[नियात्रा] उचाइ, क्षणिक सत्य

- स्मिता पौडेल

केही महिनाअगाडि मात्र पसिना चुहाउँदै हिँडेको बाटोमा यसपटक विकास पुगेको रहेछ । मागजोग गरेर चढेको बोलेरो जिप रोंगाखोलाबाट कुइरीमण्डल धूलो उडाउँदै बेतोडले पाजुङतिर हुइँकिँदा नांगो डाँडा खोपेर बनाइएको सडक परैसम्म देखियो । त्यसो त, आजभोलि रसुवाका विकट गाउँ आसपासका अधिकांश कच्ची सडक हाइड्रोपावरका ‘एक्सेस रोड’ हुन् । बेरंगी चट्टाने भीरमा रंगीचंगी मेसिन हिमाली खोलामा अनवरत बगिरहेको उज्यालो खोज्न जाने बाटो कोतरिरहेका भेटिन्छन् । ७८ मेगावाटको सुपर सान्जेन जलविद्युत् परियोजनाले पाजुङ, ब्राजम, गोङगाङ हुँदै चिलिमेको तातोपानी गाउँसम्म लैजान लागेको बाटोले हाम्रो नागथली यात्राको कष्टलाई आधा कम पारिदियो ।

गोङगाङमा गाडीबाट ओर्लिएपछि झन्डै ९० डिग्रीको कोणमा उभिएको डाँडातिर नजर लाउन खोज्दा टाउकोमा सिउरिएको कालो चस्मा धुलाम्मे भुइँमा फुत्तै झर्‍यो । गन्तव्य पुग्न हामीले यस्ता तीन वटा डाँडा उक्लनुपर्ने थियो । कठिनाइको पूर्वाभासले मनमा अत्यास भरियो । चस्मा टिपेर पुछपाछ गर्दै भिरेपछि हाम्रो खास यात्रा सुरु भयो ।

हिमालमा बाँच्न मान्छे हदैसम्म ज्याद्रो हुनुपर्छ । खासमा एकाध वर्ष बसेपछि हिमालले मान्छेलाई आफूजस्तै ज्याद्रो बनाउँछ, चुनौतीको चाङ थुपारिदिएर । यहाँ ज्याद्रो नबन्नुको विकल्पै छैन । हुन पनि मान्छे हार्न नचाहने जात हो– हिमालका उचाइसँग पनि । पदयात्राका बेला उचाइसँग नहारेका त्यस्ता मान्छे भेटिँदा मलाई उचाइको चुनौती स्वीकार्ने प्रेरणा मिल्छ । खासमा म आफूभन्दा अघिअघि करिब ३० किलोको धोक्रो बोकेर पसिनाको धारा चुहाउँदै उकालो नापिरहेका मेमेहरूलाई देखेर यो कुरा प्रमाणित गर्न खोज्दै थिएँ । तलुवा खिइएको चप्पल र थाप्लो किचिने गरी भारी बोकेका ६० हाराहारीका मेमेहरूलाई भेट्टाउन मलाई हम्मे परिरहेको थियो ।

एउटा डाँडो कटिसकेपछि मेमेले छोर्तेनमा अड्याएर भारी बिसाए । हिमालतिर मरेका मानिस छोर्तेनमा बाँच्छन्– सम्झना बनेर । कतै बारीका डिलमा, कतै पहाडका थलीहरूमा चेप्टा ढुंगाको चाङ लगाएका स्तुप आकारका छोर्तेनहरू हिमालमा मृतात्माका सम्झनामा बनाइएका स्मारक हुन् । छोर्तेनको टुप्पोमा गाडेको एउटा ध्वजा आकाशतिर फहराइरहेको थियो, धर्ती–आकाशका अलग दुनियाँलाई जोड्ने सेतुझैँ । मेमेले त्यही स्मृतिको पर्खालमा भारी अड्याए । जीवनका अनगिन्ती अनुभवलाई सर्लक्क मुजा पारेर चाङ लगाएभैँm उनका गाला चाउरी परेका थिए । अनेक ठाउँमा प्वाल परेको टोपी टाउकोबाट फुकालेर पसिना पुछेपछि बल्ल मतिर फर्किए ।

