अद्वितीय प्रविधिमोह

- विभु लुईटेल

माइक्रोसफ्टका नयाँ–नयाँ प्रविधि ल्याइरहेका छन् माइक्रोसफ्टको आधिकारिक राष्ट्रिय सेवाप्रदायक माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपालका प्रमुख एलेन बैलोचन तुलाधर । 

२६ वर्षदेखि नेपालमा काम गरिरहेको सेन्टरका प्रमुख उनी युवालाई प्रविधिमैत्री बनाउन चाहन्छन् । आउँदो वर्षदेखि अमेजन, गुगल र फेसबुकका नौला प्रविधि र डेभलपर उपकरणसँग अहिलेका युवालाई साक्षात्कार गराउने र प्रविधिका माध्यमबाट दिगो विकासमा टेवा पुर्‍याउने उनको सोच छ ।

जापानी कम्पनी सार्पको कम्प्युटर प्रयोग गरेसँगै सुरु भएको तुलाधरको ग्याजेटप्रतिको मोह अहिले अत्याधुनिक ल्यापटप, मोबाइल र घडीसम्म आइसक्दा पनि उस्तै छ । बीचमा उनलाई एप्पलका कम्प्युटर र फोनले समेत आकर्षित गरे । एप्पल, आईबिएम हुँदै अहिले माइक्रोसफ्टका उपकरण प्रयोग गर्दा इलेक्ट्रोनिक प्रविधिले निकै ठूलो फड्को मारिसकेको भान हुन्छ उनलाई । 

टेबलमै नअटाउने भीमकाय कम्प्युटरदेखि किबोर्ड जोडे ल्यापटप, नजोडे ट्याबलेटझैँ चलाउन मिल्ने सर्पेmस डिभाइससम्म उनले प्रयोग गरिसकेका छन् । भन्छन्, “१४ घन्टा चार्ज टिक्छ सर्पेmस–प्रोमा । यो साँच्चै नै मानिसको दिमागको अनुपम उपज हो ।” जिपियुजडित सर्पेmसमा भिडियो सम्पादन पनि अब्बल हुने हुनाले यो उनको सबैभन्दा प्रिय ग्याजेट बन्न पुगेको हो । नयाँ प्रविधि आवश्यकताभन्दा धेरै प्रयोग गरिसकेको हुँदा अब आफ्नै शरीरमा माइक्रोचिप जडान गर्ने चाहना रहेको बताउँछन् ।

मिन्टको सानो ब्लुटुथ उपकरण उनको अर्को मन पर्ने ग्याजेट हो । उनी सधैँ यसलाई ब्लुटुथका माध्यमबाट फोनसँग कनेक्ट गरी पर्समा राख्छन् । “फोन हराउँदा मिन्टले नोटिफिकेसन दिन्छ, पर्स हराउँदा फोनले,” उनले यसको फाइदा बताए । आवाजले सञ्चालन गर्न मिल्ने कोर्टानाको भ्वाइस असिस्टेन्ट उनको अर्को प्रिय ग्याजेट हो । यसपछि उनी मिक्स्ड रियालिटी प्रयोग गरी बनाइएको माइक्रोसफ्टको होलोलेन्स किन्न चाहन्छन् । 

चस्माजस्तै लगाउन मिल्ने यस ग्याजेटको उपयोगिताबारे उनी भन्छन्, “यो लगाएपछि कसैसँग परिचय गरिरहनै पर्दैन । यसले मानिसको अनुहार स्क्यान गरेर इन्टरनेटमा उपलब्ध उसका सबै डाटा देखाइदिन्छ ।” 

आर्टिफिसियल इन्टलिजेन्स (एआई) युक्त गेमहरु एलेनका रुचिमा पर्ने गरेका छन् । केही कुरा पूर्वानुमान गर्न सक्ने यसको सामथ्र्यको उनी मुक्तकण्ठले प्रशंसा गर्छन् । भविष्यमा नेपालमा पनि यस्ता एप्लिकेसन निर्माण गर्ने इच्छा रहेको उनी बताउँछन् ।

प्रकाशित: असार २७, २०७५