विश्वकप २०१८ : मस्कोमा महाभिडन्त

- पवन आचार्य

रुस विश्वकप सुरु हुनुअघि धेरैले पूर्वविजेता ७ राष्ट्रमध्ये एकले विश्वकप उचाल्ने अनुमान गरेका थिए । फाइनलसम्म आइपुग्दा त्यसको सम्भावना ५० प्रतिशत कायमै छ । तर, विश्वकप जित्ने राष्ट्रको सूचीमा यसपटक नवौँ राष्ट्रका रूपमा क्रोएसिया पनि आफ्नो नाम दर्ता गराउने योजनामा छ । राजधानी मस्कोको लुज्निकी रंगशालामा ३१ असार राती हुने खेलले २१औँ संस्करणको विश्वकप अन्डरडगको हुने या महारथीकै कब्जामा जाने भन्ने टुंगो लगाउनेछ ।

धेरै अर्थमा रुस विश्वकप अन्डरडग राष्ट्रकै प्रदर्शनका कारण चम्कियो । सेमिफाइनलमा पुग्दा रुस विश्वकप युरोकप भिडन्तजस्तो प्रतीत हुन पुग्यो । हुन पनि क्वार्टरफाइनलमा दक्षिण अमेरिकी २ र युरोपेली ६ मुलुक पुगेकामा अन्तिम ४ मा स्थान पक्का गर्ने टोलीमा इंग्ल्यान्ड, बेल्जियम, फ्रान्स र क्रोएसिया रहे । फुटबलका महारथी ब्राजिल र अर्जेन्टिनाले अन्तिम ८ भन्दा माथि आफूलाई लैजान सकेनन् ।

त्यसो त उरुग्वेमा सन् १९३० मा सुरु भएको विश्वकपमा यसपटक नयाँ अध्याय देखापर्‍यो । यसपटकको सेमिफाइनलमा ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनाको सहभागिता रहेन । विश्वकप सुरु भएपछि यी चार राष्ट्रमध्ये एकले पनि सेमिफाइनल नखेलेको यो पहिलो घटना हो ।

क्रोएसिया

विश्वकपको पाँचौँ सहभागितामा पहिलोपटक फाइनल खेल्न लागेको क्रोएसियाको यो टोलीलाई स्वर्णिम पुस्ता मानिन्छ । सन् १९९८ मा डाभोर सुकरको प्रेरणामा विश्वकपको सेमिफाइनलसम्म पुगे पनि दी ब्लेजर्स् उपनाम पाएको क्रोएसियाले फाइनलको यात्रा भने पहिलोपटक तय गरेको हो । त्यसैले पनि उनीहरूले विश्वकपको फाइनलअघि नै जितको स्वाद चाखिसकेका छन् । युगोस्लाभियाबाट स्वतन्त्र भएपछि सन् १९९२ मा क्रोएसियन टोली फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफामा पुन: दर्ता भएको हो । त्यसयता उसले दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपबाहेक सबै संस्करणमा सहभागिता जनाउँदै आएको छ । अघिल्लो संस्करणको ब्राजिल विश्वकपमा भने क्रोएसिया समूहगत चरणबाटै बाहिरिएको थियो । घरेलु टोलीसँगको खेलमा विवादास्पद पेनाल्टीको निर्णयले क्रोएसियाको विश्वकप यात्रा समूहगत चरणमै टुंगियो ।

सन् १९९८ मा विश्वकपको तेस्रो स्थान हात पारेको क्रोएसियाले तत्कालीन समयमा फिफा वरीयतामा पनि छलाङ मारेको थियो । विश्वकपअघि १२ स्थानमा रहेको क्रोएसिया पछि तेस्रोमा उक्लियो । त्यसैले पनि सो सफलता दिलाउने सुकर सम्मिलित टोलीलाई क्रोएसियाको फुटबलमा स्वर्णिम पुस्ताका रूपमा हेरिएको छ ।

अर्जेन्टिना, नाइजेरिया र विश्वकपको डेब्युडेन्ट टोली आइसल्यान्ड रहेको समूह ‘डी’ मा परेको क्रोएसियाले लिग चरणमा एउटै खेल गुमाएन । नाइजेरियालाई २–० ले हराएको क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले मात खुवायो । समूहगत चरणमा क्रोएसियाविरुद्ध गोल गर्ने एक मात्र टोली आइसल्यान्ड रह्यो । लिग चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डमाथि २–१ को जित निकाल्यो ।

नकआउट चरणमा डेनमार्कविरुद्ध भिडेको उसले नतिजा आफ्नो पोल्टोमा पार्न पेनाल्टी सुटआउटसम्म कुर्नुपर्‍यो । खेलको पहिलो ४ मिनेटमै दुवै टोलीले १–१ गोल गरे पनि बाँकी ९० मिनेट र थपिएको आधा घन्टामा पनि गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । गोलरक्षक ड्यानियल सुवासिचले उत्कृष्ट प्रदर्शन गरे पनि क्रोएसिया अन्तिम ४ मा प्रवेश गर्दा पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो । घरेलु भूमिमा भएको विश्वकपमा चामत्कारिक प्रदर्शन गरेको रुसलाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमै ४–३ ले हराएको क्रोएसियाले सेमिफाइनलमा आधुनिक फुटबलको जन्मदाता इंग्ल्यान्डलाई २–१ ले स्तब्ध पार्दै फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो ।

