[अनुभूति] मेरा अँध्यारा पक्षहरु

- कृष्ण धराबासी

सबैलाई आफ्ना विशेषताहरू मन पर्छन् । आफ्नो आलोचना वा अवगुणका बारेमा अरूको मुखबाट सुन्ने साहस त प्राय: कसैसँग पनि हुँदैन । आफ्ना गल्ती र कमजोरी छोप्नमा मानिसको सबैभन्दा धेरै समय खर्च भइरहेको हुन्छ । कतिले आफ्ना कमजोरीलाई नै आफ्नो विशेषता मानेका हुन्छन् । उनीहरूलाई कमजोरी सुधार्ने सल्लाह दियो भने कहिलेकाहीँ त्यही सल्लाह नै रिसइबीको कारण बन्न पुग्छ । प्राय: हामी अरूकै कमजोरीको खोजमा सबैभन्दा धेरै समय खर्च गरिरहेका हुन्छौँ । आफ्ना कमजोरी छोप्न अरूले ओढिरहेको छोटो अहम्को बर्को आफूतिर तानिरहेका हुन्छौँ । यही तानातानमा दुवै नांगिएका पनि हुन्छौँ ।

भगवान्को रूपमा स्थापित पात्र पनि आफ्नै अहम्को सिकार भएर मरेको भेटिन्छ । महाभारतका ‘महानायक’ कृष्णको निजी जीवन हेर्‍यौँ भने त्यहाँ उनका अनेकौँ दुर्गुणका डुंगुर भेट्ने छौँ । मानिसका कमजोरी खोजिनुपर्छ, उसका स्वभाव र बानीबेहोरामा ।  मेरा शरीरमा आएका कमजोरी मेरा अवगुण होइनन् । तर, शरीरको कमजोरीलाई नै निहुँ बनाएर सुविधा खोज्नु मेरो अवगुण हो । संसारमा हातै नहुने, खुट्टै नटेक्ने, आँखा नदेख्ने, अनेकौँ प्रकारका अपांगता बोकेर पनि आश्चर्यजनक सफलता हात पार्नेहरू कति छन् कति । आफ्नो शरीरको कमजोरीलाई प्रोत्साहन दिनेहरू मात्र सडकमा भीख मागेर बसेका हुन्छन् । यी सबै कुरा जानेको मैलेचाहिँ आफूलाई कहिल्यै यो मनोरोगबाट बाहिर ल्याउन सकिनँ । आज पनि म अमेरिकामा मेरा यिनै कमजोरी देखाएर कुनै काम नगरी दिन काटिरहेछु, जबकि यहाँ ७०–८० वर्षका बूढाबूढी पनि स्टोरमा काम गरिरहेका भेटिन्छन् । तिनको उमेर र अवस्था अनुसारको काम पाइरहेकै छन् । म भने घुँडाको लुलोपनलाई आधार बनाएर सधैँ कामबाट भागिरहेको छु ।

वास्तवमा शरीरप्रति मैले कहिल्यै न्याय गरिनँ । मेरो शरीर बालखैदेखि कमजोर त हो तर त्यसलाई दरो बनाउन अपनाउने उपायबारे कुनै महत्त्व दिइनँ । व्यायामबारे अरूलाई निकै प्रवचन पनि दिने गर्छु । जान्दछु भन्ने अहम्ले आफैँ ग्रस्त पनि छु । तर, त्यो बुद्धिलाई आफ्ना लागि भने खासै प्रयोग कहिल्यै गरिनँ । दुई–चार दिन केही गर्‍यो अनि छाडिदियो । मैले योगका बारेमा धेरै किताब कण्ठ पनि गरेँ । मेरो कुरा सुनेर कति जना योगगुरु पनि बने होलान् । तर, म भने नियमित रूपमा कपालभातीसम्म नगरी दिन बिताइरहेको हुन्छु । मेरो सबैभन्दा घीनलाग्दो बानी नाक कोट्याउने हो । बच्चैदेखि मेरो चोरऔँलो नाकका दुलामा पुगिरहन्थ्यो । नाकमा केही नभए पनि औँलो अघि कतिखेर नाकमा पुगिसकेको हुन्छ ।

