[संस्मरण] बी फर बाहिर

- सायद अशोक

बेलुन फुक्दा–फुक्दा मुख सुन्निएजस्तो भयो । तर, त्यही मुखले मैले गीत गाएँ र गैरे सरलाई एउटा ठीकठीकैको सांगीतिक बिदाइ दिएँ । रंगीचंगी झल्लरे कागजमुन्तिर उभिएर मैले नेपथ्यको ‘रंगीन चरा’ गाएको थिएँ । उबेला विज्ञान पढाउने सरहरू नासातिर उडिरहन्थे । नासा भन्नु अमेरिका, अमेरिका भन्नु नासाजस्तै थियो । धेरैलाई ती दुवै छोइनसक्नुका लाग्थे र त फिजिक्स पढाउने सरहरू भटाभट हाम्रो एकेडेमिक क्यालेन्डरबाट त्यसरी हराउँदा ठूलो घटना भइदिन्थ्यो ।

त्यतिखेर म जे पनि गर्थेँ । जे पनि भन्नुको अर्थ– गीत गाउने, नाटक बनाउने, मिमिक्री गर्ने, फुटबल खेल्ने, क्रिकेट खेल्ने, डेस्कमा सर/मिसको स्केच बनाएर मुखको टुप्पोबाट बबल निकालेर त्यसमा केही उट्पट्याङ लेखेर छाडिदिने । एकपल्ट वेल्कम/फेयरवेल कार्यक्रममा ‘लजालु मुस्कानले प्रियसी...’ गाउने भनेर मैले सुगम र प्रवेशसँगै रिहर्सल गरेँ । भोलिपल्टदेखि दुई दिन बिरामी भएर रिहर्सलमा नगएको, मलाई सिनियर दाइहरूले निकालिदिएछन् । स्कुलमा रामकृष्ण ढकालको जस्तै स्वरमा ‘ओराली लागेको हरिणको चाल भो...’ गाएर पाएको पुरस्कारले मलाई एकफेर चिमोट्यो । त्यसपछि म परक्क मुन्टो बटारेर प्रहसनतिर लागिदिएँ ।

एक्मी इन्जिनियरिङ कलेजका ती दुई वर्ष मलाई न फिजिक्सको ‘स्ट्रेस’ र ‘ एक्सटेन्सन’ ले तान्यो, न त म्याथको ‘भेक्टर’ र ‘सेट’ ले । केमिस्ट्रीको त्यो माकुरे जालो फर्मुलाले मलाई खर्लप्पै निल्यो । अनि, बायोलोजीको  प्राक्टिकल सिटमा मरक्क मर्केर नाचेजस्तो ‘हाइड्रा’ बनायो भनेर जीडी सरले खिस्याएपछि त्यतातिरको मोह पनि हरायो । बरु जीडी सरले सेता जुँगा फुर्रफुर्र हुने गरी सास  दबाएर हामीलाई भन्ने गरेको ‘नबोली नबोली बस’ लाई दुरुस्तै पारेर साथीहरूलाई सुनाउन पो मज्जा लाग्यो ।

फिजिक्स पढाउने पीएन सरले ‘हल्ला नगर्ने ल’ भनेको र फिजिक्सकै अर्को सर जेआरपीले लय हालेर तीन खण्डमा ‘१२ कक्षामा पढ्ने विद्यार्थीलाई, हल्ला नगर भन्दा मलाई लाज लाग्छ’ भनेको पारा उतारेर म शिक्षकहरूको अनौपचारिक कालोसूचीमा पर्न थालिसकेको थिएँ । तैपनि, गीत गाउने रहर जस्ताको तस्तै थियो । त्यही बीचमा शम्भुजित बाँस्कोटा, प्रकाश ओझा, नवीन के भट्टराई र योगेश्वर अमात्यको आवाजले मलाई दोहोरो फाइदा भयो । पारा उतार्न पनि पाइने, गीत गाउन पनि पाइने । ‘सुन सुन सनम मलाया छाउनी...’ देखि लिएर ‘नझिम्काऊ है परेली, आयो तीते करेली...’ सम्म गाइदिएँ मैले ।

