औसत माथिको लभ स्टोरी [फिल्म समीक्षा : रोमियो एन्ड मुना]

फिल्म : रोमियो एन्ड मुना | रेटिङ : ३/५

- गोकर्ण गौतम

रोमियो एन्ड जुलियट पश्चिमा समाजको अमर प्रेमकथा । मुनामदन हाम्रो आदर्श प्रेमजोडी । निर्देशक नरेशकुमार केसीले रोमियो एन्ड जुलियटबाट रोमियो अनि मुनामदनबाट मुना लिएर रोमियो एन्ड मुना बनाएका छन् । अर्थात्, फरक परिवेशका दुई महान प्रेमी–प्रेमिकालाई एउटै मालामा उनिएको छ । हामीकहाँ पर्दामा देखाइने प्रेम दर्शकसम्म प्रवाह गर्ने फिल्मको खडेरी छ । रोमियो एन्ड मुनाले त्यसको क्रमभंग गर्छ त ? सवाल स्वाभाविक थियो । फिल्म हेरेपछि लाग्छ, पूर्ण सन्तुष्ट नबनाए पनि यसले प्यासचाहिँ मेटाउँछ । कथा भन्ने शैली रोचक छ । नेपाली फिल्ममा सम्भवत: पहिलो पटक कम्प्युटर जेनेरेटेड इम्याजिनरी (सीजीआई) देख्न पाइन्छ । सृष्टि श्रेष्ठ उत्तिकै बुलन्द लाग्छिन् । परम्परागत सूत्रलाई हुबहु शिरोधार्य गरिएको छैन । यति हुँदाहुँदै पनि रोमियो एन्ड मुना दीर्घकालसम्म सम्झिने प्रेमकथा होइन । पटकथा चुस्त छैन । मुनाझैँ अन्य पात्र बलिया छैनन् ।

अमेरिकामा बस्ने वेद (विनय श्रेष्ठ) नेपाल आउनुको एउटै कारण हो, धरान पुगेर आमाले विवाहका लागि भनेको केटीसँग भेट्नु । तर, संयोगले उसको भेट हुन्छ, फाइन आर्टस् पढ्न गाउँबाट धरान आएकी मुना (सृष्टि) सँग । वेदलाई धनी हुनुको खुब घमन्ड छ । मुना स्वाभिमानी र जिद्दी छिन् । यी दुईको पहिलो भेट नै नमीठो हुन्छ । झगडा परिरहन्छ । तनाव बढ्दै जाँदा उनीहरूबीच अनौठो तर प्रतिशोधपूर्ण बाजी पर्छ । त्यसपछि उनीहरूको सम्बन्धमा आउने उतारचढावमा केन्द्रित छ फिल्म ।

प्रेमलाई कसैको जीवनमा परिवर्तन ल्याउने गतिलो हतियार मानिन्छ । प्राय: प्रेमले सत्मार्गमा डोर्‍याउँछ । आफूलाई भित्रैबाट चिन्न मद्दत गर्छ । प्रेमको यही आधारभूत मान्यतालाई आत्मसात् गरिएको छ, रोमियो एन्ड मुनामा । त्यसका लागि पटकथाकारसमेत रहेका निर्देशक केसीले विपरीत स्वभावका पात्रको सहारा लिएका छन् । वेद, जसले केटीलाई यौनको नजरले मात्र हेर्छ । पैसाले सबथोक किन्न सकिन्छ भन्ने घमण्ड छ । मुना, जो ‘इगो’ र रिसकी भकारी हुन् । तर, प्रेम हुन थालेपछि सबथोक बदलिन्छ– सोचाइ, बुझाइ र व्यवहार । यसलाई फिल्मको सशक्त पाटो मान्नुपर्छ । तर, बाजी विश्वसनीय नहुनु विडम्बना हो । दुई पात्रबीच चरम तनाव र सोही अनुरूपको परिस्थितिजन्य माहोल बनाउन नसक्नुको परिणाम हो यो ।

