आवरण कथा» अभिव्यक्ति स्वतन्त्रताको नाममा गाली–गलौज

- जनक नेपाल

न्युरो सर्जन डा उपेन्द्र देवकोटाको अन्तिम इच्छा पूरा गर्न २६ जेठमा पत्नी मधु र छोरीहरू मेघा, बसुधा र मन्जरीले उनलाई जन्मघर गोरखा लगे । त्यहाँ उनीहरूले मुस्कुराएर एउटा सेल्फी खिचेका मात्र के थिए, सामाजिक सञ्जालमा गालीको वर्षा सुरु भइहाल्यो । उनीहरू सेतो पहिरनमा थिए, त्यसैले धेरैले डाक्टर र नर्स ठानेर सिंगो चिकित्सा क्षेत्रको हुर्मत लिइरहेका थिए । तथ्य बाहिर आउन्जेल धेरै अफवाह फैलिइसकेको थियो ।

सामाजिक सञ्जालमा यो पहिलो गालीकाण्ड होइन । अहिले टिभी प्रस्तोता रवि लामिछाने र प्रेस काउन्सिल नेपालको विवाद उत्कर्षमा छ । त्यो आलोचना र टीकाटिप्पणीमा मात्र सीमित रहेन, प्रशंसकका अश्लील गाली, धम्की र एकअर्काविरुद्ध घृणा फैलाउने तहसम्मै पुर्‍याए । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई फेसबुकमा जथाभावी लेख्ने ललितपुर बागडोलका विनोद गौतम, ५०, र नवलपरासी सुनवलका विष्णु ढकाल, ३६, लाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको छ । एक वर्षअघि सरकारले राष्ट्रपतिका लागि नयाँ गाडी खरिदको योजना ल्याउँदा उसैगरी सामाजिक सञ्जाल गालीले रंगिएका थिए । तीमध्ये तनहुँ, बन्दीपुरका विवेक बानियाँ र प्युठानका पत्रकार सोनुकुमार सुनार पक्राउ परेका थिए ।

जन्मसिद्ध स्वभाव भने होइन, गाली । व्यक्तिको हुर्काइ, खानपान, शिक्षादीक्षा, संगत आदिले उसको मनोविज्ञान विकास गर्छ । जसरी आलोचना गर्नु र अति नकारात्मक हुनु एउटै होइन, उसैगरी आलोचना र गाली पनि फरक हुन् । तर, नेपाली समाजमा यी सबै एकआपसमा घोलिएका छन् । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको उपयोग भन्दै नकारात्मकता ओकल्ने र गाली बर्साउने प्रवृत्ति घृणाकै तहमा पुगेको छ ।

कुण्ठालाई पोख्न नकारात्मक टिप्पणी र गालीमा उत्रिने बानी बढ्दै जाँदा मन आत्तिने, उदासी बढ्ने र डिप्रेसनमा गएर व्यक्तिले आत्महत्यासम्म गर्न सक्ने त्रिवि शिक्षण अस्पतालका मनोविज्ञ प्राध्यापक सरोजप्रसाद ओझा बताउँछन् । अरूलाई पीडा दिन, होच्याउन र नराम्रो भन्न पाए सन्तोष मान्ने मनोवृत्ति यसैभित्र पर्छ । असामाजिक व्यक्तित्व विकास हुँदै जान्छ । त्यसले परपीडक र आक्रामक मनोविज्ञान विकास गरिरहेको हुन्छ । मानिस स्वस्थ आलोचना गर्न छाड्छ । गल्ती महसुस भएपछि पनि नस्वीकार्ने, पश्चात्ताप नगर्ने, चाहिनेभन्दा धेरै ईख लिनु पनि अस्वाभाविक स्वभावभित्र पर्ने उल्लेख गर्दै डा ओझा भन्छन्, “यस्तो अस्वाभाविक स्वभाव पनि मानसिक समस्याभित्र पर्छ ।”

