[कथा] म त आमाजस्तै बन्ने

- उमा सुवेदी

‘यो त साह्रै निर्दयी छे । अलिकति दया–माया नभकी केटी ।’

कोमलले सानैदेखि आफ्नाबारेमा यस्तै टिप्पणी सुन्दै आएकी थिई । तर, कहिल्यै यस्तो टिप्पणीको वास्ता गरिन । दुनियाँले जे भने पनि उसले मनमाफिकको काम गर्ने आफ्नो स्वभाव बदलिन । सानैदेखि हक्की स्वभावकी थिई ऊ । नाम कोमल भए पनि आफ्नो नामजस्तो कोमल भने पटक्कै थिइन ।

कोमलका दाजुहरू पनि थिए । उनीहरूलाई घरमा कुनै कुरामा बन्देज थिएन । उसलाई भने छोरी ठानेर ‘यो गर, त्यो नगर’ भनेर अनेक नियम तयार हुन्थे । ऊ ती सबै नियम भत्काउन खोज्थी । घरअगाडिको आँपको रुखमा दाजुहरू चढ्दा उसले चढ्न पाइन भने पारो चढिहाल्थ्यो । त्यस्तो बेला ऊ रोएर बस्दिनथी । बरु रिसाएर एक न एक उपद्रो गर्थी । कहिले घरका माटाका गाग्री फुटाइदिन्थी, कहिले आमाले हेर्दाहेर्दैको ऐना फुटाइदिन्थी । कहिले बल्दाबल्दैको चुल्होमा पानी खन्याइदिन्थी । सुटुक्क गएर दाजु या बुबाको कोठाभित्र झुन्ड्याइराखेको लुगामा कैँचीले प्वाल पारिदिन्थी । यसबापत उसले बेलाबेलामा असाध्यै पिटाइ खान्थी । तर, उसलाई पिटेर या सम्झाएर सुधार्न सकिन्न भन्ने कुरा सबैले बुझिसकेका थिए । उसकै मर्जी अनुसारको काम गर्न दिनुपथ्र्यो ।

 घरबाहिर पनि ऊ त्यस्तै थिई । साथीभाइसित खेल्दा आफू कहिल्यै झेल्ली गर्दिनथी । तर, कसैले झेल्ली गरिहाले उसको आक्रोशलाई शान्त पार्न हम्मेहम्मे पथ्र्यो । त्यतिबेला ऊ साथीलाई भक्कु कुट्थी । टोलमा उसको हातबाट कुटाइ नखाने साथीहरू कोही थिएनन् ।

स्कुलमा पनि त्यही ताल । उसको कापी किताबमा कसैले केरमेट गरिदिनै नहुने । जाँचमा उसको उत्तरकापी हेरेर कसैले सार्न नहुने । ऊ यस्ता कुरा सहनै सक्दिनथी र उसको हात चलिहाल्थ्यो । त्यसैले कसैका लागि पनि ऊ कोमल थिइन । दया–माया नभएकी ढुंगा ।

तर, आफ्नो व्यवहार र आनीबानीसित ऊ आफैँलाई भने पटक्कै गुनासो थिएन । त्यसैले आफ्नो स्वभाव फेर्नुपर्छ र दुनियाँले भनेजस्तो बन्नुपर्छ भन्ने कुरा उसको दिमागमा कहिल्यै आएन । आमाले त केही भन्नै सक्दिनथिन् । बा र दाजुभाइले भने धेरै सम्झाउँथे, ‘छोरी यस्तो चालढालले हुँदैन । तैँले आफूलाई अब बदल्नुपर्छ ?’

ऊ सोध्थी, ‘म किन बदलिने ? अनि मैले मात्र किन बदलिने ?’

‘किनभने, तँ छोरी होस् नि त । छोरीमान्छे अनुशासित भएर बस्नुपर्छ ।’

उसले तुरुन्तै जवाफ फर्काउँथी, ‘उसो भए तपाईंहरूचाहिँ अनुशासित हुनु नपर्ने ? तपाईंहरूको काम अर्ती–उपदेश दिने र मेरो काम सुन्ने मात्र हो ? के मेरो शरीरमा हात, सोच्ने दिमाग, हिँड्ने खुट्टा, चलाउने हात र बोल्ने थुतुनो हुनु हुँदैन ? खालि तपाईंहरूको कुरा चुपचाप सुनिरहने कान मात्र हुनुपर्छ ? अब म हैन, तपाईंहरू बदलिनुपर्छ ।’

 घर र समाज बदलिन तयार थिएन । उसको त बदलिने स्वभावै थिएन ?

