संग्रौला अपडेट्स

- कुमार नगरकोटी

यो रेडियो नेपाल हो । स्टुडियोको घडीमा अहिले ठीक १२ बजेको छ । अब खगेन्द्र संग्रौलाबाट मध्यरातको न्युज बुलेटिन सुन्नुस् । मेरो जीवनमा आज दिनभर देखिएका प्रमुख घटनाहरुको समाचार लिई सदाझैँ निद्रालु समयमा तपाईंसमक्ष उपस्थित भैसक्या छु । प्रस्तुत छन्, आजका सेलेक्टेड अपडेट्स :

►किन हो कुन्नि ! ब्रह्ममुहूर्तमा आज मलाई बाडुली लागेर आयो । ओछ्यानबाट म हिक्क–हिक्क गर्दै उठेँ । मलाई स्वर्गीय पारिजात दिदीको भसक्कै याद आयो । लाल–दन्त मञ्जनले दाँत माझ्दै गर्दा बार्दलीमा लेडी कागलाई देखेँ । का... का... का... का... गर्दै कागले मलाई एकाबिहानै देवनागरी वर्णमालाको याद दिलाइदियो । लेडीको सामु एक कचौरा पानी राखिदिँदै भनेँ, “पारिजात दिदी, आज मसित भोड्का, ह्विस्की या नेवारी ऐला छैन । यसैले काम चलाउनुस् । पानीले आफ्नो आँत भिजाउनुस् ।”

►चाबेलको चिया अड्डामा उज्ज्वल प्रसाईं, गगन थापा, प्रदीप गिरि र चैतन्य मिश्रसित अलैँचीको चिया पिउँदै गर्दा दैव जानून्– कुन्नि कताबाट एक अपरिचित स्त्री प्रकट भइन् । हामी सबैको नामै काढेर अभिवादन गर्दै तिनले भनिन्, “तपाईंहरुसित दास क्यापिटल छ कि नाई ? छ मने फेरि एकपल्ट पढ्नुस् । र, जनी गरी मेरो उद्धार गर्नुस् । हेर्नुस् न, क्यापिटल अर्थात् पुँजीले जगत्लाई आफ्नो दास बनाइसक्यो ।” हामी एकअर्कालाई हेर्दै ट्वाँ पर्‍यौँ । स्त्री गइसकेपछि प्रदीप गिरिले हामीसित भने, “मलाई ती स्त्री रोजा लक्जेम्वर्गजस्तै लाग्यो । तपार्इंहरुलाई त्यस्तो लागेन ?”

►चिया अड्डाबाट घर फर्कंदै गर्दा एउटा ज्याङ्गो गजलकारले बाटो काट्यो । म अर्कै बाटो हिँडेँ ।

►बाथरुमको सावरबाट झरेको पानीले मलाई अनायास जीवन शर्माको याद दिलायो । रक्तिम परिवारको गीत मैले यतिका दिन बिर्सिसकेको रहेछु । ‘झरनाको चिसो पानी...’ गुनगुनाउँदै स्नान गरेँ । तनको मयल साबुनले धोइपखाली गरेँ । मनको मयल पखाल्ने साबुन चैँ कुन डिपार्टमेन्टल स्टोरमा पाइएला भनी नुहाउन्जेल गम खाएँ । उदास भइगएँ ।

►भोजनपश्चात् गुर्सेनी जहानले बडो मायालु लवजमा भनिपठाइन्, “हेर बूढा ! साहित्य लेखेर धेरैको मन माझ्यौ । आऊ आज सँगसँगै भाडा माझौँ ।” भाँडा माझ्दै गर्दा यसो सोचेँ : फेसबुक र ट्वीटरमा अन्ट न सन्ट लेख्नुभन्दा भाँडा माझ्नु अति उत्तम । तसर्थ आज ट्वीट गरिनँ । तर, पनि ट्वीटे ब्रोहरुले ‘किन ट्वीट गरिनस्, मरिसकिस् कि क्या हो भनी तथानाम भने ।

►आज पनि छोरीले अम्रिकाबाट फोन गर्दै भनी, “बुबा तपार्इंहरु बूढो भइसक्नुभयो । आत्माको हेरचाह गर्नुहोला ।” छोरीले आत्माको कुरा गरेकी हो या आमाको ? क्यै बुझिनँ । साँच्चै बूढो भएछु क्यारे !

