । र, यी लेखकलाई निरन्तर पछ्याएँ । माओवादी कालमा पार्टी साहित्य खुब पढियो । माओवादी पक्षीय उपन्यास/संस्मरण खोजीखोजी पढेँ । पार्टी साहित्यमा सबैभन्दा मन परेको किताब थियो– गंगाबहादुर लामाको संस्मरण । अचेल किनेर ल्याए पनि नेपाली उपन्यास कमै मात्रामा पढेको छु ।

नेपालमा पछिल्लो समय राम्रा गैरआख्यान आइरहेका छन् । समाज र राजनीतिलाई लिएर मानिसहरु प्रश्न गरिरहेका छन् । प्रश्न उठाउने माहोल निर्माणका लागि ०४६ को जनआन्दोलन र माओवादी विद्रोहको भूमिका छ । खुला बजारका कारण विदेश जानेहरुले नेपाल र विदेशका राजनीतिक प्रणालीबीच तुलना गरेर पनि प्रश्न गर्ने मोडसम्म आइपुग्यौँ ।

मलाई जर्मनहरुले लेखेका उपन्यास मन पर्छन् । युरोपले भोगिरहेको शरणार्थी संकटबारे जेनी अर्पेनबेकको गो वेन्ट गन निकै समकालीन छ । उपन्यासमा अफ्रिकीहरु जर्मनी पुगेपछि त्यहाँको राज्यले कसरी व्यवहार गर्छ भन्ने प्रकाश पारिएको छ । धेरैजसो राजनीतिक उपन्यासमा समकालीन घटना हुन्छन्, पार्टी लाइन आउँछन् । र, ती साँघुरो निश्चित वादबाट निर्देशित हुन्छन् । जेनीको उपन्यासचाहिँ अलि फराकिलो फ्रेमबाट हेरिएकाले मौलिक लाग्यो ।

प्रगतिशील विश्वदृष्टिको प्रभाव पाइए पनि शिल्पका हिसाबले चुस्त छ उपन्यास । उपन्यासकार नील मुखर्जीले एक अन्तर्वार्तामा भनेका छन्, ‘सय वर्षपछि पनि पढिने समकालीन लेखक जेनी अर्पेनबेक हुन् ।’

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण १५, २०७५

ट्याग: किताब