निर्देशक केसीको पहिलो फिल्म डाइङ क्यान्डलभन्दा रोमियो एन्ड मुना बिल्कुलै भिन्न छ । दिदी–भाइको कथा कहने डाइङ क्यान्डल पूर्ण कलात्मक थियो । रोमियो एन्ड मुनाचाहिँ एक हिसाबले ‘पपकर्न’ मार्काको फिल्म हो । यद्यपि, यसमा कलालाई पनि उत्तिकै महत्त्व दिइएको छ । जस्तो, मुनाको आन्तरिक द्वन्द्वलाई पस्कन ग्राफिक्सबाट बनाइएको राक्षसको सुन्दर प्रयोग गरिएको छ । यो नेपाली फिल्मका नियमित दर्शकका लागि सरप्राइज हो नै, सँगै यसलाई गहकिलो विम्बका रूपमा प्रयोग गर्नु सुखद पक्ष हो । यसको भीएफएस ‘पर्फेक्ट’ नभए पनि प्रयास सराहनीय मान्न सकिन्छ । झुसिलकीराबाट पुतली बन्ने, खुट्टा र जुत्तावाला संवाद, मुनाको बाबुसँगको सम्बन्ध प्रिय लाग्छ । तर, सोही अनुपातमा वेदको चरित्र बलियो छैन । मुख्य कुरा त, उनी बाजीका लागि धरानमै अल्झिएको पत्याउन मुस्किल पर्छ । जीवनमा खास उद्देश्य पनि छैन । आमाबाबुको प्रयोग क्लिसे लाग्छ ।

मध्यान्तरसम्म फिल्मले एक खालको गति पक्डेको छ । कथा र घटनाक्रम विकास भइरहन्छन् । केही हास्य दृश्य र संवाद पनि छन् । तर, मध्यान्तरपछि ‘स्लो’ छ । पात्रलाई स्थापित गर्ने चक्करमा निर्देशकले उही प्रकृतिका दृश्य समेटेका छन् । सम्पादनमा १५ मिनेटजति छोट्याएको भए थप चुस्त हुन्थ्यो । क्याफेभित्रको वातावरण, त्यहाँ काम गर्ने दिदी र वेदको सम्बन्ध, बहिनीप्रति मुनाको जिम्मेवारी, धरानको जीवनशैली, सुष्मा कार्कीको प्रवृत्ति, उनको प्रेमीको एकोहोरो माया, धनको पछाडि लाग्दा सन्तानसँग गुमेको आत्मीयताजस्ता पक्षले खास ट्वीस्ट र सस्पेन्स नहुँदा पनि फिल्मले ‘होल्ड’ गर्छ । तर, मुना गाउँ फर्केको, वेदले पिटाइ खाएको, वेद र आमाको सम्पर्क टुट्नु खट्कने पक्ष हुन् । सुष्माको चरित्रको ‘सेफ ल्यान्डिङ’ गरिएको छैन ।

गीतलाई कथावाचनको माध्यम होइन, फिल्मको प्रमोसनको अस्त्र मान्ने विद्यमान प्रवृत्तिबाट माथि उठ्ने प्रयास गरिएको छ । फिल्मका हरेक गीत कर्णप्रिय छन् । अनि, ‘सिचुएसन’ अनुसार प्रयोग गरिएकाले ‘स्यान्डवीच मि...’, ‘भेडेटार...’ र ‘साँझ पर्‍यो...’ ले कथा र पात्रलाई बलियो बनाएका छन् । सुक्मित गुरुङको ‘पलपल...’ गीत महान् चित्रकार भ्यानगगप्रतिको ‘ट्रिब्युट’ हो । फिल्मको केन्द्रमा मुना अर्थात् सृष्टि छिन् । पहिलो फिल्म गाजलुको तुलनामा यसपटक सृष्टिमा प्रचुर परिपक्वता आभास हुन्छ । ‘ग्ल्यामर’ करिब शून्य भएको भूमिकालाई हुलिया, हाउभाउ, संवादशैली र मनोविज्ञानबाट जीवन्त बनाएकी छन् । मध्यान्तरपछि विनयमा निखार देखिँदै जान्छ । सुष्मा कार्की चरित्रको मागभन्दा अलि बढी नै ‘लाउड’ लाग्छिन् । पाश्र्वध्वनि, कलरिङजस्ता प्राविधिक पक्षमा पनि फिल्मले साख बचाएको छ । हामीकहाँ बन्ने प्राय: लभस्टोरी फिल्मभन्दा रोमियो एन्ड मुना माथि छ । केसीले दोस्रै फिल्ममा फरक जनरा र शैलीको फिल्म निर्देशन गर्नु आफैँमा तारिफयोग्य हो । तर, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया र न्युयोर्क फिल्म एकाडेमीमा पढेर स्वदेश फर्किएका केसीप्रतिको अपेक्षा यही स्तरको फिल्मले मात्र पूरा गर्दैन । लाग्छ, उनले लेखनभन्दा निर्देशनमै जोड गरेको वेस ।

मनोरञ्जनसँगै जीवन बुझाइका सवालमा केही आत्मबोध गराउने भएकाले रोमियो एन्ड मुना हेर्न लायक छ । सृष्टिका फ्यानलाई अझ प्रिय लाग्छ । तर, कोरा मसलेदार फिल्मका पारखीलाई रिझाउन सक्दैन ।

प्रकाशित: श्रावण ११, २०७५