[कविता] सच्याऊ, यो इतिहास

- विमला तुम्खेवा

मेरो जन्मलाई वहिष्कार गर्ने

पृथ्वीका प्रत्येक प्राणीलाई भन्न चाहन्छु,

तिमीले मेटाउनै नसक्ने सत्य हुँ

मेरो वक्षस्थलबाट बग्दै गएका दूधका यी धारा,

संसार निर्माणका जग हुन्,

म संसार चलाउने सृष्टि हुँ ।

 

अनादिकालदेखि तिमी

मेरै यौनको मादकताले सिर्जना भइरहेछौ,

कल्पना गर त–

मैले हाँस्न छाडिदिएको दिन के हुन्छ !

के हुन्छ, चलिआएको सृष्टि !

मेरो हृदयमा करुणा सकियो भने

के हुन्छ तिम्रो अस्तित्व !

के हुन्छ, यो संसारको स्वरुप ?

 

जबर्जस्ती मलाई बन्धक बनाएर

परिबन्दको जन्जिरमा,

आफूलाई शक्तिशाली सम्झने प्रत्येकले बुझ–

तिम्रो जीवनको संरचना

मेरो यौनको उन्माद हो

र, तिमीले ममाथि गरेका अत्याचारको शृंखला

इतिहासको भद्दा मजाक हो ।

 

नसोच, म कमजोर छु,

तिम्रो अत्याचारले मलाई समाप्त गर्न सक्दैन,

मेरो अस्तित्व यो धर्ती र आकाशजस्तै अटल छ ।

 

तिम्रा प्रत्येक कुकर्मको प्रमाण हो,

मैले बाँचेको जीवन

इतिहासमा सबुत छ, गान्धारी

सबुत छ, सती प्रथा

सबुत हो, सीताको वनवास

सबुत हो, योगमायाको आत्मदाह

सबुत हो, प्रत्येक स्वास्नीमान्छेको दर्दनाक जीवन

सबुत हो, प्रत्येक बलात्कृत छोरी र आमा 

सबुत हो, बोक्सी करार गरिएको वर्तमान ।

तिम्रो अत्याचारविरुद्ध

मलाई बहुलाउन मन छ,

हाँक दिन्छु, यो बेथितिविरुद्ध

कस्तो नाटक गर्न सकेको समाजले ?

कस्तो दोहोरो चरित्र हो समाजको ?

यति नाटक त हत्याराले पनि गर्दैन ?

शंका लाग्छ, मेरो शिरको यो रातो सिन्दूर

वीरांगनाको हत्या–षड्यन्त्रको सबुत हो ।

खुन लतपतिएको त्यही लासमाथि

तिमीले चलाएको झुट–प्रमाण हो

सच्याऊ यो इतिहासलाई

जसले स्वास्नीमान्छेलाई मान्छे सोचेन

सच्याऊ, तिम्रा प्रत्येक गल्ती

सच्याऊ, मानवताविरोधी प्रत्येक सभ्यता

लासमाथि झुटको सत्ता चलाएर बाँच्ने तिम्रो हक छैन ।

 

बुझ– म कमजोर छैन

तिम्रो छली शासनलाई म केवल पानीको फोका देख्छु,

अब सहने छैन,

म तिम्रो दमन ।

 

मलाई जेलझैँ लाग्छन्,

यहाँका प्रत्येक सभ्यता र संस्कृति

मलाई सास फेर्नै मुस्किल भइरहेछ,

धमिरा लागिसकेको माटोको ढिस्कोजस्तो,

मेरो जन्मदिनमा मनाउनुपर्दैन कुनै उत्सव,

गर्नुपर्दैन कुनै नाटक

भर्खरै अस्पतालमा कति मारिँदै होलान् गर्भमै छोरीहरु

भर्खरै कति मारिए होलान् यो धर्तीमा छोरीहरु !

 

यो वीभत्स हत्या शृंखलाले म पागल भइसकेकी छु,

तिमीलाई कस्तो नदुखेको !

कसरी गर्न सकेको आफ्नै आमा र छोरीको हत्या !

उसको चित्कारको कल्पनाले मात्र पनि

आङ सिरिङ हुन्छ ।

सच्याऊ इतिहासले छोरीमाथि गरेका प्रत्येक अन्यायलाई

बन्द गर, छोरीलाई गर्भमै हत्या गर्न

कल्पना गर–

जसरी तिमीले छोरीहरुको हत्या गरिरहेछौ,

त्यसरी नै छोरीहरु यो दुनियाँमा जन्मन छाडे भने

यो संसार कस्तो होला ?

प्रकाशित: श्रावण ३, २०७५

ट्याग: कविता