एक दिन कक्षा सकेर घर फर्किन माइक्रो कुर्दै थियौँ । केटाहरू चरण–चरणमा झर्थे– ठूलोभर्‍याङ, वनस्थली हुँदै गंगबु । त्यतिबेला सविन राईको एउटा गीत मेरो मुखैमा झुन्डिएको थियो । त्यसको पनि ‘धेरैचोटि मैले बाटो हेरेँ...’ भनेको चाहिँ मलाई खुब मन पथ्र्यो । मैले अचानक गुनगुनाएँ ‘धेरैचोटि मैले...।’ प्रवेश झसंग भएर वरपर हेर्‍यो । म खिसिक्क हाँसेँ । ‘साले, सेम गाइदियो यार ।’ उसले त्यति भन्दिनु मेरा लागि ठूलै भयो । दसैँ बिदाको अघिल्लो दिनको ट्यालेन्ट सोमा थियो मेरो नजर । ‘ मिमिक्री’ लाई ‘क्यारिकेचर’ भन्ने बेला थियो त्यो । एजे सरलाई केटाहरूले नै सोधिदिए, “ट्यालेन्ट सोमा क्यारिकेचर गर्दा सर/मिसहरू रिसाउनु त हुन्न नि !” “त्यो पनि ट्यालेन्ट हो, रिसाउनपर्ने कुरै छैन, गरे हुन्छ ।” अंग्रेजी पढाउने सरले नेपालीमै त्यसरी स्पष्ट भनिदिए, म केही पनि नबोली सुनिरहेँ । तर, सरले मतिर हेरिसकेका थिए । पर्फमरको लिस्टमा मेरो नाम थपियो ।

पर्फमेन्सको दिन विशेष भइदियो । हल भरिएको थियो । कोही ढोकाबाहिर कुर्सीमाथि चढेर हेर्दै थिए, कोही झ्यालबाहिरबाट भित्र चियाउँदै थिए । पछाडिपट्टि उभिएकाहरू  उफ्री–उफ्री हेरेको पनि मैले देखिरहेको थिएँ । मेरो पर्फमेन्स नै दुई भागमा गर्नुपर्ने गरी रमिता गरेछु । म त फ्याट्टै हिट भइदिएँ । बिदापछि क्याम्पस जाँदा त ११ का भाइ–बहिनी क्यारिकेचर दाइ भन्दै हाँसिदिए । कहिलेकाहीँ त सरहरू पनि मलाई देखेपछि त्यसै फिस्स गर्दिन्थे ।

त्यसपछि मैले अनौपचारिक रूपमा मात्रै गरेँ ती सबथोक । औपचारिक रूपमा मैले डिग्री माइला  नाटकको सूत्रधार हुँदा केही कोसिस गरेँ । सायद अस्मिन एकजना मात्रै होला, जसले मण्डला नाटकघरमा त्यो नाटक हेर्‍यो । सुवास लुइँटेलले पनि हेर्‍यो कि जस्तो लाग्छ । तर, पक्का भन्न सक्दिनँ । साथीहरू अनेकतिर छरिए पनि केही विशेष सम्झना बाँकी रहे । कसैले सम्झिनु भनेको कहीँ–कतै सुरक्षित रहनु हो ।

त्यतिबेला मैले गीत गाउन मरिहत्ते गर्नुको एउटा कारण के पनि हो भने आफू सबैको पारा उतारेर हैरान पार्ने र उट्ँग्याहा जवाफ लेखेर फिजिक्समा फेल हुने उरन्ठ्यौलो विद्यार्थी मात्रै होइन, गीत गाउन जान्ने कलाकार पनि हो भनेर चिनाउनु थियो । क्याम्पसभित्रैको कविता गोष्ठीमा ‘घन्टाघरले दुई हान्दा, ढिलो भएजस्तो लाग्यो, निरस बाटो पहिल्याउँदै, नेपथ्यबाट आवाज आयो’ भन्ने कविता सुनाएर मैले आफूलाई कविका रूपमा चिनाउन खोजेकै थिएँ । तर, गीत गाउने नशा फेरि घट्दै घटेन । त्यतिबेला ‘हाइ फाइभ’ मा भएका साथीहरूलाई ई–ग्रिटिङ कार्ड पठाउनेबाहेक फुर्सद डट कमबाट नेपाली गीतका शब्द कापीमा सार्ने प्रचलन थियो । हरिवंश आचार्यले गाएको ‘साझा बसमा जो पनि चढ्दछ...’ देखि सुनील बर्देवाले गाएको ‘जब म निद्रामा सपनी तिम्रो देख्छु...’ सम्मका गीत मैले कापीमा सारेँ ।

