[स्मरण] थाहै नपाई तिलविक्रम

- वैरागी काइँला

गाईवस्तु चराउन बाँसका दुइटा चोंगेभरि नुन बोकेर गोठतिर हिँडेको म अन्तत: इलाम पुगेँ । कुरा विसं ००५ दसैँलगत्तैको हो । मेरा दाजुहरू दसैँ बिदामा इलामबाट घर पौवा आएका थिए । उनीहरूका हात्तीमार्का खाताहरू देखेर म पनि के–के कोरिदिन्थेँ । तर, एउटा कुराले मलाई खुबै आकृष्ट गर्‍यो, दाजुहरूका खुट्टाका कालाकाला छालाका जुत्ताहरूले । फुकालेर राखिछाडेका बेला ती जुत्ता म लाउँथेँ र वरपर कुद्थेँ ।

दसैँ सकिएर दाजुहरू इलामतिर जाने बेला आयो । यस वर्ष आधाभन्दा बढी पढाइ भइसकेकाले होला, लाठे भइसकेको ९ वर्ष पुगिसकेको मलाई इलाम जान नदिने भन्ने छनक अघिल्लै दिन थाहा भइसकेको थियो । साइँला दाजु भुवानी विक्रमसँगको गुपचुप सल्लाह अनुसार मैले भाग्ने निधो गरेँ ।

घरमा बुबा–मुमाले थाहा पाएछन् क्यार । बिहानै घरदेखि झन्डै दुई किलोमिटर टाढा निभु खोला किनारमा भएको गोठमा गाईवस्तुका लागि नुन बोकाई खेदे । संयोगकै कुरा हो, निभु खोला किनारको गोठ पनि उही दिशातिर नै पर्दथ्यो । म गोठ पुगेर चिम्फुला गाउँ उकालैउकालो हुँदै महाभारत डाँडा राँकेभन्ज्याङमा दाजुहरूभन्दा अघि नै पुगेँ ।

त्यस डाँडामा उभिएर पूर्वपट्टि निकै बेर अन्यमनस्क र अत्यधिक प्रफुल्ल हुँदै नियालेर हेरिबसेँ– डाँडाहरूले नघेरिएका आकाशसँग जोडिएको पृथ्वी । पछि थाहा भयो– ती तराईका विशाल फाँट रहेछन् । डाँडाकै पल्लोपट्टि हरिया वन–जंगलले ढाकिएको चमैता गाउँ, तल बग्ने देउमाई खोला । डाँडाकै अलिक तल पूर्वपट्टि फलाँटे बजार लाग्ने सिम्सारा गाउँ । त्यहाँबाट उँधो देखिने गजुरमुखी देवस्थल । यसअघि नै कति पटक भाग्दै गाउँलेका पछि लागेर म फलाँटे बजार आएको थिएँ । त्यहाँबाट देखिने फाकफोक गाउँ । जुन गाउँको नामबाट प्रसिद्ध लोकगीत बनेको थियो–

‘इलामको सिलाम फाकफोकको तोरी तेल झर्‍यो लै लै तुरुरु...।’

घरमा म भागेर हिँडेको थाहा भएपछि बुबाले हाम्रा कारबारी चन्द्रमान तामाङलाई लुगाफाटो बोकाई पठाउनुभएछ । भरिया साथीहरू, कारबारी चन्द्रमान, माइला दाजु डिल्लीविक्रम र साइँला दाजु भुवानीसँग भेट भएपछि लागियो इलामतिर ।

पुगियो इलाम बजार ।

धप्परको चेपचाप, देउमाई खोलाको उकालो र ओरालो भई रक्सेमा उसिनेको आलुको खाजा खाएर साखेजुङको ओरालो झुत्रे र पुवाखोला नाघेर तोरीबारीको करेङ परेको उकालो बाटो, कान्लाका सालिम्मो, लछेप्रै उम्रेका हरिया अम्लिसो घारी र बाक्लो बाँसघारी हुँदै सजिलै काट्यौँ । अझ पनि एउटा दृश्यको सम्झना हुन्छ– तोरीबारीको करेङ परेको उकालोमा निकै माथि एउटा चिलाउनेको रूख थियो, जसको फेदमा अगेनुमा पानीको भाँडा, अर्को भाँडोमा अलिकति दूध, बटुकामा केही चिनी र दुई–तीनवटा गिलास राखेर, व्यापारधन्दाको झिटिझ्याम्टी सबै लिएर कुनै दोकाने बसिरहेको– बटुवाहरूको प्रतीक्षामा ।

गुलियो चिया र पकाएको चना, आलुचना खाएर चुरेघाँटी र नारायणथान हुँदै झमक्क साँझ परेपछि इलाम बजारबीच भएर सुन्तलाबारी मावली घर पुग्यौँ । यसरी गोठ गएको केटो, पुग्यो इलाम बजार । तर, मेरो नाम त अर्कै पो भएछ ।

मेरा बाबुले बिचारी भएपछि नै साउँअक्षर सिकेका रे । यसपछि जागेको शिक्षाप्रेमले पछि उनी लिम्बूवानका सुब्बाहरूमा आफ्ना छोराहरू स्कुलमा पढाउनेहरूमा पहिला व्यक्ति भए भनिन्छ । यसरी आधा पढाइसकिएको भए पनि दाजुहरू र मामाहरूको प्रयासले मेरो नाम लेखाउने काम भएछ, पद्मोदय हाइस्कुलमा । पहिलो दिन सम्झन्छु म । जब हाजिरी लिने क्रम सुरु भयो, कान्छा गुरु श्रीकृष्ण शर्माले हाजिर गराए । सबैले पालैपालो उठ्दै ‘यस सर’ भन्दै गए । अनि, कान्छा गुरुले ‘तिलविक्रम’ भने तर जवाफ छैन । फेरिफेरि यही नाम बोलाए । जवाफ आएन । अन्त्यमा सोधे, “नयाँ आउने छात्र को हो ?” सबैले मलाई देखाए । म उभिएँ । “आफ्नो नाम थाहा नपाएको तैँले ?” कान्छा गुरुले झपारे ।

“बोलाउने मेरो नाम त काइँला थियो । फुपू र बज्यूहरूले ओझाहाङ भन्थे । घरमा त...,” मैले डराउँदै जवाफ दिएँ । “अबदेखि तेरो नाम तिलविक्रम भयो बुझिस् ?,” कान्छा गुरुले फैसला सुनाए । यसरी म तिलविक्रम भएँ ।

यसरी गोठमा नुन पुर्‍याउन जाने चिनामा लेखिएको नाम वझाङ (ओझाहाङ) नाम भएको लाठे केटो इलाम त पुग्यो तर परिचय पो सधैँका लागि अर्कै पाएछ– तिलविक्रम सुब्बा । अहिलेको तिलविक्रम नेम्बाङ ।

 प्रस्तुति : रमण घिमिरे

प्रकाशित: असार २९, २०७५

ट्याग: सस्मरण