विश्वकप २०१८ : इङल्याण्डविरुद्ध स्वीडेन (म्याच प्रिभ्यु)

- पवन आचार्य

विश्वकप फुटबलमा इङल्याण्ड र स्वीडेनले ठूलो उपलब्धि हासिल नगरेको धेरै भइसक्यो । आधुनिक फुटबलको जन्मदाता इङल्याण्डले सन् २००६ यता महाकुम्भको क्वार्टरफाइनलमा खेल्दैछ । त्यस्तै १९९४ मा सेमिफाइनलसम्म पुगेको स्वीडेनसँग घरेलु मैदानमा १९५८ मा फाइनल खेलेको झल्कोमा रमाउनबाहेक अन्य बिकल्प छैन । त्यसको ४ वर्षअघि १९९० मा इटाली विश्वकपका इङल्याण्डले सेमिफाइनल खेलको थियो ।

त्यसैले रुसी भूमिमा आफ्ना समर्थकहरुलाई नयाँ उत्साह सञ्चार गर्ने योजनासहित दुबै टोली मैदानमा उत्रिनेछन् । समारा एरिनामा मैदान ओर्लंदा स्वीडेनलाई राईट ब्याक माइकल लस्टिङको सावथ रहने छैन । उनी एक म्याचको प्रतिबन्धमा छन् । उनको स्थानमा इमिल क्राफ्थले मौका पाउने छन् । तर, मिडफिल्डर सेबास्ििटयन लार्सनको उपस्थितिले गुस्ताभ सेभेन्सनको स्थान भने खोसिन सक्छ । 

इङलिस टोलीमा पनि केही खेलाडीलाई लिएर समस्या छ । स्ट्राइकर जेमी भार्डी कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । उनी पूर्ण फिट छैनन् । एस्ले योङ र कायल वाकर फिट छन् । तर, जोर्डन हेण्डरसन, जेसी लिङगार्ड, रुबेन लोफ्ट्स चिक र वाकरले आज पहेंलो कार्ड खाए उनीहरुले सेमिफाइनल खेल गुमाउने पक्का छ ।

स्वीडेनका प्रशिक्षक जेन एण्डरसनले इङलिस फुटबल परिवर्तन भइसकेको र ७० को दशककोजस्तो डरलाग्दो नरहेको प्रतिक्रिया दिएका छन् । आफूले हेर्दै आएको इङलिस फुटबलभन्दा अहिलेको शैली फरक भएकाले डर मान्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।

इङलिस प्रशिक्षक गारेथ साउथगेट खेलाडीहरुले अनावश्यक रुपमा खाएको पहेंलो कार्डलाई लिएर चिन्तित छन् । २ वर्षको अन्तरालमा टिममा निकै सकारात्मक परिवर्तन आएको र त्यसैलाई निरन्तरता दिनसके इङलिस टोलीले ऐतिहासिक क्षण आत्मसात गर्ने उनको भनाई छ ।

हेड टु हेड

–स्वीडेन र इङल्याण्ड आमने सामने हुन लागेको यो २५ औं स्पर्धा हो । विश्वकपमा चाहिं यी दुई ३ पटक भिडेका छन् ।

–यसअघिका २४ भिडन्तमा इङल्याण्डले ८ र स्वीडेनले ७ खेलमा जित हात पारेका थिए । ९ खेल बराबरीमा सकिएको थियो ।

–विश्वकपमा यी दुईबीच दुईपटक समूहगत चरणमा भेट भएको थियो । दुबै खेल बराबरीमा सकिए । सन् २००२ को विश्वकपको उद्घाटन खेलमा स्वीडेन र इङल्याण्डले १–१ को बराबरी खेले । त्यस्तै २००६ मा भएको खेल पनि सोही बराबरीमा सकिएको थियो । यी दुबै खेलमा स्वीडेनले अग्रता लिन सकेको थिएन । तर बराबरी गर्नचाहिं ऊ सफल भएको थियो ।

