नयाँ घरमा आहुति

- राजकुमार बानियाँ

खुसी भन्ने कि उदासी ? साढे तीन दशक वाम–बाटोमा हिँडिसकेपछि नयाँ कम्युनिस्ट घटक जन्माउने चटारोमा छन्, आहुति उर्फ विश्वभक्त दुलाल, ५१ । माक्र्स दिवसमा उनको अभियान सुरु भयो, लेनिन दिवसमा प्रस्तावित पार्टीको दस्तावेज सार्वजनिक भयो, औपचारिक उद्घाटन माओ दिवसमै हुन सक्छ ।

राजनीतिक बजारमा आहुतिबारे अनेकथरी टीकाटिप्पणी छन् । बुँदा नं १– आहुति बहालवाला ठूलो पार्टीमा बस्न सक्दैन र फेसबुके पार्टी बनायो । बुँदा नं २– दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार बनेको र १७ भाइ माओवादी कोटामा पर्ने बेला भयंकर गल्ती गर्‍यो ।

प्रस्तावित ‘नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी’ को कोटेश्वर, रत्नमार्गस्थित सम्पर्क कार्यालयमा भेटिएका आहुति खासै आवेगमा आएनन् । ‘प्रि–पार्टी’ का कमान्डर उनले बडा साधु शैलीमा स्वीकारे, “उपभोक्तावादी समाजले मान्छेको प्रत्येक पाइलालाई त्यसै अनुरूप व्याख्या गर्छ– भाग पाउने बेलामा पनि भाग्ने हो ? नयाँ पार्टी खोलेर के पाइन्छ  ? यसमा मेरो भन्नु केही छैन ।”

त्यसो त पहिलो र तेस्रो ठूलो दल मिलेर शक्तिशाली कम्युनिस्ट पार्टी बनेका बेला अर्को एक थान साइनबोर्ड टाँग्नुको तात्पर्य बुझाउन आहुतिजस्ता वाचाल र तर्कबाजलाई पनि हम्मेहम्मे परिरहेको स्थिति छ । “तीन वर्षअघिकै निष्कर्ष हो– नेपालमा कम्युनिस्ट छन्, कम्युनिस्ट पार्टी पनि आवश्यक छ । तर, नेपाली कम्युनिस्ट आन्दोलन संगठनात्मक रूपमा विसर्जन भयो,” उनी नयाँको औचित्य दोहोर्‍याइरहेका छन्, “संसार नयाँ युगमा प्रवेश गरिसकेको छ । लेनिनकालीन पुराना ढाँचाका कम्युनिस्ट पार्टीहरूले आजका समस्या हल गर्न सक्दैनन् ।”

आधा शताब्दी नेटो काटेपछि सन्न्यास लिने कि पार्टी बनाउने ? उमेरको पावन्दी उनलाई खासै गम्भीर लाग्दैन । उनीसँग बनिबनाउ उदाहरण छ– स्टिफन हकिङका जम्मा दुइटा औँला मात्र चलायमान थिए । तर, त्यसले उनलाई कुनै छेकबार लगाएन । आजको विज्ञान प्रविधिको युगमा शरीर कमजोर भए पनि विचारले बूढो मान्छेलाई पनि हजार गुणा तन्नेरी बनाइदिन सक्छ ।

अब आहुतिको अलिकति परिचय दिऊँ । नैकापमा ३६ घर दस्तकारमध्ये एक हो उनको परिवार । घरकै दलानमा थियो ज्यासल । क्षयरोग लागेर बुबा बितेको एक महिनापछि कान्छा छोराका रूपमा जन्मिएका उनका दुई दाजु र दुई दिदी छन् । १८ जनाको जम्बो परिवारका चालक थिए उनका हजुरबा । कोलकाता रिटर्न ती बूढाले स्थानीयका मन्दिरबाट साँवा अक्षर सिकेका थिए । दोहोरी गीत गाउँथे, सिलोक भन्थे । ऋणै गरेरै रेडियो किनेका थिए । नातिनातिनालाई सिनेमा हेर्न पठाउँथे । आहुतिलाई बाह्रखरी सिकाएका उनले एक दिन सचित्र चीन पत्रिका ल्याएर माओको बखान गरेछन्, ‘जन्मनेबित्तिकै सात पाइला हिँडेका रे । धनी–गरिब, जातपात सबै मेटाउँछन् रे ।’