                                                                  …

 यस्ती केटीसित कसले बिहे गर्ला भनेर आमाबाबुलाई हदैसम्मको पीर थियो ।

धेरै केटा अस्वीकृत भएपछि एउटा केटा भने ठीकै लाग्यो कोमललाई । तर, बिहेअघि नै केटासित सर्त राखी, ‘बिहेपछि म तिम्रो घर जान्नँ । बरु कतै डेरा लिएर राख । डेरामै एक छाक खाएर बसुँला बरु ।’

केटोले सर्त मान्यो । उसले बिहे गर्ने भई ।

‘तर, बिहेमा म तिम्रोअगाडि शिर निहुर्‍याएर उभिन्नँ । तिम्रो पाउको जल खान्नँ । सासू–ससुराको पाउमा ढोग्दिनँ ।’

केटोले मान्यो ।

उसले खुरुक्क एउटा रिक्सा रोकी । रिक्सामा केटोलाई बसाली । आफू पनि बसी । बाआमा र दाजुभाइका लागि अर्को रिक्सा रोकी । सबै रिक्सा चढेर जिल्ला प्रशासन कार्यालय पुगे । उसले त्यहीँ कागजपत्रमा सहीछाप गरेर कोर्ट म्यारिज गरी ।

केटाले आफ्नाबारेमा सबै कुरा सहीसही बताए पनि रक्सी खाने बानीको कुरा लुकाएको थियो । पहिलो रातमै थाहा पाइहाली उसले । त्यही रात दुलहालाई भक्कु कुटी । डेरामा बस्ने सबैले थाहा पाइहाले । भोलिपल्ट बिहानै टोलभरि हल्ला फैलिहाल्यो :

‘के–के न माया पाउँला भनेर बिहे गरेको केटोले । दुलही त माया–दया नभाकी ढुंगा पो परिछ ।’

महिना बिते, वर्ष बिते । कोमलले छोरी जन्माई । धेरै कुरा बदलिए । तर, कोमलको लोग्नेको रक्सी खाने बानी र पिटाइ खाने क्रम रोकिएन । अफिसबाट फर्किंदा सधैँ मातेर फर्किन्थ्यो ।

‘श्रीमतीलाई त आफ्नो नियन्त्रणमा पो राख्नुपर्छ ।’

अफिसका साथीभाइले यही कुरा सिकाएर पठाउँथे । ऊ पनि घर पुगेर श्रीमतीलाई कुटेर तह लगाउँछु भनेर आँट गर्दै हात उचाल्थ्यो । अन्तमा आफैँले कुटाइ खान्थ्यो । भोलिपल्ट अफिसमा उसलाई साथीभाइले जिस्काउँथे, ‘तिम्री स्वास्नी त दया–माया नभाकी ढुंगा नै रहिछ ।’

 ‘श्रीमतीबाट माया पाइनँ’, भन्दै कोमलका श्रीमानले अफिसकै एक  सहायक कर्मचारी युवतीलाई प्रेम गर्न थाल्यो । कुरो कति दिन लुक्थ्यो र ! उसले थाहा पाइहाली । ऊ सरासर युवतीको डेरामा गई । रंगेहात श्रीमान्लाई समाती । तर, उसले युवतीलाई केही भनिन । उसलाई छुँदा पनि छोइन । बस्, श्रीमान्को कठालो समाती र बाटाभरि पिट्दै र लतार्दै घरमा ल्याई । श्रीमानका लागि भुइँमा डसना ओच्छ्याइदिई ।

त्यस दिनदेखि उसको र श्रीमानको खाट अलग भयो । श्रीमान्ले अन्तत: चित्त बुझायो र मनमनै भन्यो, ‘स्वास्नीको माया पाउनु मेरो भाग्यमै लेखेको रहेनछ । मेरी स्वास्नी हाडछालाको आवरणमा ढुंगा हो ।’

उसलाई जसले जे भनोस्, के मतलब ! ऊ आफैँले भन्थी, ‘हो, म ढुंगा हुँ ।’

                                                                   …

यसबीच उसले एउटी छोरी पाइसकेकी थिई । छोरीसित पनि ऊ नरम थिइन । छोरीले साथीहरूसँग खेल्दा कसैबाट कुटाइ खाएर घरमा आई भने छोरीलाई नै उल्टै कुट्थी र भन्थी, ‘आफूले केही नगरी कुट्नेलाई तैँले नै कुटेर आउनु पथ्र्यो ।’

