[तीन किताब] सुवानीमा आफ्नै छाया

अनिँदो पहाडसँगै मेरो प्रिय उपन्यास हो । पेदुङ (भारत) मा स्कुल पढ्दा नै मेरो हातमा परेको हो यो । बाआमाकी साथीको नाताले म सानोमा पारिजातको काखमा लडिबुडी खेल्थेँ । तर, उनी लेखिका या सामाजिक अभियन्ता हुन् भन्ने हेक्कासम्म थिएन ।

- मानुषी यमी भट्टराई

राजनीतिक पृष्ठभूमिका कारण म सानैदेखि गैरआख्यानमा झ्याम्मिएकी थिएँ । तर, आख्यानबाटै किताबी दुनियाँमा प्रवेश गरेकी हुँ । एक आन्टीमार्फत पढेको आख्यान सोफिज वल्र्डले दर्शनप्रतिको मेरो रुचिलाई गाढा बनाइदियो । र, मानव जाति र संसारप्रतिको कौतूहल शान्त पारिदियो । पछिल्लो समय भने राजनीतिक गतिविधि र प्राज्ञिक अनुसन्धानका क्रममा माक्र्सवादी क्लासिक साहित्यको पुन:भ्रमण गर्दैछु ।

राजनीतिशास्त्री रणधीर सिंहको क्राइसिस अफ सोसलिज्म  मलाई औधि मन परेको किताब हो । सोभियत संघको विघटन, कारण र परिणामबारे निकै गहिरोसँग लेखिएको यो पुस्तक हामीजस्ता अभ्यासमै जाने माक्र्सवादीले पढ्नैपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई नजिकबाट नियालेका सिंहको घरमा म गइराख्थेँ । यो पुस्तक प्रकाशित हुनेबित्तिकै ५० प्रति किनेर प्रचण्डलगायत पार्टीका शीर्षस्थ नेताहरूलाई पठाएकीे थिएँ । अहिले नेपालमा कम्युनिस्ट सरकार छ भनिन्छ । तर, पठनका कुरालाई लिएर हियाउने पनि गरिन्छ । अध्येतालाई हियाउने र साँचा कम्युनिस्ट दुवैथरीले पढ्नैपर्ने पुस्तक हो यो । किनकि, विगतमा कम्युनिस्ट पार्टीहरूले माक्र्सवादलाई आफू अनुकूल व्याख्या गर्न निश्चित अनुच्छेद र अध्यायलाई मात्र साभार गरेको देखिन्छ । समाजवाद र लोकतन्त्रको सम्बन्धलाई बुझ्न पनि यो पुस्तक उपयोगी छ । नेपाली कम्युनिस्टप्रति अनेक प्रश्न उठ्न थालिसकेको छ ।

प्राज्ञिक अध्ययनका क्रममा किताबभन्दा जर्नलका लेखहरू धेरै पढ्छु । मैले खोजेका लेखकका लेखहरू पनि जर्नलतिरै पाउँछु । तर, किताबकै सन्दर्भमा कुनै एक लेखकलाई पछ्याउने बानी छैन मेरो । किनकि, उही लेखकका सबै पुस्तक एउटै उचाइका हुँदैनन् । म कविताको चाहिँ उति राम्रो पाठक होइन । अरुन्धती रोय, पी साइनाथ, टोनी मोरिसन, मार्खेज, ओह्रान पामुकप्रति मेरो गहिरो आकर्षण छ ।

अनिँदो पहाडसँगै  मेरो प्रिय उपन्यास हो । पेदुङ (भारत) मा स्कुल पढ्दा नै मेरो हातमा परेको हो यो । बाआमाकी साथीको नाताले म सानोमा पारिजातको काखमा लडिबुडी खेल्थेँ । तर, उनी लेखिका या सामाजिक अभियन्ता हुन् भन्ने हेक्कासम्म थिएन । दार्जिलिङ–सिक्किमतिर नेपाली साहित्यको हाईहाई थियो । पारिजातको पनि चर्चा हुन्थ्यो ।

