आवरण कथा» (अ)सामाजिक सञ्जाल

- विभु लुइटेल

“मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ,

मै हाँसु मै नाचुँ बाँकी सब मरुन् दुर्बलहरु ।”

कविशिरोमणि लेखनाथ पौड्यालले यस्तो कविता लेख्दा फेसबुक, ट्वीटर, इन्स्टाग्राम आइसकेका थिएनन् । काव्यपंक्ति पढ्दा लाग्छ, यो अभिव्यक्ति तिनै सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि थियो कि !

आफ्ना दैनिक गतिविधि, आफ्ना सोच वा कुनै पनि विषयमा प्रतिक्रियाका लागि अब हातमै प्लेटफर्म उपलब्ध छ । केवल औँला चलाइदिए पुग्छ । तर, यही प्रवृत्ति आजको विश्वमा भयावह संकटका रूपमा देखापर्ने जोखिम बढेर गएको छ । सामाजिक सञ्जालमार्फत समाजसँग जोडिने अभिलाषाभन्दा पनि आत्ममुग्धता र आत्मप्रचारले ठाउँ लिएको छ ।

अचेल अधिकांशको दिनचर्यामा प्रमुख हिस्सा हुने गरेको छ, स्मार्टफोन । स्मार्टफोनमा चलाउने सामाजिक सञ्जालमा आत्मरति छरपस्ट देखिन्छन् । पुल्चोक, ललितपुरका अश्विन कार्की, २२, फेसबुकइन्स्टाग्रामका स्टोरीमार्फत आफ्नो दिनचर्या सार्वजनिक गरिरहन्छन् । जहाँ गए पनि हातबाट स्मार्टफोन छुट्दैन । “बिहान आँखा खोल्नेबित्तिकै मैले गर्ने पहिलो काम नै फोन चलाउने हो,” उनी भन्छन्, “बाथरुममा चार्जिङ पोर्ट भइदिएको भए म घन्टौँ त्यहीँ बसेर फोन चलाउँथेँ हुँला ।”

सेल्फीले भरिभराउ छ चापागाउँ, ललितपुरकी रोशना पौडेल, २४, को फोन ग्यालरी । राम्रो फोटो आउने स्मार्टफोन हात परेपछि उनी आफ्ना जुनसुकै गतिविधि पनि क्यामेरामा कैद गर्न छुटाउँदिनन् । “पाहुना लाग्न जाँदा पनि सन्चो–बिसन्चोभन्दा पहिले वाईफाईको पासवर्ड नै सोध्छु,” उनी फर्माउँछिन्, “जहाँ गए पनि फोटो खिचेर पोस्ट गर्न  मात्रै मन लाग्छ ।”

मनोविज्ञानको भाषामा यस्तो समस्यालाई ‘नार्सिसिज्म’ मानिएको छ । मनोवेत्ताहरूका अनुसार नार्सिसिस्टहरू सिंगो संसार आफ्नै वरिपरि घुम्ने ठान्छन् । आफूबाहेक अरू त मान्छे नै होइनन् भन्ने सोच राख्छन् । सेल्फी मात्र नभएर म्युजिकल्लीजस्ता एप्लिकेसनले पनि मानिसलाई नार्सिसिज्मतिर धकेलिरहेका छन् । फिल्मका डाइलग आफैँले बोलेको र गीत आफैँले गाएको जस्तो देखाउन प्रयोग हुने यो एप्लिकेसनले ठूलो युवा जमातलाई आकर्षित गरेको छ । डाइलग र गीतको परिवेश अनुरूप मेकअप गरेर मानिस अभिनय गर्दै पोस्ट गर्छन् । इन्स्टाग्राममा दिनहुँ कम्तीमा १०–१५ वटा म्युजिकल्ली भिडियो पोस्ट गर्ने सुजाता ज्ञवाली भन्छिन्, “यसको केही फाइदा छैन, थाहा छ । तर, अरूले दीपिका पादुकोणजस्तै अभिनय गर्छौ भन्छन् । त्यसैले पोस्ट नगर्न मनै मान्दैन ।”

पहिले मानिसको आत्ममोह व्यक्त गर्ने  धेरै माध्यम थिएनन् । कतिपय अवस्थामा त्यस प्रकारको मोह व्यक्ति आफूमै सीमित हुन्थ्यो भने कहिलेकाहीँ वरपरकालाई उसको त्यस्तो आचरणबारे भान हुन्थ्यो । सामाजिक सञ्जाल थपिएसँगै यिनका अधिकांश प्रयोगकर्तामा नार्सिसिस्टिक लक्षण बढ्दै गएको छ । जर्मनीको वुर्जवर्ग विश्वविद्यालयले नार्सिसिज्ममाथि गरेको अनुसन्धानमा निकै चोटिलो ढंगमा उल्लेख गरिएको छ, ‘फेसबुक आत्मरतिमा रमाउनेका निम्ति एक साझा अखडा हो ।’