म अलिक फोहोरी पनि छु । म सधैँ नुहाउँदिनँ । चिसो पानी छ भने त झन् धेरै बहाना बनाउने गर्छु । लगाएका लुगा निकै मैला नभएसम्म फेर्दिनँ । हातका नङमा फोहोर जम्न थालेको नदेखिएसम्म काट्दिनँ । सानामा दिदी हुर्केकै थाङ्नामा हामी सबै भाइबहिनी पनि हुर्केकाले मुत गनाएको, नाकले उति थाहै पाउँदैन थियो । त्यही भएर होला अचेल पनि मलाई फोहोरले प्रभावित पार्दैन । समारोहमा वा मान्यजनका अगाडि उपरखुट्टी लगाएर बस्नुलाई असभ्यता मानिन्छ । मलाई नै पनि स्टेजमा कोही त्यसरी बसेको मन पर्दैन । तर, म आफैँचाहिँ किन त्यसरी बस्छु, अचम्म लाग्छ । कुनै बेला थाहा पाउँछु र तुरुन्त झार्छु । तर, फेरि अघि कतिखेर खुट्टो त घुँडामाथि चढिसकेको हुन्छ ।

मलाई खानेकुरामाथि खासै आशक्ति छैन । तर, कसैले केही खाने कुरा अगाडि राखिदिएछ भने म त्यो नसकिएसम्म खाइरहेको हुन्छु । पेट अघाएकै थाहा पाउँदिनँ । अनि, त्यसैका कारणले बारम्बार पेटको समस्या भइरहन्छ । मीठो–नमीठोको उति मतलव हुँदैन । ज्यादा दुर्गन्धित, पिरो र चिसोबाहेक अरू खानेकुरालाई  मेरो कुनै दोष हुँदैन । त्यसरी खाएपछि जीउ पनि त खान पाएजस्तो हुनु नि !

म भन्न त कहिल्यै रिसाउँदिनँ, भन्छु । तर, त्यो मेरो आदर्श मात्र हो । म सामान्यत: भित्रभित्रै रिसाइरहेको हुन्छु । आफैँलाई थाहा हुन्छ नाकका पोरा फुलिरहेका तर सकेसम्म त्यसलाई दबाउन खोजिरहन्छु । मैले जति नाटक गरे पनि मेरो सन्किने बानी नजिकका साथी र आफन्तलाई राम्ररी थाहा छ । आफैँ सन्किने, आफैँ थन्किने म आफैँलाई बच्चाजस्तो पनि लाग्छ । जति रिसाए पनि आजसम्म कसैमाथि हात उठाएको छैन । जित्न सक्छु जस्तो लाग्ने भए छाड्थेँ होला र ?

धेरै कुरा जान्दछु भनेर अहम् ओकलिहिँड्ने म, आफूचाहिँ त्यही कुरा गर्नै सक्दिनँ । जस्तो, सानैदेखि मलाई अंग्रेजी विषय एक किसिमको फोवियाजस्तो भयो । त्यो त्यति गाह्रो विषय पनि होइन रहेछ । संसारमा सिक्न सबैभन्दा सजिलो भाषा नै अंग्रेजी रहेछ । त्यो भाषा सजिलो भएरै संसार प्रसिद्ध पनि भयो । मेरा सबै छोराछोरीले सुरुदेखि नै अंग्रेजी स्कुल पढे । उनीहरूको सबैभन्दा सजिलो भाषै त्यही हो । तर, म त्यससँग सधैँ डराउँछु र भाग्छु । आज अमेरिकामा बसेको पाँच वर्ष भइसक्यो । अझै पनि म राम्ररी दोहोरो संवाद गर्न जान्दिनँ । किन–किन बोल्न भनेपछि त्यसै जीउ सिरिंग भएर आउँछ । जबकि, मलाई थाहा छ भाषा भनेकै बोलिने कुरा हो र त्यो जान्ने नै बोलेर हो । मैले कोसिस गर्दा किन नहुनु तर पनि गर्दिनँ ।

हेर्दा म साधारण, सरल र मिलनसार नै देखिए पनि भित्रभित्र धेरै घमन्डी छु । मलाई ठीक लागेको कुरा अरूले जति नै भने पनि छाड्न सक्दिनँ । मेरो घमन्डी बानीले घरभित्र कहिलेकाहीँ तनाव उत्पन्न हुन्छ । पछि म गल्ती नै सावित भए पनि आफ्नो जिद्दीमा उभिनै खोजिरहेको हुन्छु ।