–विश्वकपको छनोटसहितका अन्य प्रतिस्पर्धात्मक खेलको ८ भेटमा इङल्याण्डले मात्रै एक खेल आफ्नो पक्षमा पारेको छ । स्वीडेनले २ खेल जित्दा ५ खेल बराबरीमा सकिए ।

–यी दुईबीच पछिल्लो समय सन् २०१२ को नोभेम्बरमा मैत्रीपूर्ण खेलमा आमने सामने भएको थियो । ज्लाटन इब्राहिमोविचले स्वीडेनका लागि सबै गोल गरेको खेलमा ऊ ४–२ ले विजयी भयो ।

स्वीडेन

–सन् १९९४ पछि पहिलोपटक स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

–यसअघि खेलेका विश्वकपका ४ क्वार्टरफाइपनल मध्ये ३ पटक स्वीडेन विजयी भएको थियो । सन् १९३८, ५८ र ९४ मा यो सफलता हात लागेको स्वीडेन १९३४ मा भने जर्मनीसँग पराजित भएको थियो ।

–स्वीडेनले विश्वपमा पछिल्ला २ खेल जितेको छ । यसअघि लगातार ३ खेल जित्ने अवसर स्वीडेनको हकमा १९५० र ५८ मा जुरेको थियो । 

–स्वीडेनले यो विश्वकपमा ६ गोल गरेको छ । यो गोल संख्या इङलिस क्याप्टेन ह्यारी केन एक्लैले यसै विश्वकपमा गरेको गोल बराबर हो ।

–स्वीडेनले विश्वकपमा गरेको १४ मध्ये पछिल्ला ११ गोल दोस्रो हाफमा सम्भव भएका छन् । रुस विश्वकपमा पनि स्वीडेनले गरेको ६ मध्ये ५ गोल दोस्रो हाफमै निस्किएका थिए ।

इङल्याण्ड

–इङल्याण्ड ९ औं पटक विश्वकपको क्वार्टरफाइनल खेल्दैछ ।

–सन् १९६६ र ९० मा क्वार्टरफाइनलबाट माथि उक्लिए यता इङल्याण्डले सो सफलता दोहर्‍याउन सकेको छैन ।

–स्वीडिस प्रशिक्षक स्वेन गोरान एरिक्सनको प्रशिक्षणमा इङलिस टोली सन् २००२ र २००६ को विश्वकपको क्वार्टरफाइनल पुगेका थिए ।

–इङल्याण्डले मुख्य प्रतियोगितामा नकआउट चरणको खेलमा ९० मिनेटभित्रै जित निकाल्न सकेको छैन । सन् २००६ मा इक्वेडरलाई १–० ले हराएयता इङल्याण्डले सो नतिजा प्राप्त गरेको छैन ।

–विश्वकपमा इङलिस खेलाडीले ६ भन्दा बढी गोल गरेका छैनन् । सन् १९८६ मा ग्यारी लिनेकरले ६ गोल गरेका थिए । सो विश्वकपमा उनले गोल्डन बुट पनि जिते । ह्यारी केनले आज गोल थपे नयाँ कीर्तिमान बन्ने छ ।

–ह्यारी केन विश्वकपमा पेनाल्टीबाटै ३ गोल गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् १९९४ मा बुल्गेरियाका हृस्तो स्तोइचकोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।

विश्वकप शुरु हुनुअघि फुटबल पण्डितहरुले ब्राजिल र इङल्याण्ड फाइनलमा पुग्ने आँकलन गरेका थिए । तर, बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्किएको छ । यस्तोमा अब इङल्याण्डले विश्वकप जित्ने सम्भावना बढेको उनीहरु बताउँछन् । उनीहरुका अनुसार विश्वकप जित्ने इङल्याण्डको सम्भावना १२ प्रतिशत छ । जबकि स्वीडेनको हकमा उनीहरु त्यो सम्भावना ६ प्रतिशतभन्दा बढी देख्दैनन् ।

स्वीडेन र इङल्याण्डबीच कजान एरिनामा आज राति पौने ८ बजे खेल शुरु हुनेछ । 

प्रकाशित: असार २३, २०७५

ट्याग: विश्वकप