“के बोक्नुभएको मेमे ?” मैले बोरा छाम्ने कष्ट नगरी सोधेँ ।

“बलुवा बोक्यो नि । ऊ त्यहाँ माथि ट्यांकी बनाउन ।” मेमेले सरल उत्तर यसरी दिए, मानौँ त्यो भीरमा पसिना काढ्दै बालुवा बोक्नु अति सामान्य कुरा हो र ‘ऊ त्यहाँ’ सहज गन्तव्य हो । मेमेले चोर औँलाले देखाएको ‘ऊ त्यहाँ’ मेरो आँखाले भ्याएन । त्यो भीरमा मेमेको ‘ऊ त्यहाँ’ एक घन्टाभन्दा कमको हिँडाइले पुग्ने ठाउँ होइन भन्ने मैले अड्कल काटेँ । र, मेमेको पछिपछि लागेँ ।

साथीहरू अगाडि पुगिसकेका थिए । हिमाली यात्रामा फोटोको चक्करमा अक्सर मेरा साथीहरू छुट्छन् । यसरी छोडिँदा हिमाली बाटोमा भेटिने हिमाली मान्छेसँग जोडिन पाइन्छ । मेमेको पछिपछि जतिजति उकालो उक्लिँदै गयो, उतिउति मेमेको गोङगाङ गाउँका घर बिलाएर छानाको टिन मात्र टल्केको देखिन थाले । अझ त्यसभन्दा तलको चिलिमे गाउँ जहाजबाट तल हेर्दाजस्तै देखियो, किरिङमिरिङ । थोरै माथि भीरमा अर्का मेमे भेटिए, बालुवा बोकेर उकालो लाग्दै गरेका । भेडाको ऊनले बुनेको सुकेको घाँसजस्तो खैरो बख्खु लगाएका उनलाई मैले निकै बेरसम्म खुट्याउनै सकिनँ । भीरमा ‘क्यामाफ्लज’ भएका उनले भीरमा ठोक्किएर प्रतिध्वनित भएको मेरो आवाजको वास्ता गरेनन् पनि ।

तिखा सिङ गरेका चौँरी डरलाग्दा थिए । गोठालो लागेको आले बाटो छेउको करु बारीमा बेस्सरी बिझाउने माटाका डल्लालाई ओछ्यान बनाएर मस्त निद्रामा रहेछ । जति बोलाए पनि ब्युँझेन । सायद सपना देखिरहेको हुँदो हो । बरु हाम्रो त्यो चिच्याइ सुनेर चौँरीहरू आफैँ पन्छिए ।

मेमेको ‘ऊ त्यहाँ’ आइपुग्यो । उनीहरूले भारी बिसाए । कुराकानीका क्रममा थाहा भयो, एउटा मेमे लेम्बा (बोल्न नसक्ने) रहेछन् । फ्यान्टाको जम्बो प्याक बोकेका मेरा साथीहरू पनि त्यो बोतल रित्याउन लागेको अवस्थामा त्यहीँ भेटिए । खरिएको आँतलाई एकै घुड्कीमा एक गिलास फ्यान्टाले भिजाएपछि हेर्दा किन हो लेम्बा फ्यान्टाको गिलास ढोग्दै रहेछन् । फ्यान्टाको गिलास रित्याएर उनी मुसुक्क हाँसे । लेम्बासँग अरू भाषा थिएन । उनको अनुहारमा खुसीको भाषा झल्कियो । र, संसार बुझ्न सबैभन्दा सजिलो भाषा खुसीकै होला !

मेमे र लेम्बाको योजना महत्त्वाकांक्षी थियो । यहाँदेखि एक घन्टा टाढाको ब्रिम्दाङ गाउँको पानीलाई पाइपबाट यो बिन्दुसम्म ल्याउने, मान्छेको खुट्टो पनि नअडिने भीरमा सिमेन्टको ट्यांकी अड्याउने र आफ्नो गाउँ गोङगाङसम्म खानेपानी पुर्‍याउने । अहिलेसम्म उनीहरूले त्यहाँ जम्मा चार बोरा बालुवा ओसारेका थिए । सिमेन्ट, छड, इँटा सम्झेर मलाई अत्यास लाग्यो । त्यसरी ओसारेको सामानले उनीहरूको जीवनकालमा त्यो ट्यांकी सपना पूरा होला कि नहोला ! तर उनीहरू हार्ने मनस्थितिमा थिएनन् ।

