मझधारमा मुरलीधर

- गोकर्ण गौतम

घटना हो, १४  वर्ष हुँदाको ।

स्कुल जाँदै गर्दा एक जना दाइले भनेछन्, ‘मैथिली फिल्मको सुटिङ भइरहेको छ । हेर्न जाऔँ ।’ तर, उनी स्कुलतिरैको बाटो लम्किए । ती दाइले फेरि भनेछन्, ‘हिरोइनलाई देख्न पाइन्छ क्या !’ उनी फनक्क फर्किए र दाइको पछि लागे । छायाँकन स्थलमा सयौँको भीड थियो । ठेलमठेल गर्दै हिरोइन नजिक पुगे । उनलाई अप्सरा देखेझैँ भएछ । त्यहाँ एउटा बाँदर पनि थियो । कहिले कसको काँधमा बस्थ्यो, कहिले कसको । यो देखेर हिरोइन रोमाञ्चित हुन्थिन् । उनलाई लागेछ, ‘ बाँदर मेरो काँधमा आए मलाई हिरोइनले हेर्थिन् ।’ नभन्दै बुरुक्क उफ्रँदै बाँदर उनको काँधमा चढ्यो । सबैले ताली पिटे, उनीतिर हेरे । हिरोइनले पनि हेरिन् ।

मुरलीधर मिझार मुसुक्कै ।

अचानक बाँदरले कानमा टोकेर भाग्यो, सबै हाँसे, हिरोइन पनि हाँसिरहेकी थिइन् । कानबाट रगत बगिरहेको थियो । तैपनि, मुरलीधर दंग थिए, हिरोइनले हेरिरहेकी जो थिइन् । ज्यादै रोमाञ्चित पल थियो त्यो । सट् लिने बेला भएछ क्यार † बडेमा ज्यान भएका बडीगार्ड आए, सबैलाई त्यहाँबाट हटाए । अरू भागे तर मुरलीधर एकटकले हिरोइनलाई हेरिरहेका थिए । बडीगार्डले तीन–चारपटक ‘ जाऊ’ भनेर हप्काए । नमानेपछि घोक्र्याएर निकाले । किशोरवयका मुरलीधरको स्वाभिमानलाई धक्का लाग्यो । इख पलायो । अनि, आफैँसँग कसम खाए, ‘कहिल्यै अरूको सुटिङ हेर्न जान्नँ । ठूलो भएपछि आफैँ फिल्म खेल्छु, आफैँ बनाउँछु ।’

झन्डै चार दशकअघिको त्यो वाचा अझै तोडिएको छैन । दर्जनौँ फिल्ममा अभिनय गरे, आफैँले बनाए । तर, कहिल्यै कसैको सुटिङ सेटमा गएका छैनन् ।

व्यक्ति एक तर प्रतिभा अनेक अर्थात् मुरलीधर । कलाका प्राय: पाटोमा पोख्त । घगडान अभिनेता हुन्, फिल्म लेख्छन्, निर्देशन गर्छन्, गीत गाउँछन्, कम्पोज गर्छन्, लेख्छन्, विज्ञापनमा आवाज दिन्छन्, विज्ञापनको पटकथा लेख्छन्, जिंगल बनाउँछन्, भ्वाइस–ओभर गर्छन् । २६ असारमा रेडियो नेपालमा नेपालसँग मुरलीधर भन्दै थिए, “यो सबै गड गिफ्ट हो । म त सिर्फ अभिव्यक्त गर्ने माध्यम मात्र हुँ ।”

प्रतिभाले भरिएका छन् । नेपालमा मात्र होइन, मुम्बईमा पनि शान छ । तैपनि, घमन्ड क्लेससम्म छैन । भन्छन्, “अझ धेरै सिक्नु छ, गर्नु छ । कोही कलाकार कहिल्यै पूर्ण हुन्न ।”

‘उडायो सपना सबै हुरीले...’ यो गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गाउने अरू कोही नभएर मुरलधीर नै हुन् । शब्द र संगीत पनि उनकै । ‘चिसो चिसो सिरेटोमा...’ उस्तै लोकप्रिय छ । ‘इतनी शक्ति हमे देना दाता...’ भन्ने गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ । यसमा पनि मुरलीधरकै आवाज छ । नेपाली र हिन्दी मात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौँ कर्णप्रिय गीत रेकर्ड गराएका छन् ।

