नायक क्रोएसिया

- पवन आचार्य

फुटबलमा जम्मा १७ वटा नियम छन् । १८औँ नियममा म्याच रेफ्रीको निर्णय नै अन्तिम हुने गर्छ । तर, विश्वकप फुटबलमा केही यस्ता अघोषित नियम छन्, जुन आजसम्म लागू हुँदै आएका छन् । त्यो हो– साना राष्ट्रले विश्वकपको फाइनल खेल्दैनन् वा खेल्न सक्दैनन् । हुन पनि आजसम्म १३ मात्र राष्ट्रले मात्र विश्वकपको फाइनल खेलेको इतिहास छ । यो विश्वकपमा १४औँ राष्ट्रका रूपमा क्रोएसियाले त्यस्तो सौभाग्य प्राप्त गर्‍यो । क्रोएसियाले सन् १९९८ मा, दक्षिण कोरियाले २००२ मा र बुल्गेरियाले १९९४ मा हलचल मच्चाएका थिए । तर, उनीहरू पनि सेमिफाइनलभन्दा माथि जान सकेनन् ।

क्रोएसियाली फुटबल खेल्ने शैली ब्राजिलको जस्तो उम्दा छैन । तर, टिम भावनाले गर्दा क्रोएसियालाई सन्तुलित र आशलाग्दो टोलीका रूपमा रुस विश्वकपमा उभ्याएको थियो । फाइनलसम्मको यात्रा तय गर्दा क्रोएसियाले गल्तीबाट पाठ सिक्ने तत्परता देखायो । जसले गर्दा उसमाथि लागेको अन्डरडगको ट्यागसमेत मेटिएको छ । रुस विश्वकपको नकआउट चरणमा क्रोएसियाले गरेको प्रदर्शन साँच्चै नै लोभलाग्दो थियो । अन्तिम १६ मा डेनमार्कविरुद्ध पहिलो मिनेटमै गोल खान पुगे पनि क्रोएसियाली खेलाडीले हार माननेन् । आयोजक रुस र इंग्ल्यान्डसँग भिड्दा पनि क्रोएसियाले आफूलाई अब्बल सावित गर्‍यो । फाइनलमा फ्रान्ससँग ४–२ ले खेल हारे पनि क्रोएसियाले विश्वभरका फुटबल समर्थकको मन जितेको छ । अन्तर्राष्ट्रिय स्तरमा क्रोएसियाले पाएको यो तहको सफलता बिरलै हात लाग्ने गर्छ । किनभने, सन् २०२२ मा कतारमा २२औँ संस्करणको विश्वकप आयोजना हुँदा क्रोएसियाली टोलीमा हाल रहेका स्वर्णिम पुस्ताका केही सदस्य पक्कै हुने छैनन् । लुका मोर्डिच र मारियो मान्ड्जुकिच, जसको प्रेरणामा क्रोएसिया विश्वकपको उपविजेता बन्यो । उनीहरू आगामी ४ वर्षमा ३६ लाग्ने छन् । यसको अर्थ उनीहरू मैदानमा उत्रिने सम्भावना न्यून छ । अर्को स्वर्णिम पुस्ताले क्रोएसियालाई विस्थापित नगरेसम्म अहिले पाएको सफलता हात लाग्दैन ।

सन् १९९८ मा जब क्रोएसिया विश्वकपमा तेस्रो भयो । त्यतिबेला पनि फुटबल प्रशंसकले टिमको प्रशंसा गरेका थिए । कतिसम्म भन्न थालिएको थियो भने आधुनिक फुटबलमा सदैव डार्क हर्सका रूपमा क्रोएसिया देखापर्नेछ । तर, राजनीतिक र आर्थिक हिसाबले क्रोएसिया त्यतिबेला जर्जर अवस्थामा थियो । युरोपेली युनियनको सदस्यमध्ये क्रोएसिया सबैभन्दा कम विकसित राष्ट्र थियो । १९९८ को विश्वकप फुटबलमा पाएको सफलताले क्रोएसियाको मुहार परिवर्तन हुने आशा धेरैको थियो । क्रोएसियाका बारेमा त्यतिबेला फुटबलका प्रशंसकले गरेको अनुमान पूरा हुन दुई दशक लाग्यो ।

यसपटक कीर्तिमान्को नयाँ उचाइ नापेको क्रोएसियाली टोलीको जाग्रेबमा भव्य स्वागत भयो । विश्वकप उपविजेता टोलीको स्वागतका लागि ५ लाखभन्दा बढी मानिस जम्मा भए । उनीहरूका लागि टोली विश्वकपको उपविजेता होइन, च्याम्पियन बनेर घर फर्किएको थियो । च्याम्पियन भनेर नारा पनि उरालियो । प्रशिक्षक ज्लाट्को डालिचले दर्शकलाई सम्बोधन गर्दै भने, “हामी विश्वकपको उपाधि नजिक थियौँ । तर, दोस्रोमा सीमित भयौँ । सक्दो प्रयास गरे पनि सबै प्रयास सफल नहुने रहेछन् ।”

