स्थानीयलाई शिवम् सिमेन्टको २६ करोडको सेयर

- विजयराज खनाल

शिवम् सिमेन्ट लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता (२६ करोड रुपियाँ) को सेयर जारी गर्ने भएको छ । प्रिमियम मूल्यसहित कम्पनीको प्रतिसेयर मूल्य ३ सय रुपियाँ पर्नेछ । 

दोस्रो चरणमा त्यही सेयरका लागि अन्य सर्वसाधारणले भने प्रतिसेयर ४ सय रुपियाँ तिर्नुपर्नेछ । कम्पनीले कुल २ अर्ब २ करोड रुपियाँको सेयर जारी गर्ने भएको हो । पहिलो चरणमा स्थानीयलाई जारी गरेको सेयर बिक्री १३ साउनदेखि ११ भदौसम्म खुला हुनेछ । सेञ्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, जनता बैंक, गरिमा बैंकका विभिन्न शाखा र उद्योग रहेको क्षेत्रबाट सेयरमा आवेदन दिन सकिनेछ । 

सम्बन्धित बैंकका कुलेखानी, हटिया, कमाने, बस्तीपुर, भीमफेदी, दामन, मनहरी, हात्तिसुढे, मकवानपुरगढी, बज्रवाराही, चौगढा, फापरबारी, हेटौँडालगायतका शाखा तथा कार्यालयमा संकलन केन्द्र राखिएको छ । बसाइसराइ गरी मकवानपुर आएकाले पनि कागजात पेस गरेर सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रलाई बिक्री गर्ने सेयर लगानीकर्ताले तीन वर्षसम्म सेयर बजारमा किनबेच गर्न पाउने छैनन् । तर, कम्पनीले नाफाबाट बाँड्न सक्ने प्रतिफल भने पाउनेछन् । कम्पनीले कुल २ अर्ब २ करोड रुपियाँ संकलन गर्ने भए पनि ५२ करोड ८० लाख रुपियाँ मात्र चुक्ता पुँजीमा जोडिनेछ भने १ अर्ब ४९ करोड रुपियाँ कम्पनीले चाहेमा प्रतिफलका रूपमा लगानीकर्तालाई बाँड्न सक्छ । 

यस्तो रकम प्रारम्भिक खर्च मिनाहा, सेयर जारी गर्दाको लागत कटाउन, अग्राधिकार सेयर फिर्ता गर्नुपर्ने भए त्यसको प्रिमियमका रूपमा रकम राख्न पनि प्रयोग गर्न सकिने व्यवस्था कम्पनी ऐनमा छ । त्यसैले कम्पनीबाट बोनस सेयरको रुपमा प्रतिफल प्राप्त गर्न सकिने सम्भावना छ । यसो भएमा लगानीकर्ताले प्रिमियम रकमबाट मात्रै ३४ प्रतिशत पाउन सक्ने देखिन्छ । 

कम्पनीको अवस्था 

कम्पनीको समग्र वित्तीय अवस्थालगायतका आधारमा साख मूल्यांकन कम्पनी (इक्रा नेपाल) ले शिवम् सिमेन्टलाई ग्रेड थ्री प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको संकेत गर्छ । सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको सञ्चालन र वित्तीय अवस्था राम्रो रहेको इक्राले उल्लेख गरेको छ । सन् २०१७ मा कम्पनीको मुनाफादर केही घटे पनि समग्रमा राम्रो छ । 

होङसी शिवम्मा २६.८ प्रतिशत सेयर लगानी गरेको यस कम्पनीले भावी दिनमा त्यो उद्योगबाट पनि आम्दानी गर्ने देखिन्छ । होङसी शिवम् चीनको संयुक्त लगानीमा सञ्चालित सिमेन्ट उद्योग हो । यसको प्रतिदिन उत्पादन क्षमता ६ हजार टन छ । शिवम्का प्रवद्र्धकहरूले समय–समयमा संयुक्त लगानीका कम्पनी र यसै कम्पनीको कोषमा समेत लगानी थपिरहेका छन् । 

कम्पनीले ऊर्जाका लागि कोइला आयात गर्नु परिरहेको, हाल आफ्नो कच्चा पदार्थ उत्पादन क्लिंकरले ६५ प्रतिशत मात्र माग धानिरहेकाले यसको मूल्यमा पर्ने प्रभावको असर कम्पनीमा रहन सक्छ । मकवानपुरको सुकौरा गाविसको चुन उत्खननका लागि ०७१ देखि १५ वर्षको भोगाधिकार अनुमति कम्पनीले पाएको छ । त्यस्तै, मकवानपुरगढीको खानी क्षेत्रमा चुन उत्खननका लागि ०७४ देखि ९ वर्षको अनुमति छ । अन्य केही क्षेत्रमा पनि कम्पनीले यस्तो अधिकार पाएको छ भने केहीका लागि प्रक्रियामा छ । 

प्रतिदिन १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले ७० प्रतिशत उत्पादन व्यवस्थित प्रणाली प्रयोग गरेर बिक्री गरिरहेको छ । बाँकी आयोजना स्थलबाटै बिक्री हुने गरेको छ । कम्पनीले चैतमा बिक्री खर्च कटाएर २ अर्ब रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष ०७३/७४ मा ८१ करोड रुपियाँ नाफा कमाएको कम्पनीको गत चैतमा नाफा ९३ करोड थियो । २१ करोड रुपियाँ आयकर तिरेको कम्पनीले कर्मचारीमा ३ करोड ४६ लाख बोनस बाँडेको थियो । 

कम्पनीको सञ्चित कोषमा २ अर्ब १६ करोड रुपियाँ छ । कम्पनीसँग २ अर्ब २१ करोड दीर्घकालीन ऋण छ भने १२ अर्ब रुपियाँ दायित्व छ । कम्पनीले १ अर्ब रुपियाँ आफ्ना असामीबाट उठाउन बाँकी छ । १ अर्ब ९३ करोडबराबरको समान मौज्दात छ । यसको बिक्रीपछि थप आम्दानी हुनेछ । कम्पनीको प्रतिसेयर खुद सम्पत्ति १ सय ५९ रुपियाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपियाँ, नेटवर्थमा प्रतिफल १५ प्रतिशत र हालको प्रतिसेयर आम्दानी २४ रुपियाँ छ । 

कम्पनीमा अध्यक्ष सुरेन्द्रकुमार गोयललगायत व्यावसायिक घराना समूहका २० जनाको लगानी छ । शिवम् सिमेन्ट सर्वसाधारणलाई सेयर जारी गर्ने पहिलो कम्पनी बनेको छ ।

प्रकाशित: श्रावण ४, २०७५

ट्याग: अर्थसेयर