संगीत र मुरलीधरलाई अलग्याएर हेर्नै सकिन्न । यसरी शिखर चुम्नुको मुख्य कारणचाहिँ पारिवारिक पृष्ठभूमि हो । उनकै शब्दमा, संगीत विरासतमा पाएका हुन् । उनका बुबा नथुनी मिझार संगीताचार्य थिए । आमा उजेलीदेवी पनि गीत भनेपछि हुरुक्कै । बालकैमा स्टेजमा उक्लेर गीत गाउन थाले, जो–कोहीले मन पराउँथे । वल्लो–पल्लो गाउँबाट पनि गाउन निम्तो आउँथ्यो । मनोबल बढ्दै गयो । अझ निखारिन सिरहाबाट काठमाडौँ आए र संगीताचार्य सूर्यराज शर्मासँग सिक्न थाले ।

शास्त्रीय संगीतप्रतिको लगाव गहिरो हुँदै थियो । त्यही बेला अर्थात् सन् १९७८ मा भारतीय दूतावासको छात्रवृत्तिमा विख्यात पण्डित जसराजसँग संगीत सिक्ने मौका पाए र मुम्बई गए । सपना थियो, बलिउडमा पाश्र्व गाउने ।

अनि उनको अभिनयकला ?

यो पनि बच्चैदेखि उनीसँगै थियो, संगीतजस्तै । स्कुलमा नाटक हुँदा, गाउँमा नौटंकी हुँदा पहिलो रोजाइ मुरलीधर नै । अरूको जीवन बाँच्न पाउने भएकाले अभिनयमा दिलचस्पी बढ्दै गयो । त्यसैले कसैले कतै नाटक खेल्न बोलाए दौडिहाल्थे । काठमाडौँ आएपछि मुम्बईबाट अभिनय सिकेर फर्किएका हिमालय लोहनीसँग पहिलो नाटक खेले । त्यसपछि सत्यमोहन जोशीद्वारा लिखित पहाड चिच्याइरहेछमा अभिनय गरे । नेपाल प्रज्ञाप्रतिष्ठानमा यस नाटकको भव्य सो भयो । सबैबाट वाहवाही पाएपछि मुरलीधरलाई लागेछ, ‘संंगीत मात्र होइन, अभिनयलाई पनि सँगै लैजानुपर्छ ।’ त्यसैले त मुम्बई पुगेपछि फिल्म खेले, नेपाली, हिन्दी दुवै ।

मुरलीधरले भिमा, मै आजाद हुँ, काल्का, हम दो हमारे दोजस्ता हिन्दी फिल्म खेले । नक्सलाइट्समा मिथुन चक्रवर्ती र स्मिता पाटिलसँग काम गरे । माइतीघरका निर्देशक बीएस थापाको हिन्दी फिल्म गंगाधाममा पनि अभिनय गरे । तर, हिन्दी फिल्मसँगको नाता मिस्टर इन्डियापछि टुट्यो । मन घोच्ने कारण यस्तो रहेछ ।

फिल्ममा उनी डाक्टर फुमान्सुको भूमिकामा थिए, जसले अनिल कपुर सानो हुँदा उनका बाबुलाई मारेको हुन्छ । ग्याजेटबारे पनि फुमान्सुलाई मात्र थाहा हुन्छ । अर्थात्, फिल्मको खलनायक नै मुरलीधर । सुटिङ सकियो । सम्पादन भयो । लेखक जावेद अख्तरले फिल्म हेरेछन्, अमरिश पुरीभन्दा मुरलीधर शक्तिशाली लागेछ । मुरलीधर सम्झन्छन्, “त्यसपछि रिसुट गरियो । मेरो रोल काटेर टुक्रा पारियो, अमरिश पुरीलाई मात्र स्थान दिइयो ।”

यो घटनाले मुरलीधरभन्दा मुम्बईमा बस्ने नेपालीको चित्त दुखेछ । अनि पत्र लेख्न थाले, ‘तपाईं नेपालमा चाहिँ मुख्य भूमिकामा खेल्नुहुन्छ । मुम्बईमा चाहिँ खानै नपाएर कुनै अर्थ नभएको छोटो भूमिका गरेको हो भने हामी पाल्छौँ तर हाम्रो मन दुख्ने गरी यस्ता झिनामसिना चरित्रमा अभिनय नगर्नुस् ।’ यस्तै आशय भएका दर्जनौँ पत्र आउन थाले । त्यो समय सम्झँदै मुरलीधरले भने, “मलाई पनि लाग्यो, मालपुवाको टुक्रा खानुभन्दा कोदोको सिँगै रोटी खानु वेस । त्यसैले हिन्दी फिल्म खेल्नै छाडिदिएँ ।” उनलाई लाग्छ, काम राम्रो भएकाले नै सम्पादनका क्रममा रोल काटियो ।