►दिउँसो एकछिन टिभी हेर्नुपर्‍यो भनी बसेँ । तर, सिमेन्ट र छडको विज्ञापनले हैरान पार्‍यो । देश बनाउने जिम्मा त सिमेन्ट र छडले पो लिएका रैछन् भनी चित खाएँ । केपी र पिके ब्रोहरु त बिनासित्ति चुमुकचुमुक उफ्रिरा रैचन् त ए गाँठे ! देश निर्माणको अभिभारा त सिमेन्ट र छडका बिग ब्रोहरुले हत्याइसकेका रैछन्  !

►एक घन्टा दिवा–निद्रा भोगचलन गरेँ । तर, कस्तो ताज्जुप ! सपनामा सयौँ संग्रौलालाई देखेँ । एउटा खगेन्द्र संग्रौलाले मलाई सोध्यो, “खग्गु ब्रो, माचिस छ ?” गोजी छामेँ र छैन भनेँ । ऊ अँधेरो मुख बनाई पुन: फुटपाथमा भिख माग्न बस्यो । एउटा खगेन्द्र संग्रौलालाई भिक्षुको अवतारमा देखेँ । जो शब्दम् शरणम् गच्छामी, मौनम् शरणम् गच्छामीको मन्त्रोचारण गर्दै गुम्बाभित्र पस्यो । अर्को खगेन्द्र संग्रौलालाई मैले महलमा देखेँ, श्रीपेच लगाइवरी ब्लु जिन्स, स्वेत कुर्था र ब्ल्याक डिंगे बुटमा सजिएर सिंहासनमा बसेको । शानसित राजदण्ड समातेको निजले मलाई उर्दी जारी गर्दै भन्यो, “संग्रौला, दाम चढाउन आगे बढ् ।” दाम थिएन कुलेलम ठोकेँ । खुल्ला सडकमा हस्याङ–फस्याङ दगुर्दै गर्दा दुवै किनारामा लामबद्ध सयौँ संग्रौलाहरुलाई नारा लगाइरहेको देखेँ । हेर्दा–हेर्दै सबै खगेन्द्र संग्रौलाहरु बिराला भइगए र मलाई लखेट्न थाले । यस्तैमा आकाशबाट एउटा गिद्धले मलाई झम्ट्यो र आफूसितै उडाइलग्यो । गिद्धलाई हेर्छु, गिद्ध पनि मै रहेछु । कस्तो दु:स्वप्नबाट ब्युझिँदा पसिनाले निथ्रुक्क भिजेको रहेछु । यो जगत्मा कति खगेन्द्र संग्रौला होलान्, मबाहेक ?

►एउटा स्वप्न लेख लेख्नुपर्‍यो भनी ल्यापटप खोलेँ । तर, एउटा इमेलमा अल्झिएँ । लेखिएको थियो: खगेन्द्र भाइ, आजको दिवा–स्वप्नमा मैले तिमीलाई देखेँ । तिमीलाई गिद्ध, बिरालो, भिखारी, राजा र भिक्षुका विभिन्न पर्सोनाजमा देख्नुपर्दा खिन्न भएँ । स्वप्नलेख होइन, तिमी स्वप्नकथा लेख । आराम छु आराम चाहन्छु । तिम्री पारिजात दिदी ।” ल्यापटप बन्द गर्दै सोचेँ : त्यो सपना मेरो थियो कि पारिजातको ? त्यो सपना वास्तवमा कसले देखेको थियो ?

अन्तत: न्युज बुलेटिनको निर्धारित समय लगभग सकिनै लाग्या छ । यतिन्जेल धैर्यपूर्वक मेरो समाचार सुनिदिनुभएकामा म खगेन्द्र संग्रौला तपार्इंलाई धन्यवाद दिन चाहन्छु । भोलिको न्युज बुलेटिनमा पुन: भेट्ने वाचासहित बिदा हुन्छु । समाचार क्वचाल: ।

प्रकाशित: असार ३१, २०७५

ट्याग: पर्सोनाज