[तीन किताब] सकम्बरीको खोजी

तस्बिर : रवि मानन्धर

- उपेन्द्र सुब्बा

नढाँटी भन्नुपर्छ– म त्यस्तो पढाकु मनुवा नै होइन । नपढ्ने मामिलामा साह्रै बदनाम छु । नपढ्नुमा मेरै कमजोरी छन् । मेरै सहुलियतका लागि दिमागले तर्कहरूको उत्पादन गरिदिन्छ । सोचिबस्छु– यो संसारमा पढेर के सक्नु ? नपढ्दा के हुन्छ ? आफ्नै समकालीन लेखक र नजिकका साथीभाइका किताब पनि कमै पढ्छु । टाढाको पनि पढ्न सक्दिनँ । अंग्रेजी एउटै उपन्यास अहिलेसम्म छिचोलेको छैन किनकि मेरो अंग्रेजी एकदम कमजोर छ ।

खगेन्द्र संग्रौला र कुमार नगरकोटीका किताब भने कुनै पनि नछुटाई पढ्छु । धर्मेन्द्रविक्रम नेम्बाङका कविता मात्र होइन, फेसबुके स्टाटससमेत कन्ठ पारिबस्छु । साठीको दशकको मध्यदेखि यता कुनै पुस्तक मन लगाएर पढेको छुइनँ । तर, कुनै जमाना खुब पढ्थेँ । हिन्दी उपन्यास पढ्ने लतमा फसेको थिएँ । आध्यात्मिक किताब सबैभन्दा धेरै पढेँ । ओशो, युजी कृष्णमूर्तिदेखि तन्त्रमन्त्रसम्मका अनेक किताब पढिबस्थेँ ।

थोरै पढ्ने मान्छे भए पनि मैले दोहोर्‍याएर पढेका केही किताब छन् । मलाई मन परेको किताब हो– बीपी कोइरालाको सुम्निमा । मन पर्नुका कारण छन् । जापानी, कोरियन, अफ्रिकनहरूको अनुहार परैबाट चिनिन्छ । तर, नेपालीको त अनुहारै पो छैन रहेछ । आर्यहरू ‘लाटो’ भए । उनीहरू अहम्ले अलग्गै हिन्दु समाज बनाएर नबसी वैवाहिक मिसमासमा गएको भए म अहिले लिम्बू हुनुको घमन्ड गरिराख्ने थिइनँ । मेरो आँगनमा तुलसीको मठ हुन्थ्यो, मैले त्यसलाई परिक्रमा गरिसकेको हुन्थेँ । अन्तर्घुलनपछि एउटा नयाँ जाति–अनुहारको निर्माण हुन्थ्यो । यस्तो सुन्दर परिकल्पना सुम्निमाले गरेको छ । एउटा लेखकले कम्तीमा कल्पना त गर्‍यो । अति आकर्षक व्यक्तित्व देख्छृ, सुम्निमाको । त्यसैले सुम्निमा जलाएको घटना मलाई मन परेको थिएन ।

गाउँमा गोठालो जाँदा थुप्रै उपन्यास पढ्थेँ । अचेल मलाई पढ्नुभन्दा किताब उपहार दिनुमा मज्जा आउँछ । पछिल्लो समय आफूले नपढे पनि नथिया किनेर धेरै बाँडेँ । त्यसकी लेखिका सरस्वती प्रतीक्षाले जिस्काइन्– ‘कति पाना पढ्नुहुन्छ ? म प्रतिपृष्ठ पैसा दिन्छु ।’ तर, बानी बिग्रिसक्यो ।

खप्तड बाबाको विचार विज्ञानचाहिँ साहित्यिक–गैरसाहित्यिक सबैले पढून् भन्ने लाग्छ । विचार परमाणुभन्दा पनि शक्तिशाली र सूक्ष्म हुन्छ भन्ने सन्देशले मलाई छोएको हो । विरक्तिका बेला जोगी हुने रहर थियो । धरान बस्दा पढेको यो किताबमार्फत जीवनलाई नजिकबाट नियाल्ने अवसर पाएँ । प्रत्येक मान्छे आफैँमा महान ग्रन्थ रहेछ । ज्ञानको भण्डार स्वयं रहेछ । पुस्तकालय आफैँभित्र छ भने बाहिर किन भौँतारिनु ? म यस्तो अद्भुत किताबको सम्मोहनमा परेँ । मलाई खप्तड बाबाबारे फिट्टु थाहा छैन । र, पनि साथीभाइलाई विचार विज्ञान सिफारिस गर्छु ।

मेरो पठन कस्तो छ भने एकै बसाइमा जति बग्यो, त्यति हो । अड्केपछि अगाडि बढ्न सक्दिनँ । सुन्दा अचम्म लाग्ला– प्रकाशित भएपछि लाटो पहाड दोहोर्‍याएर पढेको छैन । खोलाको गीतचाहिँ कार्यक्रमतिर कविता–वाचनका बेला पढ्नैपर्छ ।

अहिलेसम्म सबैभन्दा धेरै पटक पढेको किताब हो– शिरीषको फूल । सकम्बरीले अति नै आकर्षित गरेको हो । मेरो ठम्याइ छ– नेपाली साहित्यमा यत्ति निपुण ढंगले अर्को उपन्यास लेखिएको छैन । यो उपन्यास लेख्दा पारिजात सायद कम्युनिस्ट भइसकेकी थिइनन् । उनी राल्फा आन्दोलनमा लागेर समाजलाई के–कति योगदान गरिन्, म जान्दिनँ । विम्ब, चरित्र–निर्माण र भाषाबाट म कायल भएको हुँ । अहिले म सुयोगवीरको उमेर बाँचिरहेको छु । सायद म सकम्बरीको खोजमा पो छु कि !

छोरीहरू कार्टुन र सिरियलमा रमाउँछन् । श्रीमती अलिअलि पढ्छिन् । कसका लागि साँच्नु भन्ने लाग्छ । र, किताब जोगाएर राख्दिनँ । तन्त्रमन्त्रका किताब मात्र बाँकी छन् किनकि ती कसैले लाँदैनन् । म आफू अल्छी गरे पनि भाइबहिनी पुस्तालाई खुब पढ्नुपर्छ भनेर अर्ती दिन्छु । साथीभाइहरू रातभरि पढिबसेको सुन्छु । ममा चाहिँ पढ्नुको आनन्द एक्कासि किन हरायो, अचम्ममा छु । म त अहिले नपढेरै आनन्दमा छु । तर, म कविताको खोजमा छु सायद । अझै बाँकी छ, कविताको तिर्खा । कविता नपाएर हैरान छु ।

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: असार २१, २०७५

ट्याग: किताब