त्यसो त चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका मनोविज्ञान विषयका प्राध्यापक विद्यादेव शर्माको अनुभवमा पहिले पनि नार्सिसिज्म उत्तिकै व्याप्त थियो । तर, पोख्ने माध्यम थिएन । सामाजिक सञ्जाल आएसँगै यस्ता मानिसको संख्या बढेजस्तो देखिएको मात्र हो । “कहिलेकाहीँ मानिस घमन्डी ठानिने डरले आफ्ना उपलब्धि सार्वजनिक गर्न हिच्किचाउँछन्,” शर्मा भन्छन्, “तर, आफ्ना वरपरकाले यस्ता नार्सिसिस्टिक प्रवृत्ति देखाइदिँदा आफू पछि परेको ठानी डिप्रेसनको समेत सिकार हुन्छन् ।”

–यो पनि पढ्नुहोस् : तपाईं कति आत्ममुग्ध ?

अरूका भावनाको मतलब नगर्ने, आफूले सोचेको मात्रै ठीक, आफैँ सर्वेसर्वा भन्नेजस्ता सोचाइ राख्ने व्यक्तिलाई नार्सिसिस्ट अथवा आत्मप्रशंसक भनिन्छ । नार्सिसिस्ट शब्द ग्रीक मिथकबाट आएको हो । ग्रीसको परापूर्वकालीन सहर थेस्पिआईका एक सिकारी नार्सिसस एउटा कुवामा आफ्नो प्रतिविम्ब देखेर मोहित भएका र आजीवन त्यही प्रतिविम्ब हेर्दै आत्मरतिमा रमाइरहेको प्रसंग छ । मनोविश्लेषण सिद्धान्तका प्रणेता सिग्मन्ड फ्रायडले ‘अन नार्सिसिज्म’ शीर्षकमा आत्मप्रशंसकबारे अनुसन्धान गरेपछि त्यसको समर्थन र आलोचना गर्ने क्रम बढ्दै गयो । फलस्वरूप, मानिसको आत्मप्रचारलाई लिएर आजसम्म संसारमा हजारौँ अनुसन्धान भइसकेका छन् ।

भर्चुअल महामारी

सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या हेर्ने हो भने सन् २०१६ को अन्त्यमा एकै समय दुई अर्ब मान्छे फेसबुकमा सक्रिय देखिएका थिए । प्रत्येक दिन करोडौँ स्टाटस र फोटो फेसबुकमा साझा गरिन्छन् । फोटो सेयरिङ एप्लिकेसन इन्स्टाग्राममा दैनिक करिब ५० करोड प्रयोगकर्ता फोटो अपलोड गरिरहेका हुन्छन् । हरेक दिन करिब ३० करोड ट्वीटर प्रयोगकर्ता ट्वीट गरिरहेका हुन्छन् ।

विभिन्न अध्ययनले देखाए अनुसार अत्यधिक नार्सिसिज्म भएका व्यक्ति सामाजिक सञ्जालमा धेरै समय व्यतीत गर्छन् । धेरै साथी बनाउने, नियमित फोटो वा स्टाटस पोस्ट गरिरहने, अनावश्यक मिम र ट्रोलमा साथीभाइलाई ट्याग र मेन्सन गरिरहनेजस्ता लक्षण यस्ता व्यक्तिले देखाउँदै आएका छन् । स्पेनको डुएटो विश्वविद्यालयकी अनुसन्धानकर्ता लोरा बुफाडीले नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर र सामाजिक सञ्जालले यसलाई बढावा दिएको विषयमाथि गरेको एक अनुसन्धानको सार हो, ‘नार्सिसिस्टहरू फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा सक्रिय हुनुको एउटै कारण छ । सबै जना म के खान्छु, के लगाउँछु, कहाँ–कहाँ जान्छु, मेरो दिनचर्या कस्तो छ भन्ने विषयमा चासो राख्छन् भन्ने सोच यस्ता व्यक्तिको हुन्छ ।”

यस्तो सोच राख्नेहरूमा सेलिब्रिटी, राजनीतिक दलका नेता, व्यवसायी, पेसाकर्मी वा जो पनि हुन सक्छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सा विभाग प्रमुख प्राध्यापक रवि शाक्यको भनाइमा यस्ता सोसल मिडिया प्रयोगकर्ताको संख्या झन्झन् बढ्दै छ । भन्छन्, “नार्सिसिस्ट खोज्न अन्त कतै जानु पर्दैन । हाम्रा नेतालाई हेरिदिए पुग्छ । उनीहरू जति नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरले ग्रस्त कोही छैनन् नै भन्दा पनि हुन्छ ।”