फेसबुकमा एउटै फेसनको तस्बिर नदोहोर्‍याउने चलन छ । कपडा फेर्दै तस्बिर खिच्न सबैको आर्थिक स्थितिले भ्याउँदैन । नजानिँदो ढंगले त्यो ठूलो प्रतिस्पर्धा बनिरहेको छ । त्यस्तोमा सक्नेले नयाँ–नयाँ फेसनमा तस्बिर पोस्ट गर्छन्, नसक्नेले नकारात्मक टिप्पणी गर्छन्, गाली गर्छन् । देख्दा सामान्य लाग्ने यस्ता कुराले अनावश्यक प्रतिस्पर्धाको आधार बनाउने र नकारात्मक भावना विकास गर्ने मनोविज्ञ सुशील कँडेल बताउँछन् ।

क्लिनिकल साइकोलोजिस्ट डा पशुपति महत बाँच्नका लागि संघर्ष गरिरहेको वर्ग वा व्यक्तिले सधैँ आफूलाई असुरक्षित देख्ने र हरेक कुरालाई नकारात्मक ढंगले हेर्ने बताउँछन् । “ऊ सबै कुरामा खतरा मात्र देख्छ । सानो नकारात्मक कुरा पनि ठूलो मान्छ, ठूलो सकारात्मक कुरा पनि देख्दैन,” उनी भन्छन्, “स्वस्थ मनोविज्ञान भएका व्यक्तिले गाली गर्दैनन्, आलोचना गर्छन् । बिगार्ने होइन, सिर्जनात्मक आलोचना गर्छन् । घटनालाई नकारात्मक कोणबाट मात्र नभई सकारात्मक कोणबाट पनि हेर्छ ।”

महतका अनुसार पश्चिमाहरूमा सय वर्षअघि कसैलाई विश्वास नगर्ने, शंका गरिहाल्ने स्वभाव थियो । किनभने, उनीहरू लामो युद्धबाट थाकेका थिए । अनि, भर्खरै उपनिवेशबाट मुक्त भएका थिए । त्यसैको ईखले शिक्षालाई उच्च महत्त्व दिए । आन्तरिकभन्दा बाह्य शक्तिसँग लडेकाले एकता र विकासको एउटै भावनाले काम गर्‍यो । 

नेपाल उपनिवेशमा नरहे पनि औपनिवेशिक त्रास र मनोविज्ञान छ । त्यो मनोविज्ञान बुझेरै नेताहरूले राष्ट्रियताको खतरा देखाएर मतदातालाई प्रभावित पार्छन् । एउटा सीमास्तम्भ  ढल्दा पनि देशै जालाजस्तो हौवा फैलिने गरेको छ । हामी सुरक्षित छैनौँ भन्ने भावनाले नेपालीलाई सधैँ नकारात्मक बनाइरहेको डा महत बताउँछन् । उनी भन्छन्, “राजनीतिक पार्टीले आफ्नो बिजनेस बनाए । बुद्धिजीवी वर्गले पनि त्यही त्रास देखायो । त्रसित मनोविज्ञानले तथ्यमा होइन, हल्लाको पछि कुद्ने प्रवृत्ति बढेको छ ।”

गाली संस्कृतिका केही कारण छन् । पहिलो, फुर्सदिलो युवा पंक्ति हो । बेरोजगारी, अर्धबेरोजगारी र फुर्सदिलो जीवनशैली त्यसको स्रोत बनेको छ । बेरोजगारहरू पहिले आफ्ना असन्तुष्टि टोल–छिमेक र जुवाका खालमा पोख्थे । अहिले सामाजिक सञ्जालको पहुँचका कारण तिनको प्रस्फुटन झनै सहज भएको छ । नयाँ पुस्तामा मदिरा, चुरोट र लागूऔषधको लत बढ्दो छ । त्यसले दिमागमा उत्तेजना उत्पन्न गरिदिन्छ । अनि, आफूमा भएको पीडा र असन्तुष्टिलाई गालीका रूपमा व्यक्त गर्ने गरेको मनोचिकित्सक बताउँछन् ।

