‘बिटक्वाइनमा लगानी गर्नु र जुवा खेल्नु उस्तै’

- विभु लुईटेल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेका रोजाइका प्रविधि समयसँगै परिवर्तन हुने गरेका छन् । आइफोन ३ देखि सुरु भएको उनको फोन यात्रा अहिले आइफोन एक्ससम्म आइपुगेको छ । “बीचमा सामसुङका केही फोन पनि चलाएँ । तर, बानी फेर्न निकै गाह्रो भयो । त्यसैले अहिले आइफोनतिरै फर्केर आएको छु,” उनी भन्छन् । 

उनको फोन सामाजिक सञ्जाल चलाउन अत्यधिक प्रयोग हुने गरेको छ । यसले बैंकिङ कारोबारमा पनि सहयोग पुर्‍याएको छ । विश्वकपका प्रत्येक खेलको रिभ्यु र प्रिभ्यु हेर्न आइफोनले उनलाई सहज पारिदिएको छ । यसबाहेक उनी फिटनेसका विभिन्न आयामबारे सजग रहन पनि आइफोन नै प्रयोग गर्छन् । फोनले अन्य ठूलाठूला ग्याजेटको ठाउँ लिन थालिसकेको अनुभव उनीसित छ । 

फोटोग्राफीका सोखिन लामिछानेसँग विशाल क्यामेरा कलेक्सन छ । संसारका कुनाकुनामा पुगेर त्यहाँका ऐतिहासिक धरोहर तथा मानिसका जीवनशैलीलाई उनी आफ्ना क्यामेरामा कैद गर्न चाहन्छन् । फोटोग्राफीप्रतिको गहिरो रुचिले पहिले यसबारे अनेकौँ प्रशिक्षण पनि लिइसकेका यिनी अहिले 

क्यानन ईओएस ७ डी मोडलको डिएसएलआर प्रयोग गर्छन् । 

भाइरस नलाग्ने र सुरक्षाका दृष्टिले विन्डोजका ल्यापटपभन्दा उम्दा ठहरिएका एप्पलका म्याकबुक पहिले यिनका रोजाइमा पर्थे । तर, स्टोरेज तथा सहज अपग्रेड सुविधा भएका डेलका ल्यापटपले अहिले उनका म्याकबुकलाई प्रतिस्थापित गरिदिएका छन् । यसरी एक ब्रान्डबाट अर्कोमा स्थानान्तरण हुने क्रममा उनले लाखौँ रुपियाँ खर्च गरिसकेका छन् । 

केही समयअघि विश्व बजारमा तहल्का मच्चाएको डिजिटल मुद्रा बिटक्वाइनमा उनले लगानी गर्न चाहेका थिए । तर, बीचमा बाधक बनिदियो यसको अस्थिरता । भन्छन्, “बिटक्वाइनमा लगानी गर्नु र जुवा खेल्नु उस्तै लाग्यो । त्यसैले पछि हटेँ ।” तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसबारे आइरहने टीकाटिप्पणीले भने उनको ध्यानाकर्षण गरिरहन्छन् ।

प्रकाशित: असार ३२, २०७५