[तीन किताब] गोरीको नेहरु–प्यार

- संगीता थापा

कतिपय मानिसहरू किन्डलमा पढेर आनन्द लिन्छन् । तर, मलाई किताबी पानाको बास्ना लिएर पढ्न मन पर्छ । म नयाँ प्रविधिसँग अभ्यस्त हुन सकिनँ । पुस्तक छाप्नु उत्ति वातावरणमैत्री कुरा त होइन भन्ने थाहा छ ।

मेरो आफ्नै पुस्तकालय छ । बिहान भ्याउँदिनँ । रातको सुनसानमा पढ्न मज्जा लाग्छ । एकैपटक तीन–चार किताब पढ्न मन लाग्छ । पछिल्लो समय अलेक्स भोन तुन्जेलमानको इन्डियन समर पढ्दा म सन्तुष्ट भएँ । बेलायतीहरूले भारत छाड्दाको समयचित्र छ पुस्तकमा । महात्मा गान्धी, नेहरुका नखुलेका चरित्र देख्न पाएँ । जन्मदिनमा भाइले मलाई उपहारमा दिएको यस किताबलाई नेपाली राजनीतिक इतिहाससँग पनि जोडेर हेरेँ । सत्ता उलटपलट या हस्तान्तरणका प्रसंग रोचक लागे । कलेज पढ्दा इतिहासका यी भित्री पक्षबारे कहिल्यै थाहा पाइनँ । पाठ्यपुस्तकमा पढिएको इतिहासमा केही बुँदा मात्र हुन्थे ।

तर, यो किताब बहुआयामिक छ । भारत स्वतन्त्रता आन्दोलनमा गान्धी एक्लैको योगदान थिएन । जवाहरलाल नेहरु, मोहम्मद जिन्ना, सुभाषचन्द्र बोस आदिको ताजा कोणबाट पनि इतिहासलाई बुझ्न इन्डियन समरले सहयोग गर्छ । जातीय संकीर्णताको त्यो युगमा पनि गोरी एडविना माउन्टबटनले भारतीय युवकसँग गरेको प्रेमसम्बन्धले थप लोभ्यायो । ब्रिटिस इन्डियाको जीवनपद्धतिबारे जान्न मन थियो किनकि त्यसबेला राणाहरूले त्यताको संस्कृति र रहनसहन पछ्याउन खोजेका थिए । यी लेखकका अरू किताब मैले पढेकी छैन र सायद धेरै किताब पनि लेखेका छैनन् ।

 म सानी छँदा बुबाले किताब पढ्दा सिसाकलम दिनुहुन्थ्यो । नबुझेका शब्दमा मैले अन्डरलाइन गर्नुपथ्र्यो । र, नयाँ वाक्य बनाउनुपथ्र्यो, होमवर्कजस्तै । यसरी किताबसँग संवाद गर्दै हुर्किएँ । तर, आफ्नो किताब बाँडेर पढ्ने बानी छैन ।

मलाई मन परेको अर्को किताब हो– डन मेसेर्चमिड्त र डीना बाङ्देलको अगेन्स्ट द करेन्ट । यो किताब मैले डीना बाङ्देल बित्नुअगाडि नै किनेकी थिएँ । तर, पढ्न भ्याएकी थिइनँ । यो किताबले नेपाली कला इतिहासमा लैनसिंह बाङ्देलको योगदानबारे बोल्छ । उनका यात्रा, अन्वेषण, देन आदिबारेमा किताबले प्रस्ट पार्छ । धेरैले नयाँ नेपालको कुरा गर्छन् । तर, वास्तविक नयाँ नेपालको निर्माता राजा महेन्द्र हुन् । पुरानो दरबार भत्काएर नारायणहिटी निर्माण, रेडियो नेपाल, नेपाल ललितकला संस्था (नाफा), नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कला संग्रहालय, नेपाल आर्ट काउन्सिल आदि बनाउने काम उनले गरे । दरबारको सहयोगमा बाङ्देलले कला क्षेत्रमा निकै काम गरेका रहेछन् । बाङ्देलमाथिका आलोचनासमेत समेटिएको यो किताब मसँगै धेरै देश डुलेको छ ।

दोर्जे डोल्माको याक गर्ल पढेर म निकै संवेदित भएँ । किताबको मुख्य पात्रसँग आफैँ जोडिएका कारण पनि मलाई छोएको हुनुपर्छ । दोर्जेसँग संघर्षपूर्ण जीवनकथा छ । दोर्जे डोल्मा डोल्पोबाट बौद्ध रोक्पा हाउसमा ल्याइएको रहेछ । बाल्यकालमा दुर्घटनावस् टाउकोमा तातोपानी परेर घाइते भएकी रहेछ डोल्मा । उसकी बहिनीको पनि मेरुदण्डको समस्या थियो । उनीहरूको समस्या देखेर एक डच महिलाले मलाई कानुनी कागजपत्रका लागि सहयोग मागिन् । उनीहरूलाई एडप्ट गर्न मैले सहयोग गरेँ । र, लामो संघर्षपूर्ण यात्रापछि विदेशमा रहेर उनीहरू चित्रकारितामा छन् । यो चानचुने उपलब्धि हो जस्तो लाग्दैन । जीवन कसरी रुपान्तरण हुन सक्छ भन्ने तथ्य पुस्तकले अनौठो ढंगले प्रस्तुत गरेको छ । म त उनीहरूका जीवनको एउटा अंगजस्तै भएछु । यो पुस्तकमा संवेदना मात्र छैन, डोल्पोको भौगोलिक चिनारी पनि  छ । रोचक कुरा– कलाकार थिन्ले डोल्माका काका रहेछन् ।

म धेरै नेपाली लेखकहरूलाई चिन्छु । नेपाली साहित्य पढ्न भने मलाई समस्या छ किनकि नेपाली भाषामा मेरो पकड छैन । भानुभक्तबारे हरेक वर्ष कार्यक्रम हुन्छन् तर, परम्परागत शैलीमा । भानुभक्तलाई पनि नयाँ ढंगले प्रस्तुत गर्न सकिएको छैन । नेपालमा कला र साहित्यका छुट्टाछुट्टै टापु छन् । तिनीहरूबीच आत्मीयता छैन । तिनले एकअर्कालाई प्रशंसा त गर्छन् । तर, बुझ्दैनन् ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण ९, २०७५

ट्याग: किताब