दोस्रो, राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई लिन सकिन्छ । अहिले बलियो सरकार त बनेको छ । तर, प्रभावशाली भने छैन । त्यसैले प्रणालीभन्दा लहडको भरमा शासन चलिरहेको छ । दण्डहीनता व्याप्त छ । आमनागरिक सरकारप्रति विश्वस्त हुन सकिरहेका छैनन् । फलस्वरूप अविश्वास, शंका र निराशामा कुनै कमी आएको छैन । खासगरी तेस्रो मुलुकमा रोजगारीका लागि पुगेका नेपालीमा गालीमोह बढ्ता देखिएको छ । स्वदेशमा उचित काम र आत्मसम्मान नपाएर विदेशिएका उनीहरूले त्यहाँको भौतिक सम्पन्नतालाई आफ्नो देशको दरिद्रतासँग दाँज्छन्, अनि राजनीतिदेखि सेलिब्रिटी र पत्रकारसम्मलाई आ–आफ्ना बुझाइ अनुसार नकारात्मक टिप्पणी गर्छन् । अहिले नेपालबाट खाडी मुलुकसहित करिब ४० लाख वैदेशिक रोजगारीमा गएका छन् ।

अध्ययनका अनुसार बढी गाली गर्नेमा मध्यम वर्गका मानिस धेरै छन् । त्यसको कारण सुन्दा रोचक, तर स्वाभाविक छ : मजदुर वर्ग जो काम गरेर छाक जुटाउँछ, त्यसैमा खुसी हुन्छ । उसको ठूलो महत्त्वाकांक्षा र जीवनको लक्ष्य देखिँदैन । जे–जस्तो छ, त्यसैमा खुसी रहन्छ । मध्यम वर्ग काम बिग्रियो भने पनि आफ्ना कमजोरी खोज्दैन, कसले बिगार्‍यो भनेर खोज्छ ।

सांस्कृतिक पछौटेपन

मानवशास्त्री सुरेश ढकाल नकारात्मकता र गालीलाई विशुद्ध मनोवैज्ञानिक दृष्टिले मात्र हेर्न नहुने तर्क गर्छन् । आधुनिक प्रविधिमा नेपाली समाजको पहुँच बढे पनि त्यसको प्रयोगका लागि चाहिने खास चेतनास्तर भने विकास हुन नसक्दा समस्या देखिएको उनी ठान्छन् । “बहसहरू बदलिइरहन्छन् । सामाजिक सञ्जाल एउटा ठूलो र शक्तिशाली सार्वजनिक वृत्त भइसकेको छ,” ढकाल भन्छन्, “जे कुरालाई पनि नकारात्मक कोणबाट हेर्ने र गालीमा उत्रिइहाल्नु भनेको एक किसिमको सांस्कृतिक पछौटेपन हो ।” राजनीतिले विश्वास आर्जन गर्दै जाँदा नकारात्मकता क्रमश: घट्दै जाने समाजशास्त्रीहरू बताउँछन् ।

डा उपेन्द्र परिवारको सेल्फीकै प्रसंगमा टिप्पणी गर्नेहरूले आफ्नो असल मानवीय चरित्र देखाउन खोजेका हुन् । तर, तथ्य नबुझेरै प्रतिक्रिया दिँदा गलत भइदियो । त्यसको सट्टा तथ्यमा आधारित तर्क र आलोचना गरिएका भए ती रचनात्मक हुने थिए । अर्को, आमव्यक्ति आफ्नो अस्तित्व र अब्बलता प्रमाणित गर्न खोज्छ । आफ्नै गुण पर्याप्त नभएपछि ऊ अरूका दुर्गुण कोट्याएर आफू राम्रो देखिन खोज्छ । त्यसले पनि नकारात्मकताको पारो बढाइरहेको छ । मधेसी–पहाडी, जनजाति–गैरजनजाति, दलित–गैरदलित बहस स्वस्थ नहुँदा एकआपसमा घृणा फैलाउने तहमा पुग्यो । त्यसमा पनि गाली संस्कृतिकै भूमिका रहेको समाजशास्त्रीहरू बताउँछन् ।

सार्वजनिक ठाउँमा गाली–बेइज्जत गर्नेसम्मका परम्परा अहिले सामाजिक सञ्जालमा आइपुगेका छन् । त्यही चरित्रले नकारात्मकता र गालीलाई संस्थागत गरेको छ । गाली वा नकारात्मकता व्यक्तिमा मात्र होइन, सामाजिकीकरणमा गइरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले छरपस्ट पारिदिएको मात्र हो ।

