तपाईं कति आत्ममुग्ध ?

- विभु लुइटेल

नार्सिसिज्म अध्येता रोबर्ट रस्किन र केल्भिन हलले को मान्छे कति आत्मप्रचारक छ भनी पत्ता लगाउन सन् १९७९ मा एक अनुसन्धानमूलक संकेतसूचक ल्याए । ४० जोडी विकल्प भएको उक्त सर्वेक्षण सूचकबाट को कुन हदसम्म आत्मप्रशंसा गर्न रुचाउँछ भन्ने आकलन गर्न सकिन्छ । उक्त विकल्प निम्नानुसार छन् :

            –म विनम्र र प्रभावकारी छु/छैन ।

            –ममा हिम्मतको कमी छ/छैन ।

            –म प्रशंसा रुचाउँछु/रुचाउँदिनँ ।

            –ममा विजेता बन्न सक्ने सामथ्र्य छ/छैन ।

            –म जस्तोसुकै काम गर्न सक्छु/सक्दिनँ ।

            –ममा सामाजिक गुण छन्/छैनन् ।

            –म एक दिन सफल हुनेछु/हुनेछैन ।

            –म अरूभन्दा सक्षम छु/छैन ।

            –ममा नेतृत्व कौशल छ/छैन ।

            –म केही कुरा प्रमाणित गर्न सक्छु/सक्दिनँ ।

            –म अरू मानिसमाथि अधिकार जमाउँछु/जमाउँदिनँ ।

            –म अरूको आलोचना गर्छु/गर्दिनँ ।

            –म सम्मानयोग्य छु/छैन ।

            –म शारीरिक कौशल प्रदर्शन गर्छु/गर्दिनँ ।

            –म मानिसलाई सजिलै चिन्न सक्छु/सक्दिनँ ।

            –ममा निर्णय लिन सक्ने क्षमता छ/छैन ।

            –म आफूजस्तो छु, त्यसैमा खुसी छु/छैन ।

            –मलाई आफ्नो जिउडाल मन पर्छ/पर्दैन ।

            –म के गरिरहेको छु भन्ने हेक्का मलाई सधैँ हुन्छ/हुँदैन ।

            –म आत्मनिर्भर छु/छैन ।

            –म राम्रोसँग आफ्ना तर्क प्रस्तुत गर्न जान्दछु/जान्दिनँ ।

            –म अरूमाथि आशावादी हुन्छु/हुँदिनँ ।

            –म आफूसँग भएका कुराबाट सन्तुष्ट छु/छैन ।

            –प्रशंसाले मलाई लज्जित बनाउँछ/बनाउँदैन ।

            –मसँग सत्ताको इच्छा छ/छैन ।

            –म फेसनबारे सचेत छु/छैन ।

            –म ऐना हेरिरहन रुचाउँछु/रुचाउँदिनँ ।

            –म आकर्षणको केन्द्र हुन चाहन्छु/चाहदिनँ ।

            –म आफूले सोचेजस्तो जीवन बाँच्न सक्छु/सक्दिनँ ।

            –म केही न केही कुराका लागि आधिकारिक व्यक्ति हुँ/होइन ।

            –म नेता बन्न चाहन्छु/चाहदिनँ ।

            –म एकदम सफल मान्छे बन्नेछु/बन्ने छैन ।

            –मैले जे भने पनि मानिस विश्वास गर्छन्/गर्दैनन् ।

            –म सर्वगुण सम्पन्न छु/छैन ।

            –कुनै दिन कसैले मेरो जीवनी लेख्लान्/नलेख्लान् ।

            –मानिसले मेरो लवाइखवाइबारे चासो राखिदिँदा खुसी लाग्छ/लाग्दैन ।

            –म अरूबाट केही सिक्न सक्छु/सक्दिनँ ।

            –म नै मेरा लागि सबथोक हुँ/होइन ।