त्यसपछि नेपाली फिल्मप्रतिको प्रेम गाढा हुने भइहाल्यो । सम्झना उनले खेलेको पहिलो नेपाली फिल्म हो । साइनो, सम्पत्ति, कुरुक्षेत्र, तृष्णा, सन्देशलगायतका फिल्ममा जबर्दस्त अभिनयकला पस्किए । पछिल्लोपटक भैरवमा देखिएका थिए । कति फिल्मको कथा र चरित्र मन पर्दा मुरलीधर बिनापारिश्रमिक खेलिदिन्थे । तर, यसबीचको तीतो–सत्यचाहिँ मुम्बईमा बस्ने भएकाले सम्पर्क गर्न मुस्किल पथ्र्यो, सोही कारण नेपाली फिल्मबाट प्रस्ताव कम आउँथे ।

बलिउडमा त ‘ब्याडलक’ लागिहाल्यो । त्यसैले त उनलाई फिल्म खेलाएका निर्देशकहरू मुरलीधरसँग जति अभिनय क्षमता छ, त्यो देख्न नपाइएको गुनासो गर्छन् । उनी आफैँलाई पनि यस्तै लाग्दो रहेछ । भन्छन्, “यहाँ नियमित बस्ने अवस्था थिएन । पेन्डुलमजस्तो भएँ, कहिले काठमाडौँ, कहिले मुम्बई ।” यसपटक पनि दुई गीत रेकर्ड गराएर २७ असारमा मुम्बई फर्किसकेका छन् ।

अहिले नेपाली फिल्मको प्रस्ताव आएको छैन । तर, अभिनयको भोक ज्यूँकात्यूँ छ । हिटलर नामक भोजपुरी फिल्मचाहिँ रिलिजका क्रममा छ । महाभारत सिरियलमा मुरलीधर कृपाचार्य बनेका थिए, ६ भाग प्रसारणपछि २० दिन छुट्टी भयो । त्यही बेला दूरदर्शन टेलिभिजनको सिरियल फोक टेल्स अफ लद्दाखमा अभिनय गर्न लद्दाख पुगे । पाँच दिनमा सुटिङ सकियो तर, तुफान र आँधीले गर्दा उडान हुन सकेन । २५ दिन त्यहीँ बित्यो । महाभारत युनिटसँग सम्पर्क हुन सकेन । फर्कंदा अर्कै पात्र ‘रिप्लेस’ भइसकेका थिए । त्यो भूमिकाले उनलाई थोरबहुत चम्काउने पक्का थियो । भन्छन्, “सायद मेरो भाग्य नै कमजोर थियो ।”

राजेशपायल राईलाई चिनाउने गीत हो, ‘निष्ठुरीलाई माया गरी...।’ जबकि, यो गीत मुरलीधरको स्वरमा रेडियो नेपालमा पहिल्यै रेकर्ड भइसकेको थियो । शब्द र संगीत पनि उनकै । यो गीत सुनेपछि राजेशपायलले भनेछन्, ‘दाजु, म पनि गाउँछु है ।’ मुरलीधरले सोचेछन्, ‘स्टेजतिर गाउने होला ।’ ‘हुन्छ’ भनिदिए । तर, राजेशपायलले रेकर्ड नै गरे । यही गीतबाट नाम र दाम कमाए । मुरलीधर भन्छन्, “न आधिकारिक सम्झौता भएको थियो, न त रोयल्टी नै पाएँ । चित्त त दुख्छ नै ।”

यस्ता मन दुखाउने घटना अनेक छन् । बलिउडको पाश्र्व गायनमा चम्कने चाह पनि पूरा भएन । अचेल संगीतको काम अलि सुस्त छ । युट्युबले गर्दा एल्बम बिक्दैन । तैपनि, कलाकारिता र आफ्नो विगतप्रति रत्तिभर पश्चात्ताप छैन । भन्छन्, “गायक र अभिनेताका रूपमा जति माया पाएको छु, त्यो नै मेरो सबैभन्दा ठूलो सफलता र सन्तुष्टि हो ।” धन्न ! सपना हुरीले उडाएको छैन ।

प्रकाशित: श्रावण १, २०७५