विश्वकप २०१८ : रुसविरुद्ध क्रोएशिया (म्याच प्रिभ्यु)

- पवन आचार्य

विश्वकपको २१ औं संस्करण विवादित हुने धेरैको अनुमान विपरीत कार्य गरेर आयोजक रुसले वाहवाही लुटिरहेको छ । विश्वकपमा सहभागी हुँदा सबैभन्दा तल्लो वरियताको टोलीमा दरिएको रुसले दोस्रो चरणमा स्थान पक्का गर्ने अनुमान पनि कसैले गरेका थिएनन् । तर, आयोजकका रुपमा मात्रै हैन रुस अहिले क्वार्टरफाइनल खेल्दैछ । रुसी समर्थकका लागि टोलीले विश्वकप उचालिसके सरह भएको छ । स्वतन्त्र राष्ट्रका रुपमा विश्वकपको पहिलो क्वार्टरफाइनल खेल्न लागेपनि सोभियत संघले १९६६ मा विश्वकपको सेमिफाइनल खेलिसकेको छ । विश्वकपअघि खेलिएका ७ वटा मैत्रीपूर्ण म्याचमा जित निकाल्न नसकेको रुस क्वार्टरफाइनल पुग्नुलाई पनि ठूलै सफलताका रुपमा हेरिएको छ ।

तर, यसपटक इतिहास दोहर्‍याउने प्रयास गर्दा रुस आफ्ना भरपर्दा लेफ्टब्याक युरी झिर्कोभको अनुपस्थितिले पिरोलिएको छ । एलन जागोभले पनि स्थान पक्का गर्ने नगर्ने एकिन भइसकेको छैन । प्रशिक्षक स्टानिस्लाभ चेर्चिसोभले कुनै पनि हालतमा जित पक्का गर्ने मनस्थितिका साथ मैदान ओर्लन खेलाडीलाई अह्राएका छन् । तर, घरेलु मैदानमा क्वार्टरफाइनल खेल खेल्नुको दबाब उनले राम्ररी बुझेका छन् ।

क्रोएशियालाई पनि चोटग्रस्त खेलाडीले पिरोलेको छ । इभान स्ट्रीनिच र माटेओ कोभासिच आज उपलब्ध हुने हुन् या हैनन् थाहा छैन । प्रशिक्षक ज्लाटो डालिच क्रोएशियालाई सन् १९९८ पछि पहिलोपटक सेमिफाइनल पुर्‍याउन चाहन्छन् । यस्तोमा उनी सामू धेरै बिकल्प छैन । 

हेड टु हेड

–रुस र क्रोएशियाले यसअघि खेलेका प्रतिस्पर्धात्मक खेल भनेकै सन् २००८ को यूरो छनोट हो । दुवै खेल गोलरहित बराबरीमा सकिएका थिए ।

–सन् २०१५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा क्रोएशियाले ३–१ को जित हात पारेको थियो । पहिलो हाफमा रुसले १–० ले अग्रता लिए पनि अन्तिम नतिजा क्रोएशियाले आफ्नो पक्षमा पारेको थियो ।

रुस

–पछिल्ला ५ विश्वकपमा आयोजक राष्ट्र सेमिफाइनलमा पुगेको तथ्याङ्कले रुसलाई केही फाइदामा देखाउँछ । इटाली १९९० मा, फ्रान्स ९८ मा, दक्षिण कोरिया २००२ मा, जर्मनी २००६ र ब्राजिलले २०१४ को सेमिफाइनल खेले ।

–तर, १९८६ मा मेक्सिको गृहमैदानमै प्रतियोगिताको क्वार्टरफाइनलभन्दा मापिथ जान सकेन । पश्चिम जर्मनीसँग पेनाल्पटी शुटआउटमा पराजित भएपछि मेक्सिकोको यात्रा अन्तिम ८ भन्दा माथि जान सकेन ।

–सन् १९५८ र ७० का बीचमा सोभियत संघको नाममा लगातार ४ क्वार्टरफाइनल खेले पनि रुसले पहिलो क्वार्टरफाइनल खेल्दैछ ।

–विश्वकपको नकआउट चरणका पछिल्ला ५ खेलमा रुसले ९० मिनेटभित्रै जित निकाल्न सकेको छैन । सन् १९६६ मा उसले क्वार्टरफाइनलमा हंगेरीलाई पराजित गरेको थियो । त्यो नै रुसले सेमिफाइनल यात्रा तय गरेको पहिलो विश्वकप थियो ।

–युरोपेली टिमसँग पनि रुसको विश्वकप नतिजा राम्रो छैन । युरोपेली टिमसँग भएको ७ भिडन्तमा रुसले २ बराबरी गर्दा ५ खेल विपक्षीलाई सुम्पेको थियो ।

–रुसले जारी विश्वकपमा २ आत्मघाती गोल गरिसकेको छ । यसअघि १९६६ मा बुल्गेरियाले एउटै विश्वकपमा २ आत्मघाती गोल गरेको थियो ।

क्रोएशिया

–क्रोएशियाले पछिल्लोपटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले पराजित गरेको थियो । यो नै क्रोएशियाले महत्वपूर्ण प्रतियोगितामा पेनाल्टी शुटआउटमा नगइ हात पारेको पछिल्लो सफलता हो ।

–क्रोएशियाले विश्वकपका पछिल्ला ८ खेलमा गोल गरेको छ । समग्रमा क्रोएशियाले १६ गोल गरेको छ । विश्वकपका पछिल्ला १२ मध्ये १० गोल क्रोएशियाले दोस्रो हाफमा गरेको छ ।

–विश्वकपका आयोजक राष्ट्रसँग क्रोएशियाको आँकडा त्यति सकारात्मक छैन । उसले २ पटक आयोजक राष्ट्रलाई नतिजा सुम्पिसकेको छ । सन् १९९८ मा आयोजक फ्रान्ससँगको सेमिफाइनल भिडन्त क्रोएशियाले २–१ ले सुम्पेको थियो । त्यस्तै अघिल्लो संस्करणमा पनि उसले समूहगत चरणमा ब्राजिललाई ३–१ को नतिजा सुम्पेको थियो ।

–क्रोएशियाका इभान राकिटिच, मार्सेलो ब्रोजोविच, मारियो मान्ड्जुकिच, मार्को प्याक्चा, टिन जेड्भाज, आन्टे रेबिच र सिमे भार्साल्को आज पहेंलो कार्ड पाए उनीहरुले आगमी खेल गुमाउने छन् ।

खेल पण्डितहरुले आयोजक रुसमाथि क्रोएशिया हावी हुने अपेक्षा गरेका छन् । उनीहरुका अनुसार विश्वकप उचाल्ने क्रोएशियाको सम्भावना १० प्रतिशत छ । त्यस्तै आयोजक रुसले विश्वकप जित्नेमा उनीहरुलाई ६ प्रतिशतमात्रै विश्वास छ । समूह डी को विजेता बनेको क्रोएशियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेर उपाधिमाथिको दाबेदारी प्रस्तुत गरिसकेको उनीहरुको तर्क छ ।

रुस र क्रोएशियाबीचको खेल शनिबार मध्यरात पौने १२ बजे फिस्ट ओलम्पिक स्टेडियममा शुरु हुनेछ ।

प्रकाशित: असार २३, २०७५

ट्याग: विश्वकप