बाल्कन राष्ट्रमा फुटबलको डाडुपन्यू सञ्चालन गरेर बसेकाहरू आर्थिक अनियमिततामा फसेपछि समर्थकमा निराशा व्याप्त थियो । विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेर क्रोएसियाका लुका मोर्डिच र डेनाज लोभरेनले समर्थकको मन जित्ने प्रयास गरेका छन् । उनीहरू र डिनामो जाग्रेबका पूर्वमालिक ज्राभाको मामिचले गरेको अर्बौं युरोको आर्थिक अनियमितताको साक्षी भएको फुटबल समर्थकको आरोप छ । क्रोएसियाली फुटबल संघका वास्तविक अध्यक्षका रूपमा चित्रित उनी हाल बोस्निायामा शरण लिएर बसेका छन् । मामिचलाई गत जुनमा क्रोएसियाको अदालतले दोषी ठहर गर्दै साढे ६ वर्षको काराबास सजाय सुनाएको थियो । मामिचमाथिको सुनुवाइका क्रममा मोर्डिच र लोभरेनसँग पनि बयान लिइएको थियो । बयानका क्रममा उनीहरूले मामिचको बचाउ गरेको र त्यसैका कारण कठोर सजाय नसुनाइएको फुटबल समर्थकको बुझाइ छ ।

खेलाडीप्रति आक्रोश पोख्न क्रोएसियाली समर्थकले स्प्लीट सहरमा सन् २०१६ को युरोमा बेहोरेको हारको मिति राखेर ‘हार तिमीहरूलाई सुहाउँछ’ अंकित ठूलो ब्यानर झुन्ड्याएका थिए । त्यस्तै, गत जुनमा ब्राजिलसँगको मैत्रीखेल गुमाएपछि समर्थकले ‘तिमीहरूको प्रत्येक हारले हामीलाई खुसी तुल्याउँछ । स्प्लीट सहर तिमीहरूको अझै खराब प्रदर्शनको आश गर्छ’ लेखिएको तुल सहरको बीचमा अवस्थित पुलमा राखिएको थियो । क्रोएसियाका पूर्वखेलाडी डारियो समिचिका अनुसार फुटबलप्रति समाजको सबै विश्वास पछिल्लो समय टुटेको छ । त्यसलाई पुरानै अवस्थामा फर्काउने सुवर्ण मौका विश्वकपको फाइनल जित्नुजस्तो अर्को विकल्प नहुने उनको भनाइ छ ।

सन् १९९८ को विश्वकपमा गोल्डन बुट जितेका क्रोएसियाली डाभोर सुकरलाई राष्ट्रिय हिरो मान्नेहरू धेरै थिए । तर, जब उनी मामिचको समर्थनमा फुटबल संघको अध्यक्ष बने त्यसयता सुकरलाई नरुचाउने फुटबल प्रशंसकको संख्यामा वृद्धि भएको छ । मोर्डिच र लोभरेनमाथि लागेको आरोप र घीनको कालो दाग मेटाउने रुस विश्वकप जत्तिको उपयुक्त प्लेटफर्म अरू हुने छैन ।

फ्रान्स

रुस विश्वकप सुरु हुँदासम्म एकपटकको विजेता फ्रान्सलाई दाबेदार मान्नेको संख्या धेरै थिएन । समूह चरणमा पनि फ्रान्सले डेनमार्क, पेरु र अस्ट्रेलियालाई प्रतिद्वन्द्वी पायो । डेनमार्कसँग बराबरी गरेको फ्रान्सेली क्षमताको सच्चा परीक्षा नकआउट चरणमा अर्जेन्टिनाविरुद्धको खेलमा भयो । उक्त परीक्षामा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पन्छाएन मात्रै, विश्वकपका आफ्नो दाबेदारीलाई थप मजबुत तुल्यायो । क्वार्टरफाइनलमा अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई २–० ले हराएको फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले मात दियो ।

सोही प्रदर्शनपछि फ्रान्सलाई रुस विश्वकपकै सन्तुलित टिम भनिन थालेको छ । त्यसो त जितले सबै कमजोरी ढाक्ने र टिमको सबल पक्षलाई पनि उदांगो पारिदिन्छ । फ्रान्सको हकमा पनि अहिले वाहवाही लुट्नेबाहेक अन्य केही भएको छैन । जब्बर रक्षापंक्ति, क्रिएटिभ र मिहेनती मिडफिल्ड र १९ वर्षे किलियन एमबापेजस्ता तेज तरार आक्रमण गर्ने युवा पंक्ति भएको फ्रान्स सन्तुलित मात्रै होइन, चुस्त टिम पनि हो ।