जनमत संग्रहताका नीलोमा छाप लगाऊँ भन्ने हूलमूलमा हिँडेका आहुतिको नेपाली कम्युनिस्टसँग भने ०४० मा मात्रै साक्षात्कार भयो । त्यो पनि माओ–मार्का होइन, रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठनसँग । त्यसका नेता थिए, स्वनाम साथी, ईश्वर श्रेष्ठ, खगेन्द्र संग्रौला आदि । त्यसो त पार्टी सदस्यता लिँदा पार्टी नेताको नामै थाहा थिएन आहुतिलाई । जीवनमा एक दिन मात्रै स्कुल गएका, सुनपसल पनि राखेका रूपलालले पञ्चायतकालमा एउटा कम्युनिस्ट पार्टीको नेतृत्व मात्र सम्हालेनन्, पछि माक्र्सवाद नै ठीक छैन भन्ने निष्कर्षमा पनि पुगे । 

नैकापको विद्यामन्दिर स्कुलका क्लास फस्ट थिए, आहुति । जुँगा चाँडै आएको भनेर ६ बाट एकैचोटि ८ कक्षामा फड्किन पाए । फेरि पनि फस्ट नै भए । एसएलसीमा प्रथम श्रेणीका निम्ति पाँच अंक पुगेन । तर, महाराजगन्ज क्याम्पस र इन्जिनियरिङ क्याम्पस दुवैतिर नाम निस्कियो । परिवारले भने छिटो पैसा कमाउने पेसामा जोड दियो, सिभिल ओभरसियर ।

१३ महिना परिवारकै मर्जीमा चले आहुति । ‘इन्जिनियरिङ मेटेरियल्स’ विषयको जाँच दिन नैकापबाट साइकल चढेर त्रिपुरेश्वर पुग्दा जीवनको बाटो नै बदले– गुजारावादी जिन्दगी छाड्ने र क्रान्तिमा लाग्ने । पढाइ छाडेको सुइँको नै दिएनन् उनले । बरु क्याम्पस जान्छु भनेर दिनभरि नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा अड्डा जमाउन थाले । १८–१९ महिना त्यहाँ बसेर पढ्दा कर्मचारीले चियासमेत खुवाउन थालेका थिए । त्यहाँ पनि वाक्क लागेपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको पुस्तकालय धाए । आठ महिनापछि मात्र परिवारले थाहा पायो । र, त्यसलाई पनि चुपचाप सदर गरिदियो ।

किन हो– उनमा केमिस्ट्री र बायोलोजी लिएर पढ्ने रहर जाग्यो । पाटन कलेजमा बायोलोजी लिएर आईएस्सी भर्ना भए । सात महिना नियमित पढे । त्यो पनि जाँच दिने गरी पढेनन् । भ्यागुतो चिर्ने काम गर्दागर्दै भूमिगत भइहाले । पार्टीले पूर्णकालीन कार्यकर्ता बनायो र सिन्धुपाल्चोकको भोटेचौरमा शिक्षकका रूपमा खटायो ।

आहुतिको जन्मजात थर दुलाल भइहाल्यो । भोटेचौरको जैसी दुलाल बस्तीमा उनले जात मात्र लुकाएनन्, जनै लगाए र गायत्रीमन्त्र पनि पढे । “मेरा साथीले जनैमन्त्र भने गलत सिकाएका रहेछन्,” उनी हाँस्छन्, “पहिलो शब्द ओम मात्रै मिलेको अलिपछि थाहा पाएँ ।”

१३ महिना त्यहीँको स्कुलमा पढाए । पछि पुलिसले कम्युनिस्ट कार्यकर्ता भन्ने चाल पाएछ । तर, पक्रने बेला भोटेचौर थानाकै हवल्दारले भगाइदिएछ उनलाई । त्यतिबेला उनको पार्टी नाम थियो, आमूल ।