टोलीका कप्तान लुका मोर्डिचले विमानस्थलमा ओर्लिनासाथ सामाजिक सञ्जालमा त ‘फ्रान्सले खेल जित्यो, क्रोएसियाले मन’ भनेर प्रचार गर्नेहरू टन्नै थिए ।

क्रोएसियाली फुटबलको जन्म

सन् १९३० देखि १९९० सम्म युगोस्लाभियाको अंगका रूपमा रहेको क्रोएसिया सन् १९९१ मा स्वतन्त्र भयो । लगत्तै १९९२ मा फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफा सदस्यको मान्यता पायो । सदस्यता ढिलो पाएपछि सन् १९९४ को विश्वकप छनोट प्रतियोगितामा खेल्न पाएन । त्यसपछि १९९६ को युरो कपमा भने सहभागिता जनायो ।

फुटबलमा मात्रै होइन, विश्व मानचित्रमा पनि क्राएसियाको इतिहास खासै लामो छैन । प्रतिभाशाली टिमका लागि थोरै समय पनि आफ्नो उपस्थिति जनाउन पर्याप्त हुने प्रमाणित गरिदियो । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा पहिलो सहभागिता जनाउने क्रममा क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामा क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको क्रोएसिया १९९८ को विश्वकपको क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगेको थियो । जुन प्रतियोगितामा नायक बनेका डाभोर सुकरले ६ गोल गरेर गोल्डेन बुटसमेत जितेका थिए ।

संयोग– रुस विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको क्रोएसिया १९९८ को सेमिफाइनलमा पनि फ्रान्सकै सिकार भएको थियो । तर, त्यति हुँदाहुँदै पनि क्रोएसियाले फिफा विश्वकपको फाइनल खेल्ने अहिलेसम्मकै कम वरीयताको राष्ट्र हुने कीर्तिमान् भने बनाउन भ्यायो । फिफाको फुटबल वरीयता र क्रोएसियाको जन्म लगभग उस्तै समयमा भयो । सन् १९९२, जुन बेला क्रोएसिया स्वतन्त्र भयो, त्यही बेलादेखि फिफाले फुटबल खेल्ने राष्ट्रहरूको वरीयताक्रम थालनी गरेको हो ।

फुटबलले जुटाएको एकता

फुटबलको सफलताले क्रोएसियालाई मजबुत राष्ट्रका रूपमा विकास गर्दै लगेको छ । क्रोएसियाले रुस विश्वकपमा खेलेको हरेक खेलको साक्षी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच भएबाट पनि फुटबलले पाउने महत्त्व छर्लंग भएको छ । विश्वकप फाइनलपछि आफ्ना खेलाडीको हौसला बढाउन उनले सबैलाई अंकमाल गर्दै निराश नहुन गरेको आग्रह अहिले विश्वभर चर्चामा छ । रुसी र फ्रान्सेली समकक्षीसँगै मैदानमा ओर्लिएकी राष्ट्रपति किटारोभिचले वर्षाको परवाह नगरी खेलाडीलाई हौसला प्रदान गरेकी थिइन् । जबकि, पुरस्कार वितरण समारोहमा आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन वर्षाबाट जोगिन छातामुनि थिए । तर, क्रोएसियाली राष्ट्रपति कितारोभिचले पानीमा रुझेरै खेलाडीलाई बधाई दिएकी थिइन् ।

रुसविरुद्धको क्वार्टरफाइनलमा वर्तमान राष्ट्रपति किटारोभिच क्रोएसियाको जर्सी लगाएर दर्शकदीर्घामा बसिन् । उनको यो कदमले पनि क्रोएसियाली राजनीति र फुटबलको सम्बन्ध प्रस्ट रूपमा देखिन्छ ।

सन् २०१४ मा जर्मन चान्सलर एंगेला मर्केल पनि रंगशाला र खेलाडीको ड्रेसिङ रुममा उपस्थित थिइन् ।

