अन्तिम राजाको निर्वासन [पुस्तक समीक्षा]

पुस्तक : रणहार (ऐतिहासिक आख्यान) | लेखक : योगेश राज | प्रकाशक : पब्लिकेसन नेपालय | पृष्ठ : १५१ | मूल्य : ३२५ रुपियाँ

- राजकुमार बानियाँ

सुटुक्क–सुटुक्क लेखकीय औतारमा उदाइरहन्छन्, योगेश राज । केही वर्षपहिले सुटुक्क शैलीमै गैरआख्यान सँझ्या संरचना : हिन्दू नेवारहरूको मृत्यु चेतना ल्याएका थिए भने यसपालि ऐतिहासिक आख्यान रणहार बजारमा छाडिदिए र आफू गुफा पसे ।

योगेश राजका किताबमा कुनै सदीच्छा या भूमिका हुन्नन् । न लेखकीय परिचय हुन्छ, न त तस्बिर । लेखक लगभग ‘भूमिगत’ नै छन् । सामाजिक सञ्जालमा भेटिँदैनन्, कतै अन्तर्वार्ता दिँदैनन् । लेखक कच्चा, नेता पक्का लाग्ने भीडभाडमा लुकुवा लेखक योगेश राजको पृथक पहिचान यही हो ।

खासमा भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको आख्यान हो, रणहार । आधा शताब्दी राजपाठ सम्हालेका ती राजाले १ मंसिर १८२६ मा गोरखाली राजा पृथ्वीनारायण शाहका सेनासमक्ष आत्मसमर्पण गरेको पृष्ठभूमिमा उपन्यास उभिएको छ ।

त्यसै पनि राजाहरूको इतिहास घात–प्रतिघात र षड्यन्त्रको सिलसिला हो । भक्तपुरमा गोरखाली लुटपाट र अत्याचारको फेहरिस्त नै छ उपन्यासमा । उपन्यासले किटानी जाहेरी नदिए पनि भक्तपुरे–गोरखालीबीचको घमासान युद्धमा दुई हजारभन्दा बढीको हताहती भएको र आगजनीबाट पाँच सय घर ध्वस्त भएको इतिहास छ ।

अन्तिम विजययात्राका क्रममा गोरखालीले तीनै राजा (रणजितसहित भक्तपुर दरबारमा शरणागत काठमाडौँका जयप्रकाश मल्ल र पाटनका तेजनरसिंह मल्ल) लाई नजरबन्द गरे । विद्रोही न्यार राजपुत्रहरूलाई काटे । दरबारका रुन्चे रानी मय्जुहरूलाई माइती लखेटे । असहयोगी भाइभारदारलाई धपाए ।

उसो त सैन्य शक्तिका आधारमा भक्तपुर कमजोर थिएन । तर, सैन्य चालबाजीमा चुक्यो । उपन्यासको पेटबोलीमा छ– रणजितले गर्न नहुने गरे, गर्नैपर्ने गरेनन् । शत्रु–मित्र चिनेनन् । राजा हुने लोभमा उनका छोराले नगरद्वार खोलिदिए । पादरीहरूलाई धर्म प्रचारमा छूट दिए ।

युद्धको परिणति कि मृत्यु हुन्थ्यो, कि आत्मसमर्पण ! कुर्कुच्चामा गोली लागेका जयप्रकाश पशुपतितिर जान पाए । तेजनरसिंह भक्तपुर दरबारमै कैद भए । तर, गोरखाली राजाले बनेपा, पनौती नभए साँखु, थिमी, बोडे, त्यो पनि नभए कीर्तिपुरको कुनै गाउँ लिन भन्दा पनि रणजित मानेनन् । उराठिएका राजा भन्छन्, ‘पचहत्तरको भएँ, मर्ने बेलामा मलाई राज्य किन चाहियो र ?’