फ्रान्सका सबल पक्ष

जब्बर रक्षापंक्ति : बेल्जियमविरुद्धको सेमिफाइनलमा फ्रान्सले पूरै रक्षात्मक फुटबल खेल्यो । फ्रान्सले बेल्जियममाथि हात पारेको जितले टिमलाई विश्वकपको फाइनलमा त पुर्‍यायो । तर, फुटबल समर्थकको मनमा भने बास गराएन । बेल्जियन गोलरक्षक थिवाउट कोर्टोइसले फ्रान्सले ‘एन्टी फुटबल’ खेलेको भनेर आलोचना गर्न भ्याए । गोलको अग्रता लिएपछि फ्रान्सेली स्ट्राइकरहरूसमेत आफ्नो हाफमा झरेर खेलेका थिए । त्यसअघि पनि फ्रान्सेली खेलाडीहरू आक्रामक बन्नेभन्दा पनि बललाई आफ्नो हाफमै खेलाउन व्यस्त रहे । सेन्टर ब्यामक राफेयल भार्ने र स्यामुअल उमटिटीको प्रदर्शन बेजोड रहँदा फ्रान्सको रक्षापंक्ति चिरेर गोल गर्न सबै विपक्षीलाई चुनौतीपूर्ण छ । एन्गोलो कान्टे र पउल पोग्बा पनि परेका बेला मिडफिल्डबाट तल झरेर खेल्न माहिर छन् । डिप मिडफिल्डर मौसा डेम्बेले र एक्सेल विट्सेलको उपस्थितिले पनि फ्रान्सको रक्षापंक्ति जब्बर तुल्याएको छ ।

तेज एमबापे र हार्ड हिटरहरू : स्ट्राइकरहरू प्राय: पेनाल्टी एरियामा पुगेपछि आफ्नो गतिको तीव्रतालाई कायम राख्न सक्दैनन् । तर, १९ वर्षे एमबापे यस्ता खेलाडी हुन्, जसको गति मैदानको कुनै पनि स्थानमा कम हुँदैन । गति र बलमाथिको बेजोड नियन्त्रणले उनलाई रुस विश्वकपको राइजिङ स्टार तुल्याएको छ । विपक्षी रक्षापंक्तिका लागि एमबापे सदैव फियर फ्याक्टर बन्ने गरेका छन् । एमबापेको सोही गति र सीपका कारण डिफेन्डरले गलत ट्याकल गर्दा पेनाल्टीको सम्भावना पनि अधिक हुने भएकाले दबाब एमबापेमा कम र डिफेन्डरमा ज्यादा हुने गर्छ । जसको प्रत्यक्ष फाइदा फ्रान्सका अन्य स्ट्राइकरले उठाउन सक्छन् ।

स्वार्थरहित खेलाडीको बाहुल्य : फ्रान्सले रुस विश्वकपमा खेलेको पहिलो खेल अस्ट्रेलियाविरुद्ध थियो । सो खेल हेरेर समर्थकले फ्रान्स विश्वकप उचाल्ने दौडमा नरहेको टिप्पणी पनि गरे । प्रशिक्षक डेसच्याम्प्सको रणनीति अनुसार सो खेलमा खेलाडी खरो उत्रिन सकेनन् । ग्रिजम्यान, एमबापे र डेम्बेले क्लिक भएनन् । त्यसपछि प्रशिक्षकले ओलिभर जिरौडलाई मैदान उतारे । जिरौडले अझै गोलको खाता खोलेका छैनन् जारी विश्वकपमा । तर, उनले आक्रमणको जिम्मा सम्हाल्न थालेयता फ्रान्सेली टोली सन्तुलित र चुस्त हुँदै गएको छ । प्लेमेकरको भूमिकामा उनी पोख्त भएका छन् । उनले एमबापेलाई गोलका थुप्रै अवसर सिर्जना गरिदिएका छन् । पाएको बललाई गोलमा परिणत गर्नेभन्दा पनि गोल गर्ने पोजिसनमा बसेका खेलाडीलाई पास दिने उनको नि:स्वार्थी खेलबाट फ्रान्सले फाइदा उठाउँदै आएको छ । स्ट्राइकरले एक मात्र गोल गर्दा पनि फ्रान्सले आफ्नै भूमिमा भएको १९९८ को विश्वकप उचालेको दृष्टान्त छ । त्यतिबेला क्रिस्टोफेन डुग्यारे र स्टेफन गुइभार्चले मात्र १–१ गोल गरेका थिए ।

त्यसैले त्यतिबेला विश्वकप उचालेका डेसच्याम्प्सले अहिलेको टोली फ्रान्सेली फुटबल इतिहासमा सुन्दर र मनमोहक पाना थप्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । किनभने, हारको पीडा कस्तो हुन्छ भन्ने यिनलाई राम्ररी थाहा छ । जब टोली युरोकपको नजिक पुगेर पनि पोर्चुगलसँग २०१६ मा पराजित भएको थियो ।

प्रकाशित: असार २९, २०७५

ट्याग: विश्वकप