२०औँ शताब्दीको अधिकांश समयमा बाल्कन क्षेत्रका मानिसलाई एकत्रित गरेको युगोस्लाभियाको एउटा अंग थियो, क्रोएसिया । सन् १९८० मा यस क्षेत्रको एकता कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका टिटोको मृत्युपछि जातीयताको संघर्षले बिस्तारै गति लिन थाल्यो । सर्बियाप्रति झुकाव राख्ने तत्कालीन शासकबाट आफूमाथि अन्याय भएको महसुस गर्दै क्रोएसियाले पनि स्वतन्त्रताको लडाइँ थाल्यो । अन्यायविरुद्धको त्यो बिगुलको प्रतिध्वनि आज विश्वकपसम्म फैलिएको छ । स्थिति कतिसम्म भयानक हुन्थ्यो भने क्रोएसिया क्षेत्रको क्लब डिनामो जाग्रेव र युगोस्लाभियाली क्लब रेडस्टार बेलग्रेडबीचको भिडन्त कुनै युद्धमैदानभन्दा कम हुन्थेन । फुटबल भावनाले खेलिने खेल हो । तर, त्यतिबेला खेल भावना कम र राष्ट्रियता र स्वतन्त्रता बढी प्यारो हुन्थ्यो दुवै पक्षीय खेलाडीका लागि ।

बाल्कन क्षेत्रको समस्या केही समयपछि विश्वकपमा पनि देखापर्‍यो । स्वीट्जरल्यान्डले सर्बियालाई हराउँदा कोसोभार–अल्विानियन मूलका ग्रानिट जाका र जेर्दन साकिरीको गोलको खुसियालीमा देखिएको क्रियाकलाप विवादित भए ।

समर्थकसँग सम्बन्ध सुधारको कडी

बाल्कन राष्ट्रमा फुटबलको डाडुपन्यू सञ्चालन गरेर बसेकाहरू आर्थिक अनियमिततामा फसेपछि समर्थकमा निराशा व्याप्त थियो । विश्वकपको उपविजेता बनेर क्रोएसियाका लुका मोर्डिच र डेनाज लोभरेनले समर्थकको मन जितिसकेका छन् । तर, मुलुकभित्रै पनि उनीहरूलाई नरुचाउने फुटबलप्रेमी प्रशस्तै छन् । उनीहरू र डिनामो जाग्रेबका पूर्वमालिक ज्राभाको मामिचले गरेको अर्बौं युरोको आर्थिक अनियमितताको साक्षी भएको फुटबल समर्थकको आरोप छ । क्रोएसियाली फुटबल संघका वास्तविक अध्यक्षका रूपमा चित्रित उनी हाल बोस्नियामा शरण लिएर बसेका छन् । मामिचलाई गत जुनमा क्रोएसियाको अदालतले दोषी ठहर गर्दै साढे ६ वर्षको काराबास सजाय सुनाएको थियो । मामिचमाथिको सुनुवाइका क्रममा मोर्डिच र लोभरेनसँग पनि बयान लिइएको थियो । बयानका क्रममा उनीहरूले मामिचको बचाउ गरेकाले उनीविरुद्ध कठोर सजाय नसुनाइएको फुटबल समर्थकको बुझाइ छ ।

खेलाडीप्रति आक्रोश पोख्न क्रोएसियाली समर्थकहरूले स्प्लीट सहरमा सन् २०१६ को युरोमा बेहोरेको हारको मिति राखेर ‘हार तिमीहरूलाई सुहाउँछ’ अंकित ठूलो ब्यानर झुन्ड्याएका थिए । त्यस्तै, गत जुनमा ब्राजिलसँगको मैत्री खेल गुमाएपछि समर्थकले ‘तिमीहरूको प्रत्येक हारले हामीलाई खुसी तुल्याउँछ । स्प्लीट सहर तिमीहरूको अझै खराब प्रदर्शनको आश गर्छ’ लेखिएको तुल सहरको बीचमा अवस्थित पुलमा राखिएको थियो ।

सन् १९९८ को विश्वकपमा गोल्डेन बुट जितेका क्रोएसियाली डाभोर सुकरलाई राष्ट्रिय हिरो मान्नेहरू धेरै थिए । तर, जब मामिचको समर्थनमा फुटबल संघको अध्यक्ष बने, उनलाई नरुचाउने फुटबल प्रशंसकको संख्या बढेको छ ।

तर, अहिले अवस्था त्यस्तो छैन । रातारात मोर्डिच र लोभरेन राष्ट्रिय हिरो भइसकेका छन् । फुटबलमा क्रोएसियाले पाएको सफलताको कथाले खेलाडी र फुटबल संघको धमिलो छवि मात्र धोएको छैन, सँगै देशको आन्तरिक राजनीतिमा पनि एक किसिमको सम्बन्ध सुधारको सम्भावना देखाएको छ । किनभने, जुनसुकै खेलमा पनि हारले सबै अक्षमताको पर्दाफास गर्छ र जीतले सफलताको गाथा मात्रै सुनाउँछ ।

प्रकाशित: श्रावण ६, २०७५