म निशा

- कुमार नगरकोटी

क्याफे कुनै साधुको मनझैँ मौन थियो, साध्वीको हृदयझैँ शान्त ।

अगस्तको सोह्रौँ साँझ बर्खामा रुझेर भर्खरै मात्र ओभानो भएको प्रतीत हुन्थ्यो । अस्ताचल–ग्राहकहरु क्याफेमा अझै आइसकेका थिएनन् । कर्नरको टेबलमा एक मात्र लेडी ग्राहक बडो एकाग्र चित्तका साथ कुनै अघोरी लेखकको उपन्यास मिस्टिका  पढिरहेकी थिई ।

ऊ स्वयं मिस्टिका थिई । तर, मानिसहरु उसलाई मनीषा कोइरालाको औपचारिक नामले बढी चिन्थे । एक चर्चित अभिनेत्री । यद्यपि, सानो छँदा पितामह विश्वेश्वरप्रसाद कोइरालाले ‘तिमी को हौ’ भनी सोध्दा तोतेबोलीमा ऊ भन्ने गर्थी– ‘म, निशा !’ 

पितामहलाई उसले ‘म, निशा’ भनेको सुन्न खुब मन पथ्र्यो । किन्तु, अब त त्यो इतिहासको किस्सा अनि अतीतको हिस्सा भइसकेको थियो । बच्चामा ‘म, निशा’ भनी सम्बोधन गर्ने मनीषा अधबैंसे स्त्री भइसकेकी थिई । काम, दाम र नामको सांसारिक घनचक्करबाट मुक्त हुने प्रयास गरिरहेकी ऊ अब रामको खोजमा थिई । पीडा र यातनाका क्यान्सरकालीन यामहरुलाई अलबिदा/सायोनारा गरी जीवनको तीर्थधाम पर्खिरहेकी थिई ।

‘एक्स्क्युज मी, योर हाइनेस’ भन्दै एक वेटर ऊसामु देखापर्‍यो । नाइन्टिन फोर्टी टु: लभ स्टोरी अंकित टी–सर्ट लगाएको अनि रंगीचंगी कागजको स्तुपा आकारको ह्याट लगाएको । सौम्य मुद्रामा भन्यो,

“म्याम ! चिया–कफी, जुस–लस्सी केही अर्डर गर्नुहुन्छ कि !”

– अ कप अफ टियर्स प्लिज !’

– स्योर म्याम । एज यू विस !

झ्यालबाट एक झोक्का बतास भित्र छिर्‍यो । बताससितै निदा फाजलीका शब्द मनीषाका काँध हुँदै हृदय प्रवेश गर्‍यो । र, हृदयमा जगजित सिंहको भेलभेट भ्वाइस गुञ्जिन थाल्यो,

‘अपनी मर्जी से कहाँ अपने सफर के हम है, रुख हवाओंका जिधर का है, उधर के हम है ।’ मनीषाको मनप्रिय गीत अनायास उसका ओठमा चलमलाए ।

– योर टियर्स, म्याम ! –वेटर्स कति ढिला आएछ ?

टेबलमा चाँदीको किस्ती थियो र किस्तीमा थियो, अ कप अफ टियर्स । आँसु ज्यादै सङ्लो थियो । मनीषाले भनी, “यो कसको आँसु हो ?” “तपाईंकै आँसु हो, म्याम !” वेटरले भन्यो । उसले थप्यो, “तपार्इंका आँसुलाई मैले सम्हालेर राख्या छु म्याम । तपार्इंले दु:ख र हर्षका क्षणमा चुहाएका सबै आँसुलाई मैले संग्रह गरेर राख्या छु ।” वेटरको कुरा सुनी मनीषा हर्षविभोर भई र भनी, “थ्याङ्क यु सो मच !”

वेटर फर्किगयो । मनीषाले काँचको गिलासमा केही बेर आफनो आँसु हेरी । ती आँसु जीवनयात्रामा कहाँ–कहाँ छचल्किएका थिए ? यस्तैमा वेटरले बिर्सेर छाडिगएको किस्तीमा उसको नजर पर्‍यो । त्यहाँ एउटा पोस्टकार्ड थियो, ज्यादै पुरानो । उसले पोस्टकार्ड हातमा लिई ओल्टाई–पल्टाई हेरी । त्यसमा लेखिएका अक्षरहरुलाई नियालेर हेरी । ती किरिङमिरिङ अक्षर उसका आफ्नै थिए ।

सन् १८८० । तिनताका ऊ हजुरआमासितै वाराणसीमा बस्थी । वसन्तकन्या महाविद्यालयमा पढ्थी । अगस्त १६ मा साँझ पोस्टकार्डमा उसले आफैँलाई सम्बोधन गरी पत्र लेखेकी थिई । र, अर्को दिन बिहानै गल्लीको पत्र–मञ्जुषामा खसालेकी थिई । आज ३८ वर्षपछि त्यो पोस्टकार्ड आइपुगेको थियो, चाँदीको किस्तीमा । अठ्चालीसौं जन्मदिनमा ।

पोस्टकार्डमा लेखिएको थियो :

प्रिय मनीषा !

आज १० पूरा गरेर ११ वर्षमा पाइला टेकेँ । पाइला त टेकेँ तर जीवनको यात्रा र लक्ष्य के हो ? थाहा छैन । मलाई ‘तिमी को हौ’ भनी सोध्ने बीपी हजुरबा बितेको पनि दुई वर्ष भयो । उहाँको याद आइरहन्छ । जन्मदिनको केक एक्लै खाएँ । उहाँको तस्बिरमुनि एक टुक्रा केक राखिदिएँ । यो पोस्टकार्ड म तिमी अर्थात् आफ्नै भविष्यलाई पठाउँदै छु । यो प्राप्त गर्ने बेलासम्म तिमी सायद बूढी भैसकेकी हुनेछौ । अरु के लेखुँ ! हरेक दिन तिम्रो जन्मदिन होओस् । प्रत्येक दिन तिम्रो नयाँ जन्म होओस् ।

सदा तिम्रो,

म, निशा !

पत्र पढेर मनीषाका आँखा अश्रुपूर्ण भए । वेटरले आँसुको गिलास उठाउँदै भन्यो, “तपार्इंलाई जन्मदिन मुवारक र यो आँसु मलाई मुवारक, चियर्स !” लगत्तै एकै घुटमा आँसु पियो । मनीषाले अचम्म मानी । उसलाई एकनासले हेरी र अन्त्यमा सोधी, “तिमी वास्तवमा को हौ ?” वेटरले मुस्कुराउँदै भन्यो :

– म जिन्दगी हुँ । अनि तपाईं ?

– म, निशा !

त्यो दिन मनीषाले जिन्दगीसित आफ्नो जन्मदिन मनाई ।

प्रकाशित: श्रावण १४, २०७५

ट्याग: पर्सोनाज