टंक बुढाथोकी भन्छन्, ‘अशोक दर्जीलाई अरु कसैले यसरी हिट बनाउन सक्छ ?’

- गोकर्ण गौतम

युट्युबमा अशोक दर्जीका भिडियोको बाढी आउनुको कारण के हो ?

अशोक चासोको केन्द्रमा छन् । सबैले पछ्याउँछन् । त्यसैले दर्शककै चाहना अनुसार भइरहेको छ । नत्र त उनको एउटा मात्र भिडियो ट्रेन्डिङमा जानुपर्ने । तर, सबै भिडियोले भ्युज पाएका छन् । यसमा नराम्रो के छ र !

जसरी भिडियो कन्टेन्ट आइरहेका छन्, त्यसले अशोकमा मानसिक बोझ थप्दैन ?

युट्युबमा टाइटल मात्र नकारात्मक आएको हो, कन्टेन्टमा समस्या छैन । ‘भ्युअर्स’ बढाउन त्यस्तो गरेको होला । अन्तर्वार्ता लिन आउँछन्, मैले सीधै ‘नाइँ’ भन्दा ‘टंक बुढाथोकी ठूलो भयो’ भन्लान्, अशोकको अझ नकारात्मक कुरा आउला भनेर सकेसम्म सहज व्यवस्थापन गरिरहेको छु ।

यस्तोओभर एक्स्पोजरले अशोकमा पटक्कै मनोवैज्ञानिक असर पर्दैन ?

उनी आफैँ सचेत छन् । फोटो खिच्दा पनि मलाई सोध्न थालेका छन् । पहिलेजस्तो जसका अगाडि पनि गीत गाउँदैनन् । सबै मैले सिकाइरहेको छु । उनले युट्युब पनि नहेर्ने भएकाले खासै असर गर्दैन ।

तपाईं अशोक कार्यक्रममा जाँदा कसरी पारिश्रमिक बाँडफाँट गर्नुहुन्छ ?

देश–विदेशका कार्यक्रममा लैजान उनका बुबासँग दमकको प्रशासन कार्यालयमा ‘कन्ट्रयाक्ट’ गरेको छु । मलेसियाबाट ३ लाख ६८ हजार र दुबईबाट करिब २ लाख ४० हजार आएको छ । म एक पैसा लिन्नँ । हामी उनको घर बनाउन लागिपरेका छौँ । घर बनेपछिचाहिँ अशोक र मेरो छुट्टाछुट्टै रेट हुन्छ ।

उनको घर निर्माण कहाँ पुगेको ?

२० लाख रुपियाँमा झापाको भालुखुडीमा फर्निचरसहितको घर बनाउन सकिन्छ भन्ने योजना थियो । त्यति रकम करिब संकलन भएको छ । अब घर निर्माणमा लाग्छौँ ।

–यो पनि पढ्नुहोस् : आवरण कथा» 'भाइरल ब्वाई’ अशोक दर्जीको व्यथा

अशोकलाई प्रयोग गरेर टंक बुढाथोकी हिट भइरहेको आरोप नि ?

अरु कसैले बच्चालाई यो ठाउँमा पुर्‍याउन सक्छ भने म आफ्नै छोरो दिन्छु । अशोकभन्दा अगाडि मेरो छोरा एआर बुढाथोकी युट्युबमा थियो । मलाई त्यस्तो भन्नेहरुलाई एआर नै दिन्छु । अशोक जति पर्दैन, यसको आधा हिट बनाइदिए पनि पुग्छ । कसले सक्छ ?

अब अशोकको पढाइ के हुन्छ ?

मोरङको बेथेल एजुकेसन एकाडेमीले १० कक्षासम्म नि:शुल्क पढाउने भएको छ । अहिले युकेजीमा पढ्दै छन् । अब होस्टलमै बस्छन् । समय मिलाएर कार्यक्रममा लान्छौँ । 

यी पनि पढ्नुहोस् :

आवरण कथा» (अ)सामाजिक सञ्जाल

तपाईं कति आत्ममुग्ध ?

आवरण कथा» अभिव्यक्ति स्वतन्त्रताको नाममा गाली–गलौज

प्रकाशित: असार २०, २०७५