बिस्तारै छोरीको बानी पनि त्यस्तै भयो । ऊ पनि कोमलजस्तै भई । उस्तै जिद्दी, उस्तै हठी ।

अन्तत: कोमलको श्रीमानले रक्सी छाड्ने निश्चय गर्‍यो । यसका लागि ऊ आफैँ एउटा पुनस्र्थापना केन्द्रमा पुग्यो र महिना दिन बसेर आयो । ऊ भलाद्मी भयो । समयमा घर आउन थाल्यो । घर आएर छोरीलाई पढाउन थाल्यो ।

चुनावको बेला थियो । अफिसका कर्मचारीहरू कोही एउटा पार्टीको र कोही अर्को पार्टीका समर्थक भएका थिए । अफिसमा राजनीतिक बहस हुन थाल्यो । कोमलको भलाद्मी श्रीमानले पनि एक दिन कुरैकुरामा ‘मैले त फलानो पार्टीलाई भोट हाल्ने हो’ भनिहाल्यो । के चाहियो, अर्को पार्टीको एउटा कर्मचारीले उसलाई अफिसमै भकुरिहाल्यो ।

कुट्ने कर्मचारीचाहिँ कर्मचारी युनियनको सचिव थियो । ऊ अफिसमा कामधाम गर्दैनथ्यो । बस्, अफिसमा आएर हाजिरी गर्नेबित्तिकै नेताहरूको चाकडीमा निस्किहाल्थ्यो । नेताको आशीर्वादका कारण उसले जागिर पाएको थियो । त्यसैले ऊ अफिसप्रति होइन, नेताहरूप्रति वफादार थियो । पूरै दादा थियो ऊ । कुनै बेलाको कुस्तीको जिल्लास्तरको खेलाडी पनि रहेछ । त्यसैले उसको शरीर अरमट्ठेको थियो ।

                                                                                            …

कोमलको श्रीमान् अनुहारमा चोटका थुप्रै दाग लिएर घर आयो । निधारमा चार टाँका पनि लागेको रहेछ । ऊ कोमलका अगाडि रोयो । कोमलले पटक्कै माया–दया देखाइन । उसले बस्, श्रीमान्लाई कुट्नेको नाम र ठेगाना सोधी र घरबाट निस्की । आँगनको कुनामा एउटा ढुंगा त्यसै फालिएको थियो । उसले त्यही ढुंगा टिपी ।

सोझै श्रीमानलाई कुट्ने पहलमानकहाँ पुगी । पहलमान कसरत गरिरहेको थियो । ऊ सरासर पहलमानको अगाडि उभिई ।

‘साले, मेरो त्यति भलाद्मी श्रीमानलाई कुटेर पठाउने तैँ होस् ?’

पहलमानले पूरै हेप्यो र ङिच्च दाँत देखाउँदै भन्यो, ‘हो, मैले नै कुटेको । के गर्छेस् ?’

पहलमानले यति भन्नु आगोमा घिउ थप्नुजस्तै भयो । कोमलभित्रको आगो झन् दन्किहाल्यो । उसले आफ्नो हातमा भएको ढुंगो सोझै पहलमानको खप्परमा बजारी ।

पहलमानको टाउको फुट्यो । उसले घरनजिकैको बाँझो चारपाटे खेतमा अचानक ढकमक्क तोरी फुलेको देख्यो र रन्थनिएर अग्राखको मुढोझैँ डंगरंग भुइँमा ढल्यो ।

                                                                                 …

टोलमा फेरि चर्चा भयो । तर, यसपटक अलिक फरक ढंगले चर्चा भयो । सधैँ कोमललाई ढुंगा भन्नेहरू नै भन्दे थिए, ‘कस्तो माया गर्दिरछे लोग्नेलाई । लोग्नेलाई कुट्नेको टाउकै फुटालेर आई । क्या खतरा रैछे ।’

कोमलकी छोरीको स्कुलसम्म पनि पुग्यो यो कुरो ।

कोमलकी छोरीलाई बीचमा राखेर उसका केटा साथीहरूले सोधे, ‘ तिमी बुबाजस्तो सोझो बन्ने कि आमाजस्तो ढुंगो ?’

छोरी पटक्कै दोधारमा थिइन । तुरुन्तै जवाफ दिई, ‘छोरी मान्छे त ढुंगा पो बन्नुपर्छ । म त आमाजस्तै बन्ने ।’ 

प्रकाशित: श्रावण १०, २०७५