रणजितमा न हारको क्षोभ छ, न त जितको अभिलाषा नै । त्यसैले घिउचाकु संक्रान्तिको अघिल्लो दिन छोरा अवधूत सिंह र नाम नखुलेकी कान्छी रानीसहित काशी गएका रणजितको चोला डेढ वर्षपछि त्यतै उठ्यो ।

१९ वर्षे युवा रणजितको दुब्ली केटी मनमैँजुसँगको प्रेमालाप पनि रोचक लाग्छ । जसरी बाबुआमाको छनोट गर्न सकिँदैन, त्यसैगरी पति छान्न पनि केटीले पाउँदिन भन्ने मान्यता राख्छिन् मनमैँजु । त्यसले ज्वरो नै आउँछ राजालाई ।

विश्वम्भर उपाध्यायजुले सम्झाएका छन् राजालाई, ‘जीवनै ज्वरो हो जुजु † बाँचुन्जेल त्यै ज्वरोले अचेत रहन्छौँ । नानाभाँतीका सपना देख्छौँ । सपनामै रम्छौँ । माया गर्छौं । तर, हामी मरी गए ब्युँझिदैनौँ जुजु †’ रणजितका पिता भूपतीन्द्रको मृत्युपछि उपाध्याजुको अर्को दार्शनिक व्याख्या छ, ‘मरेपछि को कहाँ जान्छ  ? मर्नु भनेको के हो ? यही पनि भन्न गाह्रो छ जुजु ! त्यो लख काट्ने मात्र हो ।’

अठारौँ शताब्दीको काठमाडौँ उपत्यकालाई चिहाउने आँखीझ्यालसमेत बनेको छ, रणहार । रणजितको जीवनकथासँगै भव्य राजप्रासाद, पाँचतले मन्दिर, कलाकौशल, सम्पदा र सांस्कृतिक वैभवले पुरानो भक्तपुरको उज्यालो तस्बिर छ । उपन्यासमा भक्तपुरको बनारस र तिब्बतसँगको सांस्कृतिक र आर्थिक सम्बन्धको झलक पनि समेटिएको छ ।

इतिहासमा आधारित पुनर्रचना भए पनि रणहार न तथ्यैतथ्यको फसल हो, न त कल्पनाको सिसमहल । लेखक कतै तथ्यसंगत त कतै विवेकसंगत हुन खोजेका छन् । तर, उपन्यास इतिहासबोधमा अग्लो छ । उसो त उपन्यासमा भूलचूकै छैन भन्ने पनि होइन । ‘एक नौवर्षे शिशु’ (पृष्ठ २८) जस्ता अधकल्चा वाक्यांश पनि फेला पर्छन् । संवादमा पनि लेखकले कन्जुस्याइँ गरेकै हुन् । केही थान छड्के वाक्य दिएर टारेका छन् ।

पृथ्वीनारायण शाहले रणजितका छोरासित मित लगाएर भक्तपुर ताकेको कुरालाई पनि स्थान दिएका छैनन् । ‘मूलमा जन्मेका’ रणजित डेढ वर्षको उमेरमा संरक्षकबाटै अपहरणमा पर्नुको प्रयोजन उपन्यास पढिसक्दा पनि खुल्दैन ।

रणहारले के देखाएको छ भने इतिहास रुखो र गह्रुँगो विधा होइन । साहित्यिक लालित्यका हिसाबमा त श्रेष्ठ नै लाग्छ उपन्यास । हरेक हरफ मौलिक छन् र सुकिला विम्बमा सजिएका छन् । भाषिक प्रवाह चुम्बकीय छ ।

उपन्यासमा कहिले कुशल साहित्यकार योगेश राजसँग भेट हुन्छ, कहिले मूर्धन्य इतिहासकार योगेश राजसँग । कहिले संस्कृति मर्मज्ञसँग भेट हुन्छ । तीनै विधाका वैद्यजस्ता लाग्छन् लेखक । कतै इतिहासकारलाई उपन्यासकारले जितेका छन्, कतै उपन्यासकारलाई इतिहासकारले । सारमा इतिहास, संस्कृति र साहित्यको त्रिवेणी लहर बन्न पुगेको छ, रणहार

प्रकाशित: असार २८, २०७५