फेरि ग्याङस्टर

- नेपाल संवाददाता

ग्याङ्स अफ वासेपुरले नवाजुद्दीन सिद्धिकीलाई चम्कायो । मसिना चरित्रमा सीमित नवाजलाई मुख्य भूमिकामै फिल्मको ओइरो लाग्यो । यसबीच, उनका दर्जन ज्यादा फिल्म रिलिज भए, तर ग्याङ्स अफ वासेपुरको चरित्रले उनलाई छाडेको छैन । अर्थात्, उनलाई ग्याङस्टर मार्काका चरित्रमा बढी रोजिन्छ । दशर्कमाझ पनि त्यस्तै छवि छ । रमन राघव २.० ले त्यो छविलाई अझ मूर्त बनायो । नेटफिलक्सको नयाँ वेबसिरिज सेक्रेड गेम्समा पनि नवाज ग्याङस्टरकै भूमिकामा देखापरेका छन् । जसको निर्देशक अरू कोही नभएर ग्याङ्स अफ वासेपुर र रमन राघव २.० का अनुराग कश्यप हुन् । अनुरागलाई विक्रमादित्य मोटवानीले पनि साथ दिएका छन् । 

इन्डो–अमेरिकन लेखक विक्रम चन्द्रले सन् २००६ मा एउटा उपन्यास लेखेका थिए, सेक्रेड गेम्स । सन् ८० र ९० को दशकमा मुम्बईमा मौलाएको अपराधको जगजगीमा केन्द्रित उपन्यासले भोडाफोन क्रसरोड बुक अवार्ड पनि जितेको थियो । उपन्यास आउँदा नेटफिलक्सको जन्मै भएको थिएन । अहिले नेटफिलक्सले हलमा चल्ने फिल्मलाई आच्छु–आच्छु पारिरहेको छ । अनुराग र नवाजहरूको झुकावलाई त्यसकै छनक मान्न सकिन्छ । नवाजले त नेटफिलक्सका सिरिजमा काम गर्दा पात्रमा अझ डुब्न पाइने अनुभव पोखेका छन् । सेक्रेड गेम्सको सुटिङ सकिएपछि उनले भनेका थिए, “फिल्ममा सेन्सरको डर हुन्छ । त्यसैले पात्रको रिस, इमोसन, वास्तविक बोलीचाली दबाउनुपर्छ तर सिरिजमा उन्मुक्त हुन पाइँदो रहेछ ।” 

सेक्रेड गेम्समा नवाजको चरित्रको नाम हो– गनेस गाईतोन्डे, जो आफूलाई भगवान् ठान्छ र जे चाहन्छु, त्यही गर्न सक्छु भन्ने दम्भ छ । उसको बाधक हुन्छ, प्रहरी अधिकृत सर्ताज सिंह (सैफ अली खान) । यसमा अर्की अभिनेत्री राधिका आप्टेलाई खुफिया एजेन्टका रूपमा देख्न पाइनेछ । आठ घन्टा लामो सिरिजको प्रत्येक भाग एक घन्टाको छ । 

 

प्रकाशित: असार २७, २०७५