०४६ मा काठमाडौँ जिल्ला कमिटीको सेक्रेटरी थिए, आहुति । जनआन्दोलनको तयारीस्वरूप मजदुर फाँटमा घुसे । बाँसबारीमा नेपाल टेन्ट एन्ड टार्पोलिन कम्पनीमा मैन र पहेँलो माटो पकाएर त्रिपाल बनाउने काम गरे । क्षेत्रपाटीको लुज: प्रिन्टिङ प्रेसमा कम्पोजिटर भए । मेसिन चलाउन सिक्दा हात पनि च्यापियो ।

जुत्ता बनाउने पुख्र्यौली सीप भने सिकेनछन् आहुतिले । बरु घरकै तानमा ढाकाको कपडा बुने । दिनमा एक मिटर कपडा बुन्दा ६० रुपियाँ ज्याला आउँथ्यो रे । एक दिन प्रेसको चिसो छिँडीमा कम्पोज गरिरहँदा दुब्लो, चुस्स दाह्री पालेको, खुट्टामा छालाको चप्पल र काखीमा हाते ब्याग च्यापेका एक जनाले ‘तपाईं हो आहुति ?’ भन्दै हात बढाए तर उनी ‘फोहोर छ’ भन्दै हच्किए । ‘काम गर्नेको हात स्वत: फोहोर हुन्छ’ भन्दै तानेर हात मिलाए र भने, ‘प्रतिभा–प्रवाह साहित्यिक कार्यक्रम सबै माओ विचारधारापक्षीय बनाउनुपर्‍यो ।’ ती नेता रहेछन्, बाबुराम भट्टराई ।

सुरुसुरुमा आहुतिलाई कविता लेख्ने आँटै आएन । किनभने, कविता छन्दमै लेख्नुपर्छ भन्ने आममनोविज्ञान थियो । टोलमा दबु प्याखँ (डबली नाटक) हेर्दै हुर्केका उनले त्यसकै सिको गरेर नाटक लेखे । ‘उद्घाटन’ नामक नाटक देखाउँदा पञ्चायतविरोधीको आरोप झेले र तीन दिन पुलिस थानामै बसे ।

त्यसो त ‘आहुति’ कुनै छोपुवा नाम होइन । छोपुवा नाममा साहित्य लेख्दा प्रहरीले मुद्दा चलाउन सक्दैन भन्ने भ्रम थियो उनलाई । ०४३ मा उत्साह पत्रिकामा आहुतिको नामबाट कथा छापिँदा पारिजातले लेखेको हल्ला चल्यो रे । एक दिन पारिजातले आफ्नै घरमा बोलाइन् र फर्माइन्, ‘तपाईं संग्रह ननिकाल्ने ? तपाईंको संग्रहमा भूमिका लेख्ने मन छ तर पाइने हो कि होइन ?’

यही दबाबमा कविता तानतुन पारेर हरिगोविन्द लुइँटेललाई बुझाए । तपस्वीका गीतहरूमा भूमिका लेखेकै साल बितिन्, पारिजात । उनलाई अहिले पनि लाग्छ, साथी सन्तराज पनेरुको झोलामा फेला पारेको गोपालप्रसाद रिमालकृत आमाको सपनाले नै उनलाई गुजारावादी कविताबाट पर पुर्‍याइदियो । “कवितामा जुनसुकै कुरा आउन सक्छ तर नारा पनि कवितामा कवितै भएर आउनुपर्‍यो,” उनको स्पष्ट मान्यता छ, “विम्बात्मक हुनु, आवेगात्मक हुनु र निश्चित लयमा अभिव्यक्त हुनु नै कविता हो ।”

निम्नमध्यम वर्गीय नेता–कार्यकर्ताको मानसिक जटिलताको चित्रसहित अन्तरपार्टी जीवनबारे उपन्यास लेखे, नयाँ घर (०५०) । तर, राम्रो समीक्षा कतै पाएनन् । खगेन्द्र संग्रौलाले पनि नयाँ बनाउने नाममा पुरानै पात्र खडा गरिएको भन्दै आलोचना मात्रै गरिदिए । तर, युवाहरूबीच उपन्यास निकै रुचाइयो ।