त्यही उन्मादको लहरमा थपिन आइपुगे, नेपाली तारा र नेपाल स्टार । नेपाली ताराको दोस्रो चरणमा मेरी बहिनी पनि पुगेकी थिइन् । मचाहिँ नेपाल स्टारमा गएँ, गाउनैका लागि ।  साथीहरू रवीन्द्र खड्का र सुवास लुइँटेल पनि थिए सँगै । अडिसनको दुई–चार दिन अगाडिदेखि नै मलाई रुघाले ठ्याप्पै समायो । त्यति हुँदा पनि मलाई नेपाल स्टारमा जान परिहाल्यो । पहिला पनि बिरामी भएर रिहर्सलमा नजाँदा ‘लजालु मुस्कानले प्रेयसी...’ गाउन पाइनँ, नेपाल स्टारमा त जसरी पनि गाउने भन्ने थियो । आमाले ज्वानो र चामल भुटेर सानो प्लास्टिकमा पोको पारिदिनुभाथ्यो । बिहान ६ बजे रवीन्द्र, सुवास र म रंगशालाअगाडि भेट्यौँ । उनीहरूले दूध चिया पिए, मैलेचाहिँ स्वर जोगाउन कालो चिया पिएँ । त्रिपुरेश्वरको ब्लु बर्ड होटलमा थियो अडिसन । लाइन थापाथली क्याम्पसभन्दा अलि वरसम्म पुगेको थियो । अर्कोपट्टिको लाइन रंगाशालाको गेटसम्मै थियो क्यारे । ६ घन्टा लाइनमा उभिएर पर्खिन्जेल मैले प्लास्टिकभरिको ज्वानो–चामल सकेँ । ज्वानोको रस जतनले घुटुक्क निल्दै स्वर खुलाउने प्रयत्न सम्झेर म आफैँ छक्क पर्छु ।

जेहोस्, ज्वानो–चामल सकियो, ६ घन्टा पनि कट्यो । लाइनमा उभिने सबैले मच्चिई–मच्चिई गीत गाउँथे । तर, मचाहिँ स्वर जोगाउन मनमनै गाउँथेँ, ‘सपना भुलाई सारा...।’ भित्र पुगेपछि रवीन्द्र एकातिर, सुवास र म अर्कोतिर । त्यसरी जतन गरेको स्वर त्यसै खुल्न मान्दै मानेन । योगेश वैद्यजस्तो दिग्गज गायकले गाएको त्यो गीत मलाई त्यत्तिकै त्यहाँ गाउन मन लागेकै थिएन किनभने निर्णायक निमा रुम्बा, जेम्स प्रधान र नलिना चित्रकार (हो कि अर्की कुनै गायिका ?) हुन् भन्ने प्रचार थियो । त्यहाँ त कहिल्यै देख्दै नदेखेका मान्छेले ‘सुरताल भन्या के हो ?’ भनेर सोधीसोधी गीत गाउन लगाए । ध्यानमग्न भएर गाएँ । राम्रै गाएँ भन्ने भाथ्यो । मलाई ‘बी’ लेखेको चिर्कटो दिए । आयोजकले मसँग चिर्कटो मागे, मैले देखाइदिएँ । यताबाट जानूस् भनेर एउटा ढोका देखाए । ढोकाबाट छिर्दै गर्दा निमा रुम्बा अर्कोतिरबाट हुरीबतासझैँ आउँछन् जस्तो लागेको थयो । तर, ढोका पछ्याउँदै जाँदा त राम भण्डारको बाहिरपट्टि पो निस्कियो । ‘बी’ फर बाहिर पो भइदियो ।

रवीन्द्र र सुवाससँग पनि भेट भयो । ज्वानो चपाई–चपाई जोगाएको स्वरले गीत गाइयो तर केही पनि नभनी बाहिर पठाइदिए । समोसा र पुरी–तरकारी खाँदै दु:ख मनाउ गरियो । ‘अन्याय भो, घेरा हाल्न जाऔँ’ भन्नेहरू राम भण्डारको बाहिरपट्टि मुर्मुरिदै थिए । आफूलाई हनहनी ज्वरो आएझैँ भयो । केही वर्षअघि, लभ पर्दाताका जिन्दगीका अने कथरी सम्झनाको कुरा गरियो, त्यही बेला थाहा भयो, समुनाजी पनि ‘बी फर बाहिर’ भएकी रहिछिन् ।

प्रकाशित: श्रावण २, २०७५