विकासको ‘काउन्टर डिस्कोर्स’ [पुस्तक :जुर्मुराएको बखत]

पुस्तक : जुर्मुराएको बखत | लेखक : सोमत घिमिरे |प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : २०२ | मूल्य : ३७५ रुपियाँ

- सन्तोष आचार्य

राष्ट्रिय निकुन्जमा परिणत भएका नेपालका वनजंगलमा तामझाम गर्न, खानपानमा रमाउन, विदेशीलाई आफ्नो ताउरमाउर देखाउन र आफ्नो सुरक्षाका लागि सेना चाहिएको थियो । सेना नभए राणा, राजा कसरी सिकार खेल्ने ? बहादुरी कसरी देखाउने ? राजतन्त्र गयो, गणतन्त्र आयो । सेनालाई झन्डै पाँच दशकअघिदेखि वनजंगलको रखवारी गर्न लगाइयो । निकुन्जमा सेना राख्नुपर्छ, स्थानीय आदिवासीलाई नै त्यसको जिम्मा दिनुपर्छ, कसैले बहस नै गर्न चाहेन । हाम्रा वनजंगलमा सेना राख्दा वन कति जोगियो  ? वन्यजन्तु कति जोगिए ? यो बेग्लै गणित हो । तर, जंगलमा सेनाको बुट बज्दा अनि बन्दुक पड्किँदा जंगलमै जन्मिए/हुर्किएका सोह्रैआना सक्कली आदिवासीको जीवनको लय बिग्रियो कि ! विकास, संरक्षण वा अरू कुनै नाममा सीमान्तकृत समुदायमाथि कुन हदसम्मको अन्याय राज्य तहबाटै भयो ?

लामो समयदेखि प्राकृतिक स्रोत व्यवस्थापनको अध्ययन, अनुसन्धान, वकालतमा संलग्न सोमत घिमिरे पटक–पटकको राजनीतिक परिवर्तनपछि पनि सीमान्तकृत समुदाय लाभान्वित हुन नसकेका कारण खोतलिरहेका छन् । रैथाने विकास टिकाउ हुन्छ, आयातीत विकास खोक्रो हुन्छ । तर, पनि हामीकहाँ बौद्घिक भनिएको वर्ग सामान्य नागरिकका लागि विकास सिफारिस गर्छ । विकसित भनिएका देशहरूबाट विकास आयात गरिन्छ । घिमिरेको पुस्तक जुर्मुराएको बखतले विकासदेखि लिएर आदिवासी जनताको मुद्दालाई केलाउने प्रयास गरेको छ । ज्ञान उत्पादनको प्रक्रियामै सीमान्त वर्गसँग छलफल गरिएन भने उत्पादित ज्ञानले सीमान्त वर्गलाई झनै सीमान्त बनाउँछ भन्ने प्रमाण हो, पुस्तकको लेख ‘निकुन्जमा सेना किन ?’

‘गहुँबारीमा गाई’ मा मुगुको सरुभेगका एक किसानको प्रसंगले नेपालको कृषि प्रणालीको अवस्था चित्रित गर्छ । सरुभेगका किसान सतबर बूढा गहुँबारीको बीचतिर देखाउँदै लेखकलाई भन्छन्, ‘यो एउटा गरामा दुईथरी बीउ छ, एकथरी बीउ सयकडा दस फलेको छ, अर्कोमा गाई लगाइदिए हुन्छ । आफूले लगाएको बीउ फल्यो, सरकारले दिएको फलेन ।’ यसले सरकार  स्थानीय बीउ मासेर विकासे बीउतिर लागिरहेको छनक दिन्छ ।

घिमिरेले ‘विकासको गीत’मा नेपाली समाजको विकास बुझाइलाई छर्लंग पारेका छन् । लेखेका छन्, ‘विकास र अविकास के हो ? बडो गन्जागोल बनाइएको छ । अघोषित अभियान हेर्दा लाग्छ, मोही खानेहरू अविकसित हुन्, कोक खानेहरू विकसित हुन् । मकै, भटमास खानेहरू अविकसित हुन् । चाउचाउ, बिस्कुट खानेहरू विकसित हुन् । गाउँमा रोधी खेल्नेहरू अविकसित हुन्, सहरको डिस्को जानेहरू विकसित हुन् ।’ यस्तो धारणा निर्माणमा सशक्तीकरणको नारा बोकेर गाउँ छिरेका गैरसरकारी संस्थाको दोष देख्छन् घिमिरे ।

पुस्तक खासगरी विकासे बुद्घिजीवीदेखि आफूलाई आदिवासी जनजातिका मसिहा बताउनेलाई एकपटक पढ्न सिफारिस गर्न सकिन्छ । देशलाई परनिर्भर बनाउनकै लागि हामीले कसका लागि भरियाको काम गर्‍यौँ ? पुस्तकले बोलेको छ ।

प्रकाशित: श्रावण ३, २०७५

ट्याग: पुस्तक