सातौँ संस्करण आइसक्दा तीन लाख रुपियाँ लेखकस्व पनि पर्‍यो, आहुतिको खल्तीमा । “युवाहरूको धक्का र प्रतिधक्काले इतिहास रच्यो,” उनी सम्झन्छन्, “उपन्यास पढेर पूर्णकालीन आन्दोलनमा लागेका र सात वर्ष जेल बसेका युवासमेत भेटेको छु ।” गंगा श्रेष्ठ, अनिल शर्मा विरही, रवि कार्की, जीवन गौतम आदि विद्यार्थी नेताले पाँच सय कपी अग्रिम बुकिङ गराएर छापेका थिए, त्यो उपन्यास ।

एमालेभित्रको प्रतिक्रान्तिकारी स्खलनबारे उनले अर्को उपन्यास लेखे, स्खलन (०६०) । उनले तीन वर्ष लगाएर लेखेको टेलिशृंखला दलन पनि चर्चित भयो । समाजशास्त्रीय अध्ययनको पुस्तक पनि लेखे, नेपालमा वर्णव्यवस्था   वर्गसंघर्ष

आयुषमान श्रेष्ठका नाममा सिनेमा र आशा लामाका नाममा महिला स्तम्भ पनि चलाए आहुतिले । आकाशका नाममा राजनीतिक लेख लेखेका छन् भने प्रेम, विवाह र घरपरिवारबारे अरुणकुमार सिंहको नाममा । अनुवाद, कार्यपत्र, सिनेमादेखि वृत्तचित्रसम्मका लेखापढी उनले छाडेनन् । “एउटा मान्छेले मूलत: एउटै काम गर्ने हो, म थोरै काम गरेको मान्छेमा पर्छु,” उनको विनम्रता झल्कन्छ, “त्यति धेरै अध्ययन गरेजस्तो पनि लाग्दैन । चर्चातिर मेरो कहिल्यै ध्यान गएन ।”

३० वर्षयता तीनपटक ध्वस्त भयो उनको पुस्तकालय । तैपनि, इतिहास, समाजशास्त्र, राजनीतिशास्त्र र कानुनी किताबका प्रकाशन मिति र पाना नम्बरबाहेक अरूमा उनलाई समस्या छैन । “उत्पीडित वर्ग या समुदायले पढ्ने भनेको लड्नका लागि हो । लड्नु छैन भने किन पढ्ने ?” उनी भन्छन्, “लड्नका लागि हतियार संकलन गरेजस्तै हो पढ्नु ।” उनले सुनेका पढाकुमा डोरबहादुर विष्ट, महेशचन्द्र रेग्मी, योगी नरहरिनाथ आदि पर्छन् ।

आहुतिले औपचारिक डिग्री लिएका छैनन् । जीवनको कुनै मोडमा त्यस्तो प्रमाणपत्र चाहिएन पनि । “राजनीतिमा लागेर पढाइ छुटेपछि निराश साथीको हौसलाका निम्ति आईए र बीएको प्राइभेट जाँच दिएँ,” उनी भन्छन्, “साथीले पछि बीए पास भएको सुनाए, मैले भने प्रमाणपत्र लिएको छैन ।”

पार्टी–प्रोफाइलमा आहुति केन्द्रीय सदस्यभन्दा पहिले केन्द्रीय सल्लाहकार भएछन्– त्यो पनि २५ वर्षको उमेरमा । नरबहादुर कर्माचार्य, भक्तबहादुर श्रेष्ठ, काइँला बासहितका बूढा नेताहरूको लहरमा ।

खासमा नेकपा (एकता केन्द्र) को चितवन महाधिवेशन (०४८) मा भागबन्डा नमिलेर त्यता व्यवस्थापन गरिएको रहेछ उनलाई । केन्द्रीय सदस्य भने ०५३ मा आएर मात्रै भए । एकता केन्द्र र माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसम्म भएका आहुति ०६५ मा समानुपातिक सांसद भए । ०७० मा चितवनको क्षेत्र नं २ बाट लडेर १० हजार २ सय ८० भोटसहित तेस्रा भए । उनको सोख संगीतमा पनि छ । ०३८ मा रेडियो नेपालको स्वर परीक्षा फेल भएपछि उनले नाचघरमा चन्द्रराज शर्माकहाँ गएर ६ महिना संगीत सिके र अर्को वर्ष स्वरपरीक्षा पास भए । तर, डेट लिएर गीत गाउने अवसर मिलेन । कम्युनिस्ट पार्टीको फन्दामा परिहाले ।