सामाजिक सञ्जाल यस्ता सामग्रीले भरिभराउ हुनुको मुख्य कारण हो– साझा गरिने ९९ प्रतिशत सामग्री प्रयोगकर्ताद्वारा सिर्जित हुनु । सूचना सम्प्रेषण हकको उपयोग गर्दागर्दै कतिपय अवस्थामा मानिस आफैँले यसको दुरुपयोग गरिरहेको समेत मेलोमेसो पाउँदैन । साथीभाइलाई उसको दिनचर्यामा रुचि हुन्छ नै भन्ने छैन । उसले लगातार पोस्ट गर्ने सेल्फीदेखि पनि धेरै आजित भइसकेका हुन सक्छन् । उसले कुन महँगो रेस्टुराँमा खाजा खायो वा कुन सपिङ मलमा कुन ब्रान्डको लुगा किन्यो भन्ने चासो सबैलाई हुन्छ भन्ने छैन ।

आफ्ना सामाजिक सञ्जालका पोस्टमा आउने लाइक, कमेन्ट र सेयरका संख्याले मानिसको नार्सिसिस्टिक प्रवृत्तिलाई बढावा दिने गरेको पाइएको छ । धेरै साथी र फलोअर संख्या भएकाकोमा स्वाभाविक रूपैले धेरै लाइक र कमेन्ट आउने गर्छ । यसले उसमा झन् धेरै आत्ममुग्धता बढाउँदै लैजान्छ । सानो संख्यामा साथी र फलोअर भएकाले गरेका पोस्टमा थोरै लाइक आउने हुँदा उनीहरू धेरै लाइक आउनेसँग आफूलाई तुलना गर्न थाल्छन् भने उनीहरूको मानसिकतामा हीनताबोधले डेरा जमाउँछ ।

सामाजिक सञ्जालमा देखिने अर्काथरी नार्सिसिस्टमा अविकसित र विकासोन्मुख देशबाट विकसित देशमा पढ्न वा रोजगारीका निम्ति गएका व्यक्ति पर्ने गरेको देखिन्छ । कतिपय गैरकानुनी ढंगले प्रशासनबाट लुकेर काम गरिरहेका र क्रेडिट कार्डको भारी ऋणले थलिएका भेटिने गरेका छन् । तीमध्ये अधिकांशको एउटा साझा विशेषता हुन्छ, तिनले कसैका अगाडि आफ्ना दु:ख देखाउँदैनन् । तिनलाई सबैका अगाडि आफू सुखसयलमा बाँचिरहेको देखाउने चाह हुन्छ ।

गाडीमा घुम्ने, नयाँ फोन बोक्ने, राम्रा–राम्रा ठाउँमा खान जाने अनि तिनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने मानिस सबै सुखी–सम्पन्न जीवन नै बाँचिरहेका हुन्छन् भन्ने छैन । यसले देशमै रहेका साथीभाइमाझ तिनको राम्रो छवि त बनाउँछ नै, उनीहरूमा एक प्रकारको हीनताबोधसमेत पैदा गराइदिन्छ । अनि, ती व्यक्ति आफ्नो कमसल भनिएका जीवनका क्रियाकलाप अरूलाई नदेखाउन आफूबारे झुटा तर राम्रा सुनिने तथ्य सार्वजनिक गर्नतर्फ लाग्छन् । फलस्वरूप, सामाजिक सञ्जालमा हिजोआज यस्तै प्रकारका मानिसको बाहुल्य छ ।

कृत्रिमतामै आत्मरति

नार्सिसिस्टिक प्रवृत्ति प्रचुर मात्रामा देखिनुका पछाडि तीन कारण छन् । मान्छेलाई आफू विशेष वा असाधारण छु भन्ने लाग्नु, मान्छेले आफूलाई चाहिनेभन्दा बढी महत्त्वपूर्ण वा प्रभावशाली देख्नु र अन्य व्यक्तिको ध्यानाकर्षण गर्न लालायित हुनु । यसको प्रत्यक्ष प्रभाव उनीहरूको मनस्थितिमा परिरहेको हुन्छ । उनीहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन् । अत: आफ्नो जीवन अरूको जति सुखी, खुसी र रमाइलो नभएको भान उनीहरूलाई हुन थाल्छ । त्यसैले सामाजिक सञ्जालमा आफ्नो कृत्रिम छवि बनाउनतर्फ उनीहरू बढी केन्द्रित रहन्छन् ।