पारिजातको मृत्युपछि उक्त उपन्यास पढ्दा म मोहित भएँ । म आफैँ आख्यानजस्तै जीवन–गोरेटोमा थिएँ । म मानुषी थिइनँ । कुनै ठाउँमा अस्मिता हुन्थेँ भने कुनै ठाउँमा आस्था । उपन्यासलाई आफैँसँग जोडेर हेरेकी हुँदा मैले दोहोर्‍याइरहेँ । उपन्यासको पात्र सुवानीको ‘बोल्डनेस’, उतारचढाव, पुरुषसँगको सम्बन्ध र स्वभावले मलाई छोयो । आमनेपाली युवतीभन्दा अलि साहसी पात्र भएकाले पनि होला, मलाई आफ्नो राजनीतिक आस्थालाई कल्पनासँग जोडेर हेर्न सहज भयो ।

पठन–रुचि परिवारले जगाइदिए पनि यस्तै खालका किताब पढ्नुपर्छ भन्ने दबाब थेग्नु परेन । म ‘जनयुद्ध’ सुरु हुँदा दस वर्षकी मात्रै थिएँ । तर, परिवारसँग टाढिएकाले पुस्तक चयनमा स्वतन्त्र थिएँ । मन परेका किताब खुरुखुरु पढिसक्छु । र, रातभरि नै पढ्न सक्छु । अड्केर पढेँ भने त्यो मलाई मन नपरेको हुन सक्छ । मलाई उपहारमा किताब दिन मन पर्छ ।

मलाई चकित पारेको किताब हो, क्रिटिक अफ हेगेल्स फिलोसफी अफ राइट । कार्ल–माक्र्सको पूर्वाद्र्धका क्लासिक रचना पढ्ने क्रममा यो किताबमा पुगेकी थिएँ । माक्र्सले यसरी पनि लेखेका छन् भन्ने मलाई पत्तै थिएन । यो हेगेलको पुस्तक फिलोसफी अफ राइटमाथि गरिएको प्रतिप्रश्न हो । त्यो पढेपछि माक्र्सलाई लाग्यो कि हेगेलले तार्किक ढंगले राजतन्त्रको वकालत गरेका छन् । हेगेलीय पुस्तकको अनुच्छेद राखेर माक्र्सले आलोचनात्मक टिप्पणी गरेका छन् ।

मैले त्यो किताब पढ्दा नेपाल संविधान निर्माणको चरणमा थियो । लाग्यो, माक्र्सवादी–माओवादीहरूले आफ्ना दस्तावेज र भाषणमार्फत जनवाद, गणतन्त्र, राज्य पुन:संरचनाको मुद्दालाई संविधानमा ढाल्ने भाषा के हो ? नेपाली माक्र्सवादीहरूको आधार के हो ? माक्र्सले पनि जर्मन राजसंस्थाको दार्शनिक आलोचना गर्दै वास्तविक लोकतन्त्रको विकल्प दिएका छन् । निजी सम्पत्ति र लोकतन्त्रलाई जोडेर हेरेका छन् । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबारे सूक्ष्म रूपमा मैले सोच्ने मौका पाएँ । हामीले विचार अन्तबाट हुबहु आयात गर्नुभन्दा आफ्नै परिवेशको ठोस विश्लेषण गर्नु उत्तम हुन्छ । जवाहरलाल नेहरु विश्वविद्यालयको पुस्तकालयमा भेटिएको यो पुस्तक माक्र्सवादी दर्शनलाई अझै फराकिलो ढंगले सोच्ने आफ्नै प्रक्रियाको अर्को आरम्भ हो ।

अहिलेसम्म पढेका किताबको हिसाबकिताब त छैन । तर, राम्रै संकलन छ । संयुक्त संकलनमा ‘बाबुराम–हिसिला–मानुषी’ को छाप लगाइन्छ । मैले भोगेको जीवन आफैँमा कुनै डकुमेन्ट्रीजस्तै छ । त्यसैले हरेक रचना राजनीतिक पाठजस्तो लाग्छ । 

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: असार २७, २०७५

ट्याग: किताब