विश्वकप २०१८ : स्वीट्जरल्याण्डविरुद्ध स्वीडेन (म्याच प्रिभ्यु)

- पवन आचार्य

रुस विश्वकपको प्रि–क्वार्टरफाइनल खेल्दै गरेको स्वीस टोलीलाई स्वर्णिम पुस्ताको रुपमा हेर्ने गरिएको छ । टिम गेम खेल्ने र जुनसुकै पोजिसनमा पनि एकअर्कालाई सघाउने शैलीका कारण स्वीस टोलीले सफलताको शिखर चढ्ने अपेक्षा गरिएको छ । तर, मंगलबार स्वीडेनको सामना गर्दा स्वीस टोली आफ्ना नियमित कप्तान स्टेफन लेस्टाइनर र फाबियन स्चरको अनुपस्थितिले पिरोलिएको छ । उनीहरुको अनुपस्थितिको फाइदा विपक्षी टिमले मज्जैले उठाउने स्वीस टिमलाई राम्रारी थाहा छ । 

तर जेद्रान साकिरी, ग्रान्ट जाका, रिकार्डो रोड्रिग्वेजजस्ता लयमा भएका खेलाडीको मद्दतमा स्वीस टोली कुनै पनि बेला विपक्षीमाथि हावी हुनसक्छ । १९५४ यता विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सौभाग्य प्राप्त गर्न लालायित स्वीट्जरल्याण्ड मौका गुमाउने पक्षमा छैन । 

त्यसो त, स्वीडेन पनि मिडफिल्डर सेबास्टियन लार्सनको अनुपस्थितिलाई भुलाउने पक्षमा छ । उनको स्थानमा ओस्कार हेलिमार्क वा गुस्ताभ सेभेन्सनले लिने पक्क छ । क्याप्टेन आन्द्रेस ग्रान्कभिष्ट आजै पिता बन्दैछन् । तर, जुनसुकै परिस्थितिमा पनि मैदान ओर्लने उनले स्पष्ट पारिसकेका छन् । 

१९९४ विश्वकपको सेमिफाइनलमा पुगेको स्वीडेनलाई इतिहास दोहर्‍याउने अवसर छ । यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेबारे प्रशिक्षक जेन एण्डरसन पूर्णत: जानकार छन् । स्वीडेनको सबैभन्दा बलियो पक्ष भनेकै रक्षापंक्ति हो । त्यसैको भरमा विश्वकपको अघिल्लो चरण प्रवेश गर्ने सपना टिमले बुनेको छ । 

स्वीडेनले २४ वर्षअघि विश्वकपको नकआउट चरणमा जित आत्मसात गरेको थियो । तर, स्वीट्जरल्याण्डले भने १९५४ यता नकआउट चरणमा गोल समेत गर्न सकेको छैन । यद्यपि फिफा वरियताको छैटौं स्थानमा रहेको स्वीस टोली उलटफेर गर्न सक्षम छ । 

हेड टु हेड

–फुटबलको कुनै पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीबीच हुन लागेको पहिलो भिडन्त हो । 

–यी दुईबीच स्वीडेनको माल्मोमा सन् २००२ मा मैत्रीपूर्ण खेल भएको थियो । सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

–स्वीट्जरल्याण्डले स्वीडेनलाई पछिल्लोपटक यूरोपेली च्इाम्पियनसिपको छनोटमा हराउँदा प्रशिक्षक रोय हड्सन थिए । घरेलु मैदानमा सन् १९९४ मा भएको खेलमा स्वीट्जरल्याण्ड ४–२ ले विजयी भएको थियो । 

–त्यसयता स्वीस टोलीसँग भएका अन्य ३ भिडन्तमा स्वीडेन अपराजित रहँदै आएको छ । स्वीडेनले १ खेल जित्दा २ खेल बराबरीमा सकिएका थिए ।

स्वीडेन

–स्वीडेन आज विश्वकपमा ५० औं खेल खेल्दैछ । यो आँकडा छुने स्वीडेन ११ औं राष्ट्र हो । विश्वकपमा सर्वाधिक पटक सहभागिता जनाउने तर अहिलेसम्म उपाधि नजित्ने टोलीमा मेक्सिको पर्छ । स्वीडेनले विश्वकपमा १८ खेलमा जित १३ हार र १८ बराबरी गरेको छ । 

–पेनाल्टी शुटआउटबाट भएको निर्णयबाहेक स्वीडेनले विश्वकपमा आफ्नो भूमिमा बाहेक अन्यत्र लगातार २ खेल जित्न सकेको छैन । सने १९५८ मा भने स्वीडेनले आयोजक राष्ट्रका रुपमा फाइनल पुग्दा यो सफलता २ पटक चाखेको थियो । 

–१९५४ को उपविजेता स्वीडेनले अन्तिम १६ वा दोस्रो चरण पारेको गरेको भनेकै १९९४ मा हो । सो प्रतियोगितामा स्वीडेन तेस्रो भएको थियो । 

–पछिल्ला ४ विश्वकपमा स्वीडेन नकआउट चरणमा स्थान पक्का गर्न सफल छ । १९९४, २००२, २००६ र २०१८ मा स्वीडेनले यो सफलता प्राप्त गरेको हो । 

स्वीट्जरल्याण्ड

–सन् १९५४ को विश्वकप क्वार्टरफाइनलमा अष्ट्रियाविरुद्ध ५–७ को हार बेहोरेयता स्वीट्जरल्याण्डले महाकुम्भको नकआउट चरणमा अहिल्ेसम्म गोलको खाता खोलेको छैन । त्यतिबेला स्वीट्जरल्याण्डले विश्वकप आयोजना गरेको थियो । 

–विश्वकपको नकआउट चरणमा गोल गर्ने पछिल्ला स्वीस खेलाडी जोसेफ हुगी हुन् । १९५४ मा उनले टिमका लागि ह्याट्रिक गरेपनि हारबाट भने जोगाउन सकेनन् । 

–स्वीट्जरल्याण्डले यसअघि १९९४, २००६ र २०१४ मा आफूलाई अन्तिम १६ सम्म पुर्‍याएको थियो । ९४ मा स्पेनसँग पराजित भएको स्वीस टोली २००६ मा युक्रेन र २०१४ मा अर्जेन्टिनासँग स्तब्ध भएको थियो । ती सबै खेलमा स्वीस टोली गोल गर्न असमर्थ रह्यो । 

–१९५४ यता फुटबलको महत्वपूर्ण प्रतियोगिताको नकआउट चरणमा स्वीट्जरल्याण्डले गोल गरेको भनेकै युरो २०१६ मा हो । त्यतिबेला जद्रान साकिरीले पोल्याण्डविरुद्ध गोल गरेका थिए । 

–प्रशिक्षक भ्लादिमिर पेत्कोभिचको टोलीले खेलेका पछिल्ला २५ मध्ये १७ खेलमा जित हात पारेको छ । ७ खेल बराबरीमा सकिंदा मात्र १ खेल उसले विपक्षीलाई सुम्पिएको छ । सन् २०१७ मा विश्वकपको छनोटमा पोर्चुगलसँग २–० ले पराजित भएयता स्वीस टोलीको मनोबल उच्च छ । 

यी दुईबीचको खेल क्रिस्तोभस्की रंगशलामा राति पौने ८ बजे शुरु हुनेछ ।  

प्रकाशित: असार १९, २०७५

ट्याग: विश्वकप