आफूबारे राम्रा तथ्य सार्वजनिक गर्नेदेखि लिएर अनेकौँ फोटो फिल्टर प्रयोग गर्नसमेत ती पछि हट्दैनन् । असामान्य फोटो फिल्टरलाई चाहिनेभन्दा बढी महत्त्व दिने गरेका छन्, स्न्यापच्याट, युक्याम, स्वीट सेल्फी, ब्युटीप्लसजस्ता मोबाइल एप्लिकेसनले । अनुहारका दाग हटाउने मात्र नभई अनेकथरी मेकअप गरेको जस्तो देखाउने फिचर यी एप्लिकेसनमा हुन्छन् । त्यति पाएपछि कसले आफ्नो अनुहारमा आएको दाग र चायाँ–पोतो देखाउन चाहन्छ र ! सायद नार्सिसिज्मले आधिपत्य जमाइसकेको आममानसिकतालाई बुझ्न–बुझाउन समय लाग्छ– सबै सृष्टि बिनाफिल्टर आफैँमा निकै सुन्दर छन् ।

वैज्ञानिकहरू यस प्रकारको आत्मरतिलाई महामारी भन्न रुचाउँछन् । हुन पनि, एउटाबाट अर्कोमा यो प्रवृत्ति सर्दै जान सक्छ । अमेरिकी मनोवैज्ञानिकद्वय जान ट्वेन्ज र किथ क्याम्बेलले द नार्सिसिज्म इपिडेमिक पुस्तक लेखेर साना–साना सामाजिक तत्त्वले मानिसलाई नार्सिसिस्ट बनाइरहेको, यो रोगजस्तै एकबाट अर्कोमा सर्दै गएको भनी अनुसन्धानको निष्कर्ष पेस गरेका छन् ।

उपचार सकारात्मक सोच

नार्सिसिज्म बढ्दै जाँदा यसले विकराल रूप लिन सक्छ र आफ्ना लागि मात्र नभई अरूका लागि पनि घातक सिद्ध हुन सक्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्नेजस्ता सोच राख्दा मानिस–मानिसबीच कलह सिर्जना हुने थुपै्र उदाहरण समाजमा देख्न सकिन्छ । नार्सिसिज्मको कुरा गर्दा एउटा प्रश्न सधैँ आउने गर्छ– के यस प्रवृत्तिको उपचार सम्भव छ ? प्राध्यापक शाक्य भन्छन्, “सम्भव छ । सकारात्मक सोचको विकास गर्न सक्नुजस्तो ठूलो उपचार यसको छैन ।”

आफ्नासँग सुमधुर सम्बन्धको विकास, नित्य ध्यानकर्म तथा आफ्ना गुण–दोषको उचित मूल्यांकन गर्न सके मानिस र नार्सिसिज्मबीच दूरी कायम गर्न सम्भव छ । यसका लागि मनोचिकित्सक तथा परामर्शदाताको सहयोग पनि लिन सकिन्छ । नार्सिसिज्मले ग्रस्त छु भनेर अहिलेसम्म प्राध्यापक शाक्यकहाँ उपचारका लागि कोही पुगेका छैनन् । आफू कुनै मनोरोगले पीडित छु भनेर स्वीकार्न सक्ने संस्कार हामीले बसालिसकेका पनि छैनौँ ।

उसो त नेपालमा मानसिक चिकित्सालाई सर्वसाधारणले त्यति महत्त्व दिएको देखिँदैन । मनोविज्ञानका क्षेत्रमा उम्दा अनुसन्धान हुन पाएका छैनन्, नार्सिसिज्म त परको कुरो । प्राध्यापक शाक्य भन्छन्, “कसैमा मानसिक तथा व्यक्तित्व विकार छ भने समाजले त्यसलाई नकारात्मक रूपमा हेर्ने परिपाटी नत्यागेसम्म नार्सिसिस्ट मात्र होइन, अरू प्रकारका मनोरोगीको संख्या पनि बढ्दै जानेछ ।”

मोडलिङमा आधारित तस्बिर | मोडल : इशा सुवेदी | तस्बिर महेश प्रधान

यी पनि पढ्नुहोस् :

आवरण कथा» अभिव्यक्ति स्वतन्त्रताको नाममा गाली–गलौज

आवरण कथा» 'भाइरल ब्वाई’अशोक दर्जीको व्यथा

टंक बुढाथोकी भन्छन्, ‘अशोक दर्जीलाई अरु कसैले यसरी हिट बनाउन सक्छ ?’

प्रकाशित: असार २०, २०७५