मेमे र उनीहरूको ट्यांकीको सपनालाई त्यहीँ छाडेर उकालो लागेको केही बेरपछि टंग्रड–टंग्रड आवाज कानमा पर्‍यो । नांगा पाखामा सुकेको घाँस दारिरहेका चौँरीको घाँटीमा बाँधिएको घन्टीको आवाजले ब्रिम्दाङ आइपुग्न लागेको संकेत गरेको थियो । तर, तिखा सिङ गरेका चौँरी डरलाग्दा थिए । गोठालो लागेको आले बाटो छेउको करु बारीमा बेस्सरी बिझाउने माटाका डल्लालाई ओछ्यान बनाएर मस्त निद्रामा रहेछ । जति बोलाए पनि ब्युँझेन । सायद सपना देखिरहेको हुँदो हो । बरु हाम्रो त्यो चिच्याइ सुनेर चौँरीहरू आफैँ पन्छिए ।

कतै हिँड्दै त कतै घस्रिँदै ब्रिम्दाङ हुँदै नागथली पुग्दा झमक्क साँझ परिसकेको थियो । नागथलीको भिरालो खर्कमा सुकेको घाँस दारेर झ्यापुल्ले चौँरीहरू अझै थाकेका थिएनन् । हिमालमा बादलको पर्दा लागिसकेको थियो । त्यही पर्दा बीचबाट लाङटाङ हिमाल चिहाउँदै–लुक्दै जिस्क्याइरहेझैँ गर्दै थियो । सान्जेन र गणेश हिमाल बादलभित्र सुस्ताउँदै थिए । वरिपरिका हिमाल छोएर आएको चिसो सिरेटोले मुटुलाई करिब–करिब बरफ बनाउलाझैँ भयो । तैपनि, धेरै पछि कतै टाढाबाट आउन लागेको प्रेमीलाई अधैर्य भएर कुरेझैँ  म लाङटाङको सूर्यास्त कुर्दै थिएँ । सूर्यास्तमा सुनजस्तै टल्किएको हिमालसँग प्रेम नगरिरहन कसले पो सक्छ !

विदेशीहरू चौँरी र हिमालको दृष्य एउटै फ्रेममा पार्न क्यामेरा ताक्दै थिए । तामाङ सम्पदा मार्गमा पर्ने यो ठाउँ नेपाल–चीन सिमानामा पर्ने भएकाले सुरक्षा संवेदनशीलता हेरेर विदेशीका लागि निषेधित क्षेत्रमा वर्गीकरण गरिएको छ । १० डलर तिरेर र अध्यागमन विभागबाट विशेष अनुमति लिएर मात्र विदेशी पर्यटकले यो स्वर्ग चहार्न पाउँछन् । वर्जित भएकैले होला, विदेशी यो ठाउँलाई अझ खास मान्दा रहेछन् ।

खासमा विकट हिमाली भेगमा सधैँ प्रकृति सौन्दर्यका कथा मात्र भेटिँदैनन् । हामीले बास बस्न रोजेको होटलको न्हीमा भाउजू र दाबा दाइको दु:ख अर्कै थियो । छोरा कुर्दाकुर्दै उनीहरूका १३, ९, ५, ३ र २ वर्षका पाँच वटी छोरी भइसकेका रहेछन् । पाँच छोरीको लालनपालन र होटलको कामको धपेडीले न्हीमा भाउजू सुकेर हड्डी मात्र बाँकी देखिन्थिन् ।

उचाइमा पुग्दा आत्मविश्वास पनि हिमालझैँ चुलिन्छ । मन र पाइलाहरू एउटा फरक ऊर्जाले चार्ज हुन्छन् । 