धेरै पछिसम्म एक्लो छोरा थिएँ । भाइ कुमार मभन्दा १५ वर्ष कान्छो छ । १५ वर्षसम्म तीन दिदीबहिनीको एउटा भाइ भएर घरमा पुलपुलिएर हुर्किएको थिएँ । मैले बालककालमा आफ्नो प्रशंसा मात्रै सुनेँ । सबैको माया पाएर हुर्किएकाले गाली त सुन्नै परेन । त्यसैले मलाई आफ्नो सानो आलोचनाले पनि अत्याउँछ । सामान्य कुराले असामान्य रूपमा प्रभावित हुन्छु । आलोचना नगरिने संसारमा कहीँ हुँदैन । तर, मलाई त्यसले ज्यादा छोइरहन्छ । अनि, अनावश्यक रूपमा म प्रतिक्रियात्मक हुन पुग्छु र झन् विवादमा पर्छु, परिरहन्छु ।

म आवश्यकताभन्दा ज्यादा लोभी छु । यो लोभले कैयौँ सम्भव सुविधाबाट समेत म आफैँ र परिवारका सदस्य वञ्चित भइरहेका हुन्छन् । त्यसैले पनि उनीहरू मलाई थाहा नदिई खर्च गरिरहेका हुन्छन् । कत्ति कुरा त उनीहरूले मलाई कहिल्यै पनि सुनाउँदा रहेनछन् । अब त मैले खासै लोभ नगर्दा पनि हुने हो । परिवारका सबै जना कमाउन थालिसकेका छन् । आफ्नो मात्र जीवन त जसले पनि पाल्न सक्ने भएकै छन् । उनै कमाउँछन्, उनै खर्च गर्छन् । त्यसमा मेरो उति टाउको दुख्नु नपर्ने हो । तैपनि, म उनीहरूको आर्थिक स्वतन्त्रतामा हस्तक्षेप गरिरहेको हुन्छु । मैले आर्थिक रूपमा उस्तो कुनै दान र सहयोग गरेको पनि छैन । हुन त त्यत्रो धेरै दान गर्न सक्ने अवस्था त नहोला । फिटिक्कै दिनै नसकिने भने होइन । तर, किन त्यतातिर मन नगएको होला त †

जता लाग्यो त्यता लागिरहने मेरो एकोहोरो बानीले परिवारमा कहिलेकाहीँ तनाव ल्याइरहेको हुन्छ । म लेख्न वा पढ्न बसेँ भने भोक लागेको वा खाइसकेको थाहा पाउदिनँ । मेरा लागि अरूले आफ्ना कति कुरा गुमाइरहेका हुन्छन् । यो एकोहोरो कुराले सधैँ राम्रै मात्र गर्छ भन्ने पनि त हुँदैन । मलाई घरभित्र सहन गाह्रो छ । बाहिरबाट हेर्दा म टाढाको हिमाल मात्र हुँ ।

आफैँलाई सधैँ अहित गरिरहने निकै नराम्रो बानी भनेको आफ्नो शरीरमा हुने असुविधा र रोगलाई लुकाउने हो । त्यसले गर्दा कति रोग भित्रभित्रै छिप्पिदै गइरहेका पनि हुँदा हुन् । अनावश्यक रूपमा खप्ने बानीले आफैँ पीडित भइरहँदा पनि खासै परिवर्तित भइरहेको हुन्नँ । अरूलाई दु:ख नहोस् भन्ने आदर्श पालेर झन् धेरै दु:ख दिइरहेको हुन्छु ।

घरमा कुनै काम सघाउँदिनँ । मेरो घमण्ड के होला भने मैले धेरै लेखिदिएकाले उनीहरूले मबाट अरू कुनै प्रकारको कामको आशा नगरून् । तर, घरभित्र त जे भए पनि केही न केही सहयोग गरे हुने भन्ने त जसलाई पनि हुन्छ । मैले कुनै दिन फुर्ती लगाएर गर्न नै खोजेँ भने पनि त्यो पहिलाभन्दा झन् नराम्रो भएको हुन्छ । यथार्थमा म कुनै व्यावहारिक सीपै नभएको मानिस हुँ । मेरो सबैभन्दा राम्रो सीपचाहिँ के हो भने एकदमै मिलाएर ढाँट्न जान्दछु ।

प्रकाशित: असार २८, २०७५

ट्याग: साहित्य