विश्वकप २०१८ : इङल्याण्डविरुद्ध कोलम्बिया (म्याच प्रिभ्यु)

- पवन आचार्य

विश्वकपका पछिल्ला ३ संस्करणको नकआउट चरणमा जित निकाल्न असमर्थ इङल्याण्डका लागि प्रदर्शन सुधार्ने मौकाको रुपमा रुस विश्वकप छ । तर, अघिल्लो संस्करणको क्वार्टरफाइनल खेलेको दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई नकआउट चरणमा प्रतिद्वन्द्वी पाउनु इङल्याण्डका लागि अवसर कम चुनौती ज्यादा हुनेछ । समूहगत चरणको अन्तिम खेलमा बेल्जियमलाई नतिजा सुम्पिएर समूह उपविजेता बनेको इङलिस टोलीले अहिलेसम्म कडा प्रतिद्वन्द्वीको सामना गर्नुपरेको छैन । त्यसैले इङल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको रणनीतिको सच्चा परीक्षा आज हुनेमा कुनै शंका छैन । 

पानामा र बेल्जियमविरुद्ध मैदान ओर्लन असमर्थ डेली अलीले आज पुनरागमन जनाउँदै छन् । त्यस्तै बेल्जियमविरुद्ध विश्राम दिएका अधिकांश खेलाडीलाई आज मैदान ओराल्ने रणनीति साउथगेटको छ । त्यसमा टोलीका कप्तान ह्यारी केन पनि पर्छन् । उनले २ खेलमा ५ गोल गरिसकेका छन् । 

कोलम्बिया आफ्ना स्टार स्ट्राइकर हामेस रोड्रिग्वेजको चोटलाई लिएर पिरोलिएको छ । सेनेगलविरुद्धको खेलबीचमै छाडेका रोड्रिग्वेज आज मैदान ओर्लनेमा शंका छ । अघिल्लो संस्करणमा गोल्डन बुट जितेका रोड्रिग्वेजको अनुपस्थिति टिमका लागि घातक हुनसक्छ । त्यसैले विल्मार बारियोसलाई प्रशिक्षक होसे पेकरम्यानले टोलीमा बोलाउने सम्भावना बढेको छ । 

हेड टु हेड

–कोलम्बियासँग भएका यसअघिका ५ खेलमा इङल्याण्ड अविजित छ । पछिल्लोपटक यी दुई टोली सन् २००५ मा न्यू जर्सीमा भिडेका थिए । माइकल ओवेनको ह्याट्रिकको मद्दतमा इङल्याण्ड त्यतिबेला कोलम्बियामाथि ३–२ ले हावी भएको थियो । 

–विश्वकपमा चाहिं इङल्याण्डले मात्रै एकपटक कोलम्बियालाई हराएको छ । सन् १९९८ मा समूहगत चरणमा भएको स्पर्धामा इङल्याण्ड २–० ले विजयी भएको थियो । सो खेलमा ड्यारेन एण्डरटन र डेविड बेक्ह्यामले गोल गरेका थिए । 

कोलम्बिया

–कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको यो तेस्रो अवसर हो । कोलम्बियाले मात्रै एकपटक नकआउट चरणभन्दा माथि आफूलाई लगेको छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ऊ क्वार्टरफाइनलसम्म पुगेको थियो । 

–यूरोपेली टोलीविरुद्ध कोलिम्बया ८ खेलमा अपराजित छ । सन् २०१२ मा प्रशिक्षक होसे पेकेरम्यानले नेतृत्व लिएयता कोलम्बियाले यूरोपेली टोलीसँगको स्पर्धामा ६ जित र २ बराबरीको नतिजा निकालेको छ । 

–लस क्याफेटेरोस् उपनाम पाएको कोलम्बियाले विश्वकपका पछिल्ला ८ खेलमा गोल गरेको छ । कोलम्बियालाई स्कोर गर्नबाट रोक्ने एकमात्र टिम इङल्याण्ड हो र प्रतियोगिता सन् १९९८ को विश्वकप । 

–विश्वकपका कोलम्बियाले खेलेको २१ म्याचमध्ये कुनैपनि खेल गोलरहित छैनन् । अमेरिकाले ३३ र अष्ट्रियाले २९ खेल गोलरहित खेलेका छन् ।

–कोलम्बियाले रुस विश्वकपमा गरेको ५ गोलमध्ये तीनान हुँवा क्विन्तेरो प्रत्यक्ष सहभागी छन् । उनले पहिलो खेलमा गोल गरेका थिए भने अन्य २ खेलमा गोल एसिस्ट गरे । 

इङल्याण्ड

–विश्वकपका पछिल्ला ८ संस्करणमध्ये इङल्याण्डले मात्रै २ वटा नकआउट चरणको खेल आफ्नो पक्षमा पारेको आँकडा छ । त्यसैले धेरै हौसिने पक्षमा थ्री लायन्स छैन । 

–दक्षिण अमेरिकी प्रतिद्वन्द्वी विरुद्ध विश्वकपको नकआउट चरणमा इङल्याण्डले पछिल्लोपटक सन् २००६ मा जित निकालेको थियो । त्यतिबेला इङल्याण्डले इक्वेडरलाई १–० ले हराएको थियो । 

–विश्वकपका १८ वटा नकआउट चरण खेलिसकेको इङल्याण्डले मात्रै एकपटक गोल गर्न असमर्थ भएको थियो । सन् २००६ मा पोर्चुगलविरुद्धको खेल गोलरहित बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । र, नतिजा पोर्चुगलको पक्षमा गयो । 

–इङलिस क्याप्टेन ह्यारी केनले विश्वकपकमा मात्रै १ सय ५३ मिनेट खेलेका छन् । जबकी उनको गोल संख्या ५ छ । इङल्याण्डबाट सर्वाधिक गोल गर्ने खेलाडी ग्यारी लिनेकर हुन् । उनको गोल संख्या १० छ । यदि आज केनले गोल गरे उनी लगातार ६ खेलमा स्कोर गर्ने पहिलो इङलिस खेलाडी बन्नेछन् । यो सफलता सन् १९३९ मा टमी लटनले हात पारेका थिए । 

–दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध विश्वकपमा इङल्याण्डले खेल्न लागेको यो १८ औं खेल हो । पछिल्ला १७ खेलमा इङल्याण्डले ८ मा जित हात पार्दा ६ वटा खेल गुमाएको छ । ३ खेल बराबरीमा सकिए । 

खेल पण्डितहरुले विश्वकप शुरु हुनुअघि कोलम्बियाले जित्ने सम्भावना ५ प्रतिशत देखेका थिए । जापानसँग पराजित भएपछि यो प्रतिशत झरेर २ मा पुगेको थियो । नकआउट चरणमा स्थान पक्का गरेपछि भने पण्डितहरुले सो सम्भावनालाई ५ प्रतिशतमा पुर्‍याएका छन् । 

एकपटकको विश्वकप विजेता इङल्याण्डको हकमा भने फुटबल पण्डितहरुको प्रक्षेपण ७ प्रतिशत छ । 

कोलम्बिया र इङल्याण्डबीचको खेल मस्कोको स्पात्राक स्टेडियममा मध्यराति पौने १२ बजे शुरु हुनेछ । 

 

प्रकाशित: असार १९, २०७५

ट्याग: विश्वकप