तीनवर्षे छोरीलाई पछाडि र दुईवर्षे छोरीलाई अगाडि झुन्ड्याएर ती भाउजूले हाम्रा लागि आलु उसिन्ने चाँजोपाँजो मिलाइरहँदा चुल्होको तातोले लठ्ठ परेर छेवैमा पाँच वर्षकी तेन्जेन उभिई उँगिरहेकी थिइन् । दाबा दाइ चौँरीको दूध लिन गोठ गएका थिए । चौँरीको दूध र भात खाएपछि दिनभरिको थकानले लखतरान परेको ज्यान बल्ल सुस्ताउन पायो ।

भोलिपल्ट सबेरै पर्दा नभएको झ्यालबाट बाहिर हेर्दा सान्जेन र गणेश हिमाल ब्युँझिसकेका रहेछन् । खासमा हिमालहरू सूर्योदयसँगै ब्युँझिन्छन् र सूर्यको लालीले पोतिएपछि सुनझैँ झलमल्ल भएर टल्किन्छन् । हिमालको दृष्य हेर्न बादलभन्दा पहिले ब्युँझिन सक्नुपर्छ । हत्तपत्त उठेर हिउँजस्तै चिसो पानीले अनुहार पखालेर क्यामेरा टिपेर माथिपट्टि थुम्कोमा पुग्दा त्यहाँ हिउँ छपक्कै थियो । चौँरीहरू उठेर गलाको घन्टी बजाउँदै हिँउले कक्रिएको घाँस दार्न थालिसकेका थिए । झिसमिसेमै क्यामेरा भिरेर निस्केको मान्छे देखेर होला, तिनीहरू एकछिन छक्क परेजस्तो भए । टक्क अडिए । अनि, मतिर हेरे र फेरि चर्न थाले ।

सूर्यको पहिलो स्पर्शले हिमाल सुनौलो देखियो । घाम माथि आएपछि फेरि हिमालले चाँदीको जलप लगायो । हिमाल रङ फेर्न खप्पिस देखियो, जादूगरजस्तै । हिमालले टुनामुना गरेझैँ एकोहोरो बनाए पनि यात्रा सकिएकै थिएन । तिरुछे नपुगी नागथली यात्राको सम्पूर्ण आनन्द भोगिँदैन । पानी बोक्न बिर्सिएकाले बाटोमा भेटिएका हिउँका डल्ला खाएर प्यास मेट्दै सकसपूर्ण यात्रापछि तिरुछे पुग्दा कपासे बादलका टुक्रा गाढा–नीलो आकाशमा कुद्दै र हिमालको फन्को लाउँदै लुकामारी गरिरहेका थिए । करिब साढे चार हजार मिटरको उचाइमा रहेको तिरुछे लालीगुराँसको बगैँचा छिचोलेर पुगिने कुनै काल्पनिक कथाको तिलस्मी भूमिझैँ हिमालले घेरिएर अलग्गै बसेको थियो । मान्छेको घर र होटलले अतिक्रमण नगरेको यो ‘भर्जिन ल्यान्ड’ बाट हेर्दा लाङटाङ, गणेश र सान्जेन हिमाल दूरबाट एकअर्कासँग आँखा जुधाउँदै वारिपारि बस्ने अभिशप्त प्रेमी–प्रेमिकाजस्ता देखिन्थे । त्यो धर्तीमा स्वर्गको टुक्रा थियो ।

उचाइमा पुग्दा आत्मविश्वास पनि हिमालझैँ चुलिन्छ । मन र पाइलाहरू एउटा फरक ऊर्जाले चार्ज हुन्छन् । तिरुछेको स्वर्गमा विचरण गरेर डेढ घन्टामा नागथली फर्किएर चौँरीको दहीसँग लेकाली रातो चामलको भात र साग खाँदासम्म मन कम्ता ऊर्जावान् थिएन । ओर्लिनुपर्दा पो खुट्टा फतक्क गले ।

तर, उचाइ क्षणिक सत्य हो, जीवन अनि यात्राको पनि । त्यसैले त्यो सुन्दर दुनियाँबाट ओर्लिंदै गर्दा मेरो दिमागमा रोबर्ट फ्रस्टको एउटा कविता घुमिरह्यो :

उड्ज आर लभ्ली डार्क एन्ड डिप

बट आई ह्याभ प्रमिसेस टु किप

एन्ड माइल्स टु गो विफोर आई स्लिप

प्रकाशित: असार २१, २०७५

ट्याग: साहित्य