‘महिला प्रधानमन्त्री किन नहुने ?’

- मनबहादुर बस्नेत

सिंहदरबारको दोस्रो संस्करण किन ?

सुशासनमा देखिएका संकटहरुलाई राजनीतिले सम्बोधन गर्नुपर्छ भनेर दोस्रो संस्करण चाहिएको हो ।

महिला प्रधानमन्त्रीलाई मूल पात्र बनाउनुको कारण ?

यसले मनोवैज्ञानिक अर्थ राख्छ । डेनमार्कमा महिला प्रधानमन्त्रीलाई केन्द्रित गरेर बोर्गेन टेलिफिल्म बनाइयो । चौथो वर्षमा त्यहाँ महिला प्रधानमन्त्री चुनिइन् । अमेरिकामा काला जातिबाट राष्ट्रपति भएको टेलिशृंखला बन्यो । पछि बाराक ओबामा उक्त समुदायबाट राष्ट्रपति बने ।

भनेपछि नेपालले अब महिला प्रधानमन्त्री पाउने आशा गर्न सकिन्छ ?

सकिन्छ । महिलाले गर्न सक्दैनन् भन्ने सोचलाई सिंहदरबारले भत्काउने प्रयत्न गरेको छ । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला भइसकेका छन् भने प्रधानमन्त्री किन नहुने ?

सिंहदरबारमा निर्देशक फेरिए तर कलाकार फेरिएनन् किन ?

धेरै नफेरिए पनि केही नयाँ लिएका छौँ । हामी अहिले स्थानीय सरकार, शक्ति विकेन्द्रीकरणका कुरा गरिरहेका छौँ । त्यसैले कलाकारसमेत सोही अनुसार मिलाएका छौँ । कपिलवस्तु, नेपालगन्ज, लमजुङ, ओखलढुंगाको कुरा आउँदा त्यही समुदाय, भूगोल र संस्कृतिमा भिजेका स्थानीय कलाकारलाई लिएका छौँ ।

समावेशी बनाउने नामले कलाको क्षमतालाई मार्दैन ?

यो त दृष्टिकोणको कुरा हो । पहिले त उसले ठाउँ पाउनुपर्‍यो । त्यसपछि मात्र क्षमता भए/नभएको थाहा हुन्छ । चिनियाँको भूमिकामा चिनियाँलाई नै दिँदा गोराको भूमिका खोसिएको हो कि होइन ? हलिउडमा पनि बहस छ । चौधरीको भूमिका छ भने क्षमता भएको इतर समुदायको पात्र ल्याउनु राम्रो कि त्यहीँको चौधरीलाई दिँदा जीवन्त हुन्छ ? एउटालाई दिँदा अर्कोको भूमिका खोसिन्छ भन्ने नै रंगभेदी सोच हो ।

समावेशी कलाकार छान्दा टेलिफिल्ममा के असर पर्छ ?

समग्र नेपाली फिल्म जगत्लाई हेर्दा नै थाहा हुन्छ, दयाहाङ राई, रवीन्द्र झाहरू आउँदा नयाँ स्वाद, आयाम पाइयो । विविधता भित्रियो । यो त सबैको पहुँच बनाउने कुरा हो । यसले कलाको सौन्दर्य बढाउँछ ।

दाताको सहयोग र व्यापारिक लगानीमा फिल्म/टेलिफिल्म बनाउँदा केही फरक हुने रहेछ ?

बजारसँगभन्दा दातृ निकायसँग काम गर्दा बढी स्वतन्त्र अनुभव भयो । बजारको आफ्नै सीमितता हुन्छ ।  

प्रकाशित: श्रावण १४, २०७५