रोदन सांस्कृतिक परिवारको अध्यक्ष भए आहुति । एकदेव आलेका गीतहरूमा संगीत हाले । थुप्रै गीतमा कोरस आवाज पनि दिए । हुरी चल्दैछ, आँधी चल्दैछ नामक गीति क्यासेटमा मणि थापा र उनले उद्घोषण गरे । अहिले पनि उनका दुई गीत तयारी हालतमा छन् ।

१०–१० वर्षको अन्तरालका तीन छोरीका पिता हुन् आहुति । जेठी छोरीले एमबीबीएस गरिसकेकी छन् भने कान्छी जम्मा पाँच वर्षकी । पत्नी बुद्धलक्ष्मी महर्जन पनि राजनीतिमै छन् । पार्टीमा हिँड्दाहिँड्दै चिनेर, बुझेर गरिएको विवाह थियो त्यो । आहुतिको पहिलो विवाह भने पारपाचुकेमा बदलिएको थियो ।

सर्वहाराको राजनीति गर्दागर्दै आफैँ सर्वहारामा परिणत भए, आहुति । राजधानीमा परिवारको सात रोपनी बारी र दुई रोपनी खेतमध्ये एक चौथाई परेको थियो उनको भागमा । “पार्टी काम गर्दै जाँदा ०५८/५९ देखि नै भौतिक सम्पत्तिका रूपमा केही पनि रहेन,” उनी भन्छन्, “एकमुस्ट पार्टीलाई नगद बुझाएको पनि होइन । यसमा खेद पनि छैन ।”

उनी त चार वर्ष वर्ष सांसद हुँदा पनि साढे दुई लाख ऋण बोकेर निस्केछन् । “मेरो जिन्दगी साधुसन्तको जस्तो सादा होइन, आममानिसको जस्तै रंगीन छ,” उनी भन्छन्, “भएका बेला खर्च गर्छु तर अनावश्यक खर्च गर्दिनँ ।”

कम्युनिस्ट नेताहरूको लुकाउने कला गजब हुन्छ । सम्पत्ति मात्रै होइन, ज्ञानसमेत । लुकीलुकी किताब किन्छन्, निजी पुस्तकालय देखाउँदैनन्, कार्यकर्तालाई किताब पढ्न पनि दिँदैनन् । अध्येतामा निनु चापागाईं, नेपाली समाजलाई हेर्ने सवालमा पुष्पलाल अनि क्लासिकल कम्युनिस्ट साहित्यको जोडजाडमा मोहनविक्रम सिंह उनले मानेका नेता हुन् ।

पीँधबाट उठेका आहुतिलाई थोरै संघर्षले पक्कै पुगेन । साहित्यको प्रगतिवादी खेमाका एक चर्चित लेखक हुन्, कुनै कालखण्डमा नेपाली राजनीतिको केन्द्रीय भागमा पनि रहे । “बाहिर हेर्दा मलाई व्यक्तिवादी या घमन्डी पनि भन्छन्,” उनको आत्मसमीक्षा छ, “गल्ती भइहाल्छन् जिन्दगीमा । क्रान्तिकारी प्रक्रियामा गरिएका काममा खुसी नै छु ।”

संग्रामी कवि आहुतिको वक्तृत्वकलामा पूर्वपार्टी नेताहरूको पनि छाप भेट्छन् कतिपय । त्यसलाई उनी एउटै गाउँका मान्छेको लवज उस्तै भएजस्तो मात्र लाग्छ । सबै मान्छे कमजोरीसहित उभिएका हुन्छन् । आहुतिका पनि सीमा छन् । ठीक लागेको काममा हाम फालिहाल्ने र तत्कालै विश्वास गरिहाल्ने स्वभाव छ उनको । तर, कहिलेकाहीँ त्यो कमजोरीजस्तो भइदिन्छ । यसो गर्दा उनी पूरै ब्ल्याक होलमा हराउन पनि सक्छन् या ब्याक टू मंगलमान नै पनि हुन सक्छन् । उनलाई यसको रत्तिभर परवाह छैन ।

प्रकाशित: असार २०, २०७५