माथिका विकल्प प्रयोग गरी व्यक्ति स्वयंले आफ्नो मूल्यांकन गर्दा आफूबारे कति सकारात्मक वा नकारात्मक छ भनी पहिचान गर्न सकिन्छ । सामाजिक सञ्जालमा मुख्यत: १५ देखि २५ उमेर समूहका व्यक्तिको नार्सिसिस्टिक प्रवृत्ति देखिने अनुसन्धानले देखाएका छन् । त्यसैले सोही उमेर समूहका सय व्यक्तिमा एक संक्षिप्त सर्वेक्षण गरियो । केही अवयवले यस्ता सर्वेक्षणलाई प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने रहेछन् । जस्तै, कोही मानिसले घमन्डी देखिने डरले आफ्नो चरित्रविपरीतको विकल्प छान्न सक्ने सम्भावना पनि नकार्न सकिँदैन । त्यस्तो अवस्थामा नतिजा सोचे अनुरूप आउँदैन । तर, नार्सिसिज्म परीक्षणका लागि मानक मानिएको प्रविधि नै यही हो ।

४० पूर्णांकमा जति धेरै प्राप्तांक, त्यति नै धेरै नार्सिसिस्टिक । व्यक्ति आफैँले विकल्प नरोजेर निकटले उसलाई देखे–चिनेका आधारमा मूल्यांकन गरिदिने हो भने परिणाम अर्कै आउँछ ।

सबै अवस्थामा नार्सिसिज्मले समस्या नै उत्पन्न गर्छ भन्ने छैन । यसका पनि प्रकार छन् : स्वस्थकर र मनोविकारी । स्वस्थकर नार्सिसिज्म सामान्य हो । सबै मानिसमा यसका लक्षण देखिनुपर्ने मनोविश्लेषकहरू बताउँछन् । यसले आफू स्वयंलाई गरिने प्रेम देखाउँछ । आफ्ना वास्तविक उपलब्धिमा मात्र खुसी हुने र अरूसँग आफूलाई तुलना गरी निराश नहुने व्यक्ति यस कोटिमा पर्छन् । ४० सेट प्रश्नोत्तर समाधान गर्दा शून्यदेखि २० आए त्यसलाई स्वस्थकर मान्नुपर्छ ।

२१ भन्दा बढी प्राप्तांक आए मानिसमा नार्सिसिज्मले जरो गाडिसकेको बुझ्नुपर्छ । संसारका अधिकांश व्यक्ति यही वर्गमा पर्ने गरेका छन् । “आफ्नो मात्र भलो होस्, बाँकीको केही राम्रो नहोस् भन्ने मानिस मनोविकारी वा प्याथोलोजिकल नार्सिसिज्मबाट ग्रस्त भएको देखिँदै आएको छ,” प्राध्यापक रवि शाक्य भन्छन् । यस्ता व्यक्ति तारिफका केही शब्द सुन्न सामाजिक सञ्जालमा आफ्ना भए–नभएका उपलब्धि बढाइचढाई सार्वजनिक गर्छन् । बाँकीलाई तिनको कुरामा विश्वास गर्न करै लाग्छ । अनि, ती विश्वास गर्ने व्यक्ति आफ्नो जीवन निरर्थक रहेको, आफ्ना केही उल्लेखनीय उपलब्धि नरहेको ठानी आफूबारे राम्रा तर झुटा प्रशंसा गर्न थाल्छन् ।

यो क्रम बढ्दै जाँदा त्यसको प्रभाव अन्यमा पनि पर्न जान्छ । आफूले चाहे अनुरूप अरूको ध्यानाकर्षण गर्न नपाउँदा वा नसक्दा यस्ता व्यक्ति लागूपदार्थमा फस्नेदेखि लिएर प्रमुख अवसादको समेत सिकार हुने गरेको भेटिएको छ । साना–साना आलोचना पनि यिनलाई सह्य हुँदैन । यिनलाई केवल आफ्नो तारिफ सुन्ने लालसा हुन्छ ।

यी पनि पढ्नुहोस् :

आवरण कथा» (अ)सामाजिक सञ्जाल

आवरण कथा» अभिव्यक्ति स्वतन्त्रताको नाममा गाली–गलौज

आवरण कथा» 'भाइरल ब्वाई’अशोक दर्जीको व्यथा

टंक बुढाथोकी भन्छन्, ‘अशोक दर्जीलाई अरु कसैले यसरी हिट बनाउन सक्छ ?’

प्रकाशित: असार २०, २०७५