अर्को कारण, सामाजिक नियन्त्रण खुकुलो हुनु हो । परम्परागत मूल्य–मान्यता, परिवार, विद्यालय, धर्मशास्त्र, कानुन र प्रहरीले समाजलाई नियन्त्रण गर्नुपर्ने हो । तर, ती निकाय विभिन्न कारणले असफल बनिदिँदा समाज अनियन्त्रिततर्फ उन्मुख भइरहेको मानवशास्त्री ढकाल बताउँछन् ।

नकारात्मकता बाल्यकालबाटै

केही साताअघि एक अभिभावक छोराको समस्या लिएर बालमनोविज्ञ मधुविलास खनालकहाँ आए । १७ वर्षीय छोराको अभिव्यक्तिले उनी चिन्तित थिए । ती किशोरले बुबासँग मोटरसाइकल किनिदिन भनेका रहेछन् । “किन चाहियो तँलाई मोटरसाइकल ? पर्‍या छैन अहिले किन्न,” अभिभावकले यत्ति मात्र के भनेका थिए, छोराले जवाफ फर्काएछन्, “एउटा बाइक पनि किन्न नसक्ने भए मलाई किन जन्माएको ?”

बालबालिकालाई नियन्त्रण गर्न गरिने नकारात्मक निर्देशन, तुलना र सिकाइले अहिलेको स्थिति आएको खनाल बताउँछन् । धेरैजसो अभिभावक एकै सासमा ‘नो’ भनिदिन्छन् ।

र, आक्रोशमा गाली–गलौजमा उत्रिने प्रवृत्ति पाइएको उल्लेख गर्दै उनी भन्छन्, “सबैभन्दा ठूलो हाम्रो शिक्षा पद्धतिले जीवनकला सिकाउँदैन । अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक भावना मात्र बढाइरहेको छ । त्यसको प्रभाव सर्वत्र देखिएको छ ।”

अव्यावहारिक र अपरिपक्व शिक्षा प्रणालीले प्रश्रय पाउँदासम्म युवा बेरोजगारी बढ्दै जाने र निराशा तथा कुण्ठा कायमै रहने मनोविज्ञ बताउँछन् । १६ वर्षमाथिका अधिकांश युवामा निराशा व्याप्त छ । राज्यप्रणाली उनीहरूप्रति उत्तरदायी देखिएन । यो निराशा जहाँ पनि पोखिन सक्छ । जस्तै: दुई जनाबीचको विवादमा तेस्रो व्यक्ति आवेशमा आएर गाली–गलौजमा उत्रिएको हुन्छ ।

बालबालिकाले पास हुन, राम्रो अंक ल्याउन र छिमेकीका छोराछोरीभन्दा राम्रो नतिजा ल्याउनुपर्ने दबाब सधैँ झेलिरहेका हुन्छन् । स्कुल जाने उमेरमै झेल्नुपर्ने यस्तो कडा दबाबले अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक भावनालाई मलजल गरिरहेको छ । एउटा अभिभावकले हुर्काएको, बुबादेखि टाढा वा असन्तुष्ट बालबालिकामा त्यो समस्या अझ धेरै देखिएको खनाल बताउँछन् ।

निराशा ‘डिप्रेसन’ को पहिलो चरण हो । डिप्रेसनका सबै बिरामीमा झोक्र्याएर बस्नेजस्ता उस्तै लक्षण हुँदैनन् । दोष अरूलाई लगाउने, गाली गर्ने र नकारात्मक भइरहनु पनि यसको लक्षण हुन सक्ने मनोचिकित्सक बताउँछन् । आमनिराशा, नकारात्मकता र गाली संस्कृतिलाई कम गर्न सकारात्मक अभियानलाई प्रोत्साहन गर्नुपर्ने मनोविज्ञको सुझाव छ । “केही त राम्रो भएको होला । ससाना राम्रा कामलाई पनि प्रसार गरौँ,” मनोचिकित्सक महत भन्छन्, “त्यसले पोजेटिभ भाइब्रेसन दिन्छ ।”

यी पनि पढ्नुहोस् :

आवरण कथा» (अ)सामाजिक सञ्जाल

तपाईं कति आत्ममुग्ध ?

आवरण कथा» 'भाइरल ब्वाई’अशोक दर्जीको व्यथा

टंक बुढाथोकी भन्छन्, ‘अशोक दर्जीलाई अरु कसैले यसरी हिट बनाउन सक्छ ?’

प्रकाशित: असार २०, २०७५