‘आफ्नै मनोबलसँग चकित हुन्छु’

- मनबहादुर बस्नेत

तेस्रो लिंगी/समलिंगी समुदायको हक अधिकारको कुरा उप्काउनासाथ भूमिका श्रेष्ठ, २९, को नाम जोडिइहाल्छ । काठमाडौँको नैकापमा जन्मिएकी भूमिकाको अर्को परिचय जोडिँदैछ, लेखिका । तेस्रो लिंगी भएर समाजमा स्थापित हुन उनले गरेको संघर्षलाई घोस्ट राइटिङ नेपालले पुस्तकाकार दिएर बजारमा ल्याउँदै छ । भूमिका श्रेष्ठ : तेस्रो लिंगीको आत्मकथाकी लेखिका श्रेष्ठसँगको संवाद :

आत्मकथा के विषयमा केन्द्रित छ ?

तेस्रो लिंगी भएर घरपरिवार र समाजमा हामीले भोगेका समस्याबारे ।

आत्मकथा लेखनका लागि के कुराले प्रेरित गर्‍यो ?

हामीजस्ता अलग पहिचान भएकाहरूले जीवनमा यति धेरै समस्या भोगिरहेका छौँ, त्यो नै यो किताब लेख्ने कडी हो । सामाजिक रूपमा बाँच्नका लागि पनि हाम्रा कथा आउनु जरुरी देखियो ।

यो पुस्तकले यौनिक अल्पसंख्यकको जीवनमा केही फरक पार्छ ?

पक्कै पार्छ । पहिलो कुरा त हामीलाई घरपरिवारमा खुल्नै गार्‍हो हुन्छ । परिवारमा थाहा दियो, समाजमा पुग्न ज्यादै गार्‍हो हुन्छ । पुस्तक पढेपछि अबको तेस्रो लिंगी/समलिंगी पुस्तालाई खुल्न सजिलो होला । समाजले तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन होला भन्ने विश्वास छ । पारिवारिक र सामाजिक रूपमा तिरस्कृत भएर बाँच्नुको औचित्य छैन भनेर केही दिनअघि हाम्रा दुई साथीले आत्महत्या गरे । यस्तो अन्धकारबाट निस्कन पुस्तकले हौसला दिन्छ ।

हौसला दिलाउने त्यस्तो के छ पुस्तकमा ?

सबै ठाउँमा तिरस्कृत भएर बस्नुपर्दैन । आफ्नो अधिकार, पहिचानका लागि संघर्ष गर्नुपर्छ भन्ने आत्मबल दिन्छ । दु:खदायी संघर्षका कथा पढ्दा यस्तोमा पनि बाँच्न, लड्न सकिँदो रहेछ भन्ने सिकाउनेछ ।

तेस्रो लिंगी र लेखिकाबीच कसरी तुलना गर्नुहुन्छ ?

संसारमा प्राय: आत्मकथा ठूलाबडा र विद्वान्हरूकै आउँछन् । यति कम उमेरमै आफ्नो आत्मकथा आउँदा खुसी नहुने कुरै छैन । तेस्रो लिंगी नभएको भए सायदै मेरोबारे पुस्तक निस्कन्थ्यो र जीवनकथा पढिन्थ्यो । पहिचान र पुस्तक मेरो एकै सिक्काका दुई पाटा भए ।

राजनीतिक रूपमा तिरस्कृत कसरी ?

नेपालको संविधानमा समानता र नागरिकताको हकबारे उल्लेख छ । तर, हामीजस्ताले समान व्यवहार पाएका छैनौँ । राजनीतिक र नीतिगत तहमा हाम्रो सहभागिता सुनिश्चित भएको छैन । हामीलाई अन्य लिंग भनिएको छ । हाम्रो लैंगिक पहिचान हुँदाहुँदै यस्तो गर्दा दु:ख लाग्छ ।

तर, हाम्रो देशमा त सभासद् नै बनिसकेका छन् त ?

यो ठूलो उपलब्धि त हो । तर, एक जना एकपटक त्यहाँ पुगेर मात्रै त्यसले ठूलो परिवर्तन नहुने रहेछ । त्यही भएर राजनीतिक पार्टीले हामीजस्तालाई अगाडि ल्याउने विशेष व्यवस्था बनाउनुपर्छ । समानुपातिक रूपमा हामीलाई पनि अवसर दिनुपर्छ ।

परिवार, समाज र राजनीति, सबैभन्दा बढी समस्या कहाँ छ ?

तीनवटैमा छ । यिनीहरूलाई छुट्याएर हेर्न मिल्दैन, सकिँदैन । तीनै तहमा बहिष्कृत हुनुपरेको छ । राजनीतिक रूपमा ‘युज एन्ड थ्रो’ जस्तो छ ।

तपाईंले चाहिँ सबैभन्दा बढी समस्या कुन तहमा भोग्नुभयो ?

समाजबाट । त्यो पनि विद्यालयजस्तो पवित्र थलोबाट । स्कुल पढ्दा म शिक्षक–शिक्षिकाबाट एकदमै प्रताडित भएँ । त्यही कारण मैले १० कक्षा पढ्दापढ्दै पढाइ छाड्नुपर्‍यो । शिक्षाबाट वञ्चित भएँ ।

आत्मकथा लेख्दा आफ्नो विगत र वर्तमानलाई कसरी समीक्षा गर्नुभएको छ ?

कहिलेकाहीँ आफ्नो जीवन देखेर ज्यादै दु:ख लाग्छ । तर, आज जुन ठाउँमा उभिएकी छु, त्यो देखेर आफैँलाई गर्वानुभूति हुन्छ । फरक पहिचान भएर पनि समाज, परिवार र राज्यसँग जुध्न सक्ने भएकी छु । आफ्नै मनोबलसँग चकित हुन्छु ।

प्रकाशित: श्रावण १०, २०७५

ट्याग: अचानक