वर्षाको वर्षा

- नेपाल संवाददाता

वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको एउटै फिल्म हिट भएको छैन । सहायक चरित्रमा देखिएका फिल्मले पनि खासै दर्शक बटुल्न सकेनन् । सुब्बा साब, लप्पन–छप्पन, गाजाबाजा उदाहरण हुन् । तैपनि, वर्षालाई फिल्मको वर्षा लागेको छ । जस्तो : ४ साउनमा उनी अभिनीत भैरे र १ भदौमा जय शम्भु प्रदर्शन हुँदैछ । यतिबेला पुरानो बुलेट नामक फिल्मको छायाँकनमा व्यस्त छिन् । सोही कारण भैरेको प्रमोसनमा पर्याप्त समय दिन सकेकी छैनन् । पुरानो बुलेटपछि गोपीको सुटिङ सुरु हुनेछ । गोपीमा खगेन्द्र लामिछानेसँग स्क्रिन सेयर गर्नेछिन् । यो जोडी पशुपतिप्रसादमा पनि सँगै देखिएको थियो । हिट नभए पनि फिल्मको खडेरी नलाग्ने वर्षाको भाग्यलाई चाहिँ मान्नैपर्छ । 

 